• Saturday, May 31, 2025

मौलिक खाना विश्वमाझ प्रवर्द्धन गर्न आवश्यक : राष्ट्रपति

काठमाडौं, माघ २ गते । राष्ट्रपति रामचन्द्र पौडेलले जनसङ्ख्याको ठुलो हिस्सा निर्भर रहेको कृषि क्षेत्रमा उत्पादन भएका अन्नबाली तथा अर्ग्यानिक खाद्य वस्तुहरू सिधै तारे होटलहरूमा आपूर्ति गरेर ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन आग्रह गर्नुभएको छ ।

होटल सङ्घ नेपालले आफ्नो स्थापना दिवसको अवसरमा मनाउन सुरु गरेको ‘प्रथम सत्कार दिवस २०२४’ मङ्गलबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको मौलिक रैथाने खाना र संस्कृतिलाई समेत विश्वमाझ प्रवर्द्धन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले ग्राहकहरूको रुचि र चाहनाअनुसारको खाद्यान्न होटेल व्यवसायीहरू आफैँले कृषि फर्म स्थापना गरेर उत्पादन गर्न सकिने अथवा किसान स्वयंलाई पर्यटक र ग्राहकहरूको रुचिअनुसारको खाद्यान्न उत्पादन गर्न प्रेरित गर्दै व्यवसायीले किसानसँग सम्झौता गरेर “ फार्म टु प्लेट” को अवधारणा अघि बढाउन सुझाव दिनुभयो ।

राष्ट्रपति पौडेलले नेपालको होटेल क्षेत्रले ‘अतिथि देवो भव:’ को मूल मर्मलाई जीवन्त राखी विश्वसामु राष्ट्रिय गरिमालाई अभिवृद्धि गर्न सफल हुनु खुसीको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सेवा, सत्कार र आतिथ्य मुलुकको पहिचानको महत्त्वपूर्ण पाटो रहेको हुँदा यस क्षेत्रमार्फत राष्ट्रिय समृद्धि हासिल गर्न सम्भव हुने भएकाले होटेल व्यवसायीहरूको यसमा विशेष ध्यान जाने मैले अपेक्षा गरेको छु ।’’

उहाँले पर्यटन तथा होटलको विस्तारसँगै नेपालका नयाँ गन्तव्यहरूको विकास र समृद्धि भएको बताउनुहुँदै मुलुकको पर्यटनलाई सफल तुल्याउन पूर्वाधारका कामहरू भइरहेको र अगाडि बढिरहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवर्द्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारमा रूपमा स्थापित गर्नुपर्दछ । यस वर्ष १० लाखभन्दा बढी पर्यटक भित्रिसकेको सन्दर्भमा आगामी दिन अझ उत्साहजनक हुनेछ भन्ने मलाई आशा छ ।’’

राष्ट्रपति पौडेलले नवनिर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा आई मुलुकमा बढीभन्दा बढी विदेशी पर्यटकहरू भित्र्याउन सके समृद्धि छिट्टै हासिल गर्न कठिनाइ नहुने भन्दै पर्यटन क्षेत्रबाट हुने आय पछिल्लो समय आशातीत ढङ्गले बढिरहेको सन्दर्भमा पर्यटकीय गन्तव्यहरूमा खानेपानी, शौचालय, सरसफाइ, ढल व्यवस्थापन, साइकललेन, निःशुल्क इन्टरनेत लगायतका आधारभूत सुविधा उपलब्ध गराउँदा यसको प्रभाव थप बढ्ने उल्लेख गर्नुभयो ।

पर्यटन उद्योगको आधारस्तम्भको रूपमा रहेको होटल क्षेत्रलाई अन्य मुलुक सरह प्राथमिकता प्राप्त उद्योगको सेवा सुविधा प्रदान गरी निजी क्षेत्र र सरकारी क्षेत्रबिच समन्वय गरेर अगाडि बढ्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter