• Friday, June 13, 2025

विश्वभर बुद्धको सन्देश फैलाउन ‘लरेट एन्ड लिडर्स’ शिखर सम्मेलन

लुम्बिनी, फागुन १९ गते । शान्तिका अग्रदूत भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा यही फागुन २८ र २९ गते आयोजना हुने ‘लरेट एन्ड लिडर्स’ शिखर सम्मेलनका माध्यमबाट विश्वभर लुम्बिनी र शान्तिको सन्देश प्रवाह गर्न मद्दत पुग्ने विश्वास लुम्बिनी सरकारले गरेको छ ।

लुम्बिनी प्रदेश सरकारले लुम्बिनीमा आयोजना गर्ने उक्त सम्मेलनबाट विश्वभर भगवान् गौतमबुद्धको करुणा, अहिंसा र शान्तिको सन्देश प्रभाव गर्न मद्दत पुग्ने आज यहाँ पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए । उनले शिखर सम्मेलनका माध्यमबाट लुम्बिनीको ‘ब्रान्डिङ’ गर्न मद्दत पुग्ने बताए । “सम्मेलनमा अहिलेसम्म विश्वका विभिन्न देशका नोवेल शान्ति र अन्य विधामा पुरस्कार प्राप्त गर्न सफल विश्वविख्यात व्यक्तित्वहरु सहभागी हुनुहुनेछ”, उनले भने ।

सम्मेलनमा विभिन्न देशका नौ जना नोबेल शान्ति पुरस्कार विजेता लुम्बिनी आउने निश्चित भइसकेको उनले जानकारी दिए । सम्मेलनमा नोबेल शान्ति पुरस्कार विजेता टिमोर–लेस्टेका राष्ट्रपति जोसे रामोस होर्टा (१७९६), जोडी विलयम्स (१९९७), सन् २०११ का संयुक्त विजेता लेह्म बोवी र टुवाको कर्मयान सहभागी हुनेछन् ।

यसैगरी सन् २०१५ का नोबेल शान्ति पुरस्कार विजेता ट्युनिसियाको नेसनल डायलग क्वार्टेटका संस्थापकमध्येका अब्देससतार वेन मौसा र विदेद बुसामाबुईसँगै चिकित्सा विज्ञानमा नोबेल विजेता रिचर्ड रोबर्टस (१९९३), रसायन शास्त्रका नोबेल विजेता एरी वार्सनल (२०१३) पनि लुम्बिनी आउने पक्का भएको मुख्यमन्त्रीले जानकारी दिए ।

शिखर सम्मेलनमा अर्थशास्त्री जेफ्री स्याक्स, जोर्डनका राजकुमार अली विन अल हुसेन, स्कट होम इन्टरनेसनल पिस रिसर्च इन्स्च्यिुटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पनामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङ्गो पनि सहभागी हुनेछन् ।

सम्मेलनमा विभिन्न देशका २०० भन्दाबढी विकास साझेदारका साथै विभिन्न क्षेत्रका तीन सय जना विज्ञ सहभागी हुनेछन् । सम्मेलनका विशिष्ट सहभागीलाई पाल्पा, स्वगद्वारी र बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण गराइने योजना छ । मुख्यमन्त्री चौधरीले सम्मेलनका लागि रु छ करोड ५० लाख बजेट छुट्याइए सरकारको नीति कार्यक्रम र बजेटमै समावेश गरी प्रदेशसभाबाट पास भएर सरकारले कार्यान्वयनमा ल्याएको बताए ।

सम्मेलनबाट बालबालिकामाथि हुने हिंसा, बालश्रम, बालविवाह र बालबालिका बेचविखनलाई नियन्त्रण एवं न्यूनीकरण गर्दै लुम्बिनीमा लगानी प्रवद्र्धनको वातावरण बनाउने अपेक्षा गरिएको पनि उनले बताए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter