• Saturday, May 24, 2025

युएसएआइडीद्वारा करिब ११ अर्ब सहायताको घोषणा

काठमाडौं, फागुन २० गते । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले नेपालमा गुणस्तरीय शिक्षामा पहुँच बढाउन करिब ११ अर्ब रुपैयाँसम्मको सहायता घोषणा गरेको छ ।

युएसएआइडीले विशेषतः सीमान्तकृत युवा तथा प्रारम्भिक कक्षाका विद्यार्थीप्रति केन्द्रित हुने गरी गुणस्तरीय शिक्षामा नेपालका बालबालिकाको पहुँच विस्तार गर्न पाँच वर्षको अवधिमा करिब ११ अर्ब रुपैयाँसम्मको सहायता प्रदान गर्ने उद्घोष गरेको हो ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै युएसएआइडीको एसिया ब्युरो हेर्ने वरिष्ठ उपसहायक प्रमुख जेना सलाहीले उक्त सहायता रकम कोषको उपलब्धतामाथि निर्भर रहने बताउनुभयो ।

यस सहायता विस्तारले नेपालका विकास लक्ष्यहरूप्रति नेपाल र अमेरिकाको साझा समर्पणलाई पुनः पुष्टि गर्दै दुई देशबिच विद्यमान साझेदारीलाई थप बलियो बनाएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “ नेपालको विकास यात्रामा युएसएआइडी ७० वर्षभन्दा लामो समयदेखि अडिग साझेदारको रूपमा रहेको छ । यी नयाँ सहायता विस्तारले नेपालका बालबालिकाका लागि ढोकाहरू खोल्न जारी राख्नेछन् र होनहार युवालाई आफ्नो सम्पूर्ण क्षमता साकार पार्न तथा आफ्ना समुदाय र देशको विकासमा सार्थक रूपमा योगदान पुर्‍याउन मद्दत गर्नेछन् ।”

युएसएआइडी प्रारम्भिक कक्षा सिकाइ

कक्षा १ देखि ३ सम्मका बालबालिकाको सिकाइ प्रतिफलमा सुधार ल्याउन युएसएआइडीले आगामी पाँच वर्ष नेपालका सात वटै प्रदेशका स्थानीय सरकारसँग सहकार्य गर्नेछ । विविध पृष्ठभूमि र क्षमताका विद्यार्थीसँग काम गर्न शिक्षकशिक्षिका अझ सुसज्जित होऊन भन्ने हेतु शिक्षक तालिमलाई परिमार्जन गर्न युएसएआइडीले स्थानीय सरकारहरूसँग सहकार्य गर्नेछ । त्यसका साथै युएसएआइडीले सीमान्तकृत समुदायमा रहेका न्यून उपलब्धिमूलक विद्यालयमा पाठ्यपुस्तक, शौचालय, पुस्तक कुना र कक्षाकोठा सुधारलगायतका विविध आवश्यकतामा सहयोग पुर्‍याउने प्रत्यक्ष अनुदान पनि उपलब्ध गराउने जनाएको छ ।

युएसएआइडी शिक्षा क्षेत्रीय प्रत्यक्ष वित्तपोषण

युएसएआइडीले सबै प्रदेशमा कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई सहयोग गर्ने सङ्घीय, प्रादेशिक तथा पालिका सरकारहरूको क्षमतालाई बलियो बनाउने ।, नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई योजना तर्जुमा र बजेट निर्माणका साथै पहुँच अभिवृद्धि, समता तथा समावेशीकरणको प्रवर्द्धन र शिक्षा प्रणालीको उत्थानशीलता सुदृढ गर्नेसँग सम्बन्धित क्रियाकलापको कार्यान्वयनमा पनि युएसएआइडीले सहयोग गर्ने उल्लेख गरेको छ ।

युएसएआइडी समतामूलक तथा समावेशी शिक्षा

शिक्षा अपूरै छोड्ने सर्वाधिक जोखिममा रहेका युवामा ध्यान केन्द्रित गर्दै युएसएआइडीले विद्यालयबाहिर रहेका बालबालिकालाई कक्षाकोठामा फिर्ता ल्याउने, विद्यालय बिचमै छाड्नेको सङ्ख्या घटाउने र सबै विद्यार्थीका लागि गुणस्तरीय सिकाइ अनुभवको प्रत्याभूति गर्ने जनाएको छ । यस पञ्चवर्षीय कार्यक्रमको कार्यान्वयन प्लान इन्टर्नेसनल र सोसम्बद्ध समूहले गर्नेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter