• Saturday, June 14, 2025

गुराँसे वनको मनमोहक दृश्यसँग रमाउँदै तीर्थयात्री

चन्द्र पन्दाक / ताप्लेजुङ, वैशाख ५ गते । यतिबेला ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा ढकमक्क फुलेको गुराँसको मनमोहक दृश्यमा तीर्थयात्री रमाउने गरेका छन् । अहिले पाथीभरा दर्शन गर्ने मुख्य सिजन (मौसम) रहेको र यही मौसममा ढकमक्क फुलेको गुराँसको मनमोहक दृश्यमा तीर्थयात्री रमाउँदै आएका हुन् ।

तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरा क्षेत्रमा विभिन्न प्रजातिका गुराँस फुलेर वन ढकमक्क भएको छ । गुराँस फुल्ने अहिलेको समय र पाथीभरा दर्शन गर्ने एक मुख्य मौसम भएकाले तीर्थयात्रीको बाक्लो उपस्थिति रहँदै आएको छ । हिजोआज दैनिक हजारौँ भक्तजन पाथीभरा दर्शन गर्न आइरहेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार तराई क्षेत्र, पहाडी र हिमाली क्षेत्र रहेको नेपालका विभिन्न जिल्लाबाट भक्तजनहरू पाथीभराको दर्शन गर्न आइरहेका छन् । यस्तै, नेपाल बाहिर भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल, आसामलगायतबाट उल्लेख्य रूपमा भक्तजन पाथीभराको दर्शन गर्न आउने गरेका कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो ।

यही समय गुराँस फुल्ने मौसम भएकाले देशभित्र र बाहिरबाट आएका भक्तजनले नजिकबाट गुराँसको मनमोहक दृश्यमा रमाउन र नियाल्न पाएका उहाँको भनाइ छ । पाथीभराको दर्शनसँगै पदमार्गका दायाँबायाँ ढकमक्क फुलेको गुराँसले तीर्थयात्रीलाई स्वर्गीय आनन्द दिलाइरहेको छ । शब्द र तस्बिरमा मात्र गुराँसबारे जानकारी लिन पाएकोमा पाथीभरा क्षेत्रमा एकैठाउँ धेरै प्रजातिका गुराँसका फूल नजिकबाट नियाल्न र अवलोकन गर्न पाउँदा आनन्द मिलेको तीर्थयात्रीले बताएका छन् ।

पवित्र तीर्थस्थल पाथीभराको दर्शन गर्न र ढकमक्क फुलेको गुराँसको मनमोहक दृश्यमा रमाउन पाउँदा धेरै खुसी र आनन्द मिलेको पाथीभराको दर्शनमा आउनुभएका दाङ जिल्ला निवासी ७५ वर्षीय दयाराम लामिछानेले बताउनुभयो । धेरै टाढादेखि आफ्नी ६९ वर्षीया श्रीमतीसहित पहिलो पटक पाथीभराको दर्शन गर्न आउनुभएका लामिछानेले पाथीभरा माताको दर्शन साथै यहाँको मनमोहक दृश्यले मनै भुलाइ दिएको बताउनुभयो ।

उहाँ जस्तै धेरै तीर्थयात्रीले पाथीभरा दर्शनमा जाने र दर्शन तथा पूजापाठ सिद्ध्याएर फर्कने क्रममा ढकमक्क फुलेको गुराँसे वनमा तस्बिर र भिडियो खिचाउन तछाड–मछाड नै हुने गरेको देखिएको थियो । चैत अन्तिम सातादेखि पाथीभरा क्षेत्रको वनमा फुल्न थालेको गुराँसको फूल वैशाख अन्त्यसम्म रहने स्थानीयले बताएका छन् ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार मङ्गलबार एकैदिन सात हजार ९७३ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । बुधबार राम नवमीको दिन भने दुई हजार ८६४ जना भक्तजनले पाथीभराको दर्शन गरेका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी कमलकुमार लुङ्गीलेले जानकारी दिनुभयो । पाथीभराको दर्शन गर्न साताको मङ्गलबार र शनिबार अन्य दिनभन्दा बढी भक्तजन जाने गरेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter