• Sunday, June 08, 2025

अनुसन्धान र नवप्रवर्तनका लागि एक अर्बको कोष स्थापना गर्ने शिक्षामन्त्रीको उद्घोष

काठमाडौं, असोज १ गते । विज्ञान र प्रविधिको अनुसन्धान र नवप्रवर्तनका लागि एक अर्बको विशेष कोष स्थापना गर्ने शिक्षा मन्त्री भट्टराईको उद्घोष गर्नुभएको छ । शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले १२ औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा यस्तो उद्घोष गर्नुभएको हो ।

उहाँ भन्नुहुन्छ, “विज्ञान तथा प्रविधिको अनुसन्धान तथा नवप्रवर्तनका लागि विशेष कोषको स्थापना गरी सञ्चालन गर्न देशको बजेटको २ प्रतिशत रकम छुट्याउने नीति रहेको छ । वार्षिक पुँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान र विकासका लागि छुट्याएर एक अर्बको अनुसन्धान र विकास कोष स्थापना गर्ने योजना रहेको छ ।”

कार्यक्रममा बोल्नुहुँदै मन्त्री भट्टराईले वर्तमान युग विज्ञान प्रविधिको युग भएकाले समस्त वैज्ञानिकले आधुनिक प्रविधि र रैथाने प्रविधिलाई एकसाथ प्रवर्द्धन गरी राष्ट्रिय उत्पादन बढाउनु तथा विद्यार्थीलगायत सबैमा डिजिटल साक्षरता विकास गर्नु आवश्यक भएको जिकिर गर्नुभयो ।

उहाँले अनुसन्धानलाई उत्पादनसँग जोडी विज्ञान प्रविधिको माध्यमबाट दिगो पूर्वाधारको विकास गरेर विज्ञान प्रविधि तथा नवप्रवर्तनलाई समुदाय र समाजको अङ्ग बनाउन सके विज्ञान दिवस मनाउनुको सार्थकता पुष्टि हुने उल्लेख गर्नुभयो ।

अब विश्वविद्यालय एवम् निजी तथा सरकारी अनुसन्धान संस्थामा भएका अनुसन्धानका उपलब्धिलाई व्यवसायीकरणका लागि सहजता प्रदान गर्न तथा उद्योग र पूर्वाधार क्षेत्रमा रहेका समस्याको समाधानका विषयमा अनुसन्धान गर्न एकेडेमिया–निजी क्षेत्रको इन्टरफेसको रूपमा कार्य गर्न अनुरोध गर्नुभयो ।

साथै मन्त्री भट्टराईले उदीयमान प्रविधिका रूपमा विकास भइरहेको प्रविधिको उपयोग गरी देशको सेवा प्रवाह, उत्पादन र उत्पादकत्वमा गुणात्मक वृद्धि गर्ने दिशामा केन्द्रित रहनुपर्नेमा जोड दिनुभयो ।

समारोहमा विज्ञान प्रविधिका क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएकाहरूलाई पुरस्कृत गरिएको थियो । यस वर्षको विज्ञान दिवसको नारा “विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि” रहेको छ।

विज्ञान तथा प्रविधिको महत्त्वलाई आत्मसात् गर्दै यस क्षेत्रमा भएका अध्ययन, अनुसन्धान र खोजमूलक विषयको प्रचार प्रसार गरी समुदायलाई सुसूचित गराउन र वैज्ञानिक तथा नव प्रतिभालाई प्रोत्साहन गर्न नेपाल सरकारले वि।सं। २०६९ सालदेखि राष्ट्रिय विज्ञान दिवस मनाउँदै आएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter