• Saturday, June 14, 2025

मुस्ताङको दुई गाविसबाट स्याउ पूर्णरुपमा लोप

apple farmमुस्ताङ, ५ मङ्सिर । स्याउको राजधानी भनेर चिनिने मुस्ताङको दुई गाविसबाट स्याउको बोट पूर्णरुपमा लोप भएका छन् ।

जलवायु परिर्वतनको असरस्वरुप तल्लो क्षेत्रको लेते र कुञ्जो गाविसमा करिब छ वर्षदेखि स्याउ उत्पादन हुन नसकेको हो । यसलाई विज्ञहरुले जलवायु परिर्वतनको टड्कारो असर आधार भनेका छन् । केही वर्षअघिसम्म म्याग्दी र मुस्ताङको सिमाना घासासम्म स्याउ फल्ने भए पनि अहिले दुवै गाविसमा बोटसमेत हुर्कन नसक्ने अवस्थामा पुगेको जिल्ला कृषि विकास कार्यालय मुस्ताङका योजना अधिकृत तप्तबहादुर गुरुङले बताउनुभयो ।

“त्यहाँका स्याउ उत्पादक किसान अहिले एकदमै चिन्तित छन्, कुनै समय स्याउको पकेट क्षेत्र मानिने ती क्षेत्र अहिले सुनसान छ”, उहाँले भन्नुभयो – “हावापानी अनुकूल नभएपछि बोटसमेत राम्ररी हुर्कन सकेको छैन ।” विश्वव्यापीरुपमा बढ्दो औद्योगीकरणसँगै बढेको तापक्रमका कारण हिमाली क्षेत्रमा हिउँको मात्रा घट्दै जाँदा त्यसको प्रत्यक्ष असर स्थानीयस्तरमा देखिन थालेको विज्ञहरुले बताएका छन् ।

जिल्ला कृषि विकास कार्यालयले मार्फा, टुकुचे, जोमसोम, कागबेनीलगायतका गाविसलाई मात्रै स्याउ उत्पादनका दृष्टिले पकेट क्षेत्र मानेको छ । कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले हिमाली क्षेत्रमा जलवायु परिर्वतन मुख्य समस्याको रुपमा रहेको बताउनुभयो ।

“केही वर्षसम्म उपल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण स्याउको बिरुवा हुर्कन सक्दैन्थे, तर अहिले फलसमेत दिन थालेको छ”, उहाँले भन्नुभयो – “तल्लो क्षेत्रमा लोप हुँदै उपल्लो क्षेत्रमा उत्पादन हुने अवस्था देखिएको छ ।” उपल्लो क्षेत्रको चर्राङ, घमी र लोमान्थाङ गाविससमेत स्याउ उत्पादन हुन थालेको कार्यालयले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter