• Friday, May 23, 2025

शिलान्याससँगै यस क्षेत्रको विकासको भरपर्दो आधार तयार हुनेः प्रम ओली

Pokhara Airportपोखरा, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्याससँगै आजैदेखि यस क्षेत्रको विकासमा भरपर्दो आधार तयार भएको बताउनु भएको छ ।

पोखराको छिनेडाँडामा निर्माण हुने विमानस्थलको आज यहाँ शिलान्यास गर्दै उहाँले यस विकास निर्माणको सुरुवातसँगै पोखरेलीमा उत्साह थपिएको र सन् २०२० जुलाई सम्ममा निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुभयो ।

“पोखरा प्राकृतिक सौन्दर्यले भरिपूर्ण र विदेशी पर्यटकलाई आकर्षण गर्ने सुन्दर ठाउँ हो,” उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पोखरा मात्रै होइन समग्र ४ नं प्रदेशमा नै नयाँ सम्भावना र विकास सुरु हुन्छन् ।” उहाँले देशका सबै राजनीतिक पार्टी राष्ट्रिय विकासका लागि एक ठाउँमा भएको र सबै नेपालीको संयुक्त लगानीमा ठूला जलविद्युत् आयोजना सुरु गर्ने तयारीमा सरकार लागि परेको जानकारी गराउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणले वैशाख महिनालाई विद्युत् चुहावट नियन्त्रण महिनाको रुपमा काम सुरु गरेको बताउँदै प्रधानमन्त्री ओलीले यसले देशमा भइरहेको २७ प्रतिशत विद्युत् चुहावट नियन्त्रण हुने दाबी गर्नुभयो । सरकारले आगामी आवको बजेट नयाँ नीति र कार्यक्रमका साथ ल्याउने र यो बजेट विकास अभियान संवाहकका रुपमा हुने धारणा प्रधानमन्त्रीले राख्नुभयो ।

एकीकृत नेकपा (माओवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ वर्षको सुरुवातसँगै भएको विमानस्थलको शिलान्यासबाट विकास अभियान सुरु भएको बताउनुभयो ।

विकासको गति नयाँ प्रक्रियाबाट अघि बढाउन प्रमुख राजनीतिक दलहरुबीच नयाँ समझदारी बनेको धारणा राख्दै उहाँले संविधान कार्यान्वयन, पुनःनिर्माणमा राष्ट्रिय एकताको खाँचो औँल्याउनुभयो ।

नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिङ्गो पोखरा नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्नुभयो । विमानस्थल निर्माणपछि पोखरामा आउने विदेशी पर्यटकको सङ्ख्या १० औँ गुणा बढ्ने दाबी गर्दै खनालले यसले यस क्षेत्रको जनजीवनमा नयाँ परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

उपप्रधान, भौतिक पुर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले विमानस्थल निर्माणको थालनीले हिमाल, पहाड र तराई सबै क्षेत्रका विकासका सम्भावनालाई उजागर गरेको बताउनुभयो । उहाँले सबै क्षेत्रको समुचित विकासका लागि सबै एक ठाउँमा उभिनुपर्ने उल्लेख गर्नुभयो । पार्टी र व्यक्तिगत स्वार्थ त्यागेर राष्ट्रिय हितमा लाग्नु देशको आवश्यकता भएको आँैल्याउँदै उहाँले हिमाल पहाड र तराईबीचको एकता अपरिहार्य भएको उल्लेख गर्नुभयो ।

उपप्रधान, परराष्ट्र एवम् स्थानीय विकासमन्त्री कमल थापाले सबै राजनीतिक दलको एकताले विमानस्थल तोकिएकै समयमा पूरा हुने बताउनुभयो ।

नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले नेपाली जनताले राजनीतिक स्थिरता र विकासको अपेक्षा गरेको बताउँदै विकास निर्माणमा कोही कसैले राजनीति गर्न नहुने धारणा राख्नुभयो । देशलाई गरिबीको कुचक्रमा फसाउन नहुनेमा जोड दिँदै उहाँले विकासको गतिलाई तीव्र रुपमाअघि बढाउन काँग्रेस सधैँ तयार रहेको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री विष्णु पौडेलले विमानस्थल निर्माण प्रक्रिया बढेसँगै पोखरा र यस आसपासको विकास अघि बढेको बताउनुभयो । देश विकासमा सबै राजनीतिक दलको सामूहिक प्रयास आवश्यक रहेकामा जोड दिँदै उहाँले यो वर्ष आर्थिक समृद्धि र विकासको आधार वर्ष हुने उल्लेख गर्नुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले आगामी पाँच वर्षभित्रमा २६ लाख पर्यटक ल्याउने लक्ष्य लिइएको बताउनुभयो । स्वदेशी पुँजीमा निजगढ विमानस्थल निर्माण सुरु गर्न सकिने बताउँदै उहाँले यसका लागि मधेसी जनताको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

पोखरा विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिका संयोजक एवम् व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीले विमानस्थल निर्माण कार्यलाई अघि बढाउन सयौँ दिन अनसन बस्नुपरेको स्मरण गर्दै शिलान्याससँगै निर्माण कार्य अघि बढाउन सम्पूण पोखरेली जनता तथा राजनीतिक दलले सहयोग गर्ने बताउनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले चीन सरकारको एकजिम बैंकको २२ अर्ब ऋण सहयोगमा विमानस्थल निर्माण कार्य अघि बढाउन लागिएको जानकारी दिनुभयो ।

चिनियाँ कम्पनी सिएमसी इन्जिनियरिङ कम्पनीका अध्यक्ष लउ युनले सबैको सहयोगमा तोकिएको समयमा नै निर्माण सम्पन्न गरिने विश्वास व्यक्त दिलाउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter