• Monday, June 09, 2025

सरकारको प्राथमिकताः जनजीवनदेखि वैदेशिक रोजगारसम्म

Singha-Durbarरमेश लम्साल / काठमाडौँ, ७ भदौ । वर्तमान सरकारले जनताको दैनिक जीवनसँग जोडिएका विषयलाई पहिलो प्राथमिकतामा राखेर आफ्ना कामलाई अगाडि बढाइरहेको छ ।

गत साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका पुष्पकमल दाहालले त्यसलगत्तै जनताको दैनिकीसँग जोडिएका एक दर्जनभन्दा बढी विषयमा चासो व्यक्त गर्नुभएको छ । संविधानको कार्यान्वयन तथा मधेसकेन्द्रित दललाई वार्ता र संवादमार्फत उनीहरुको माग सम्बोधन गर्ने कामलाई पनि वर्तमान सरकारले उत्तिकै प्राथमिकता दिँदैआएको छ ।

पुनःनिर्माण पहिलो प्राथमिकतामा
‘गोरखा भूकम्प’बाट प्रभावित ११ जिल्लाका पीडितलाई ४५ दिनभित्र पहिलो किस्ता बापतको रकम उपलब्ध गराउन पुनःनिर्माण प्राधिकरणलाई प्रधानमन्त्रीबाट निर्देशन भएको छ । प्रधानमन्त्रीको सो निर्देशनलगत्तै पुनःनिर्माण प्राधिकरणले अभियानात्मक कार्यक्रम नै घोषणा गरेको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा प्राधिकरणले लाभग्राहीको तथ्याङ्क सङ्कलन अभियान चलाइरहेको छ । कुल पाँच लाख २३ हजार भूकम्पपीडितलाई पहिलो किस्ताको रकम उपलब्ध गराउने निर्णय भएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत साउन ३१ गतेदेखि आगामी असोज २ गतेभित्र लाभग्राही सूचीमा रहेका भूकम्पपीडितलाई रु ५० हजार उपलब्ध गराउने निर्णय भएअनुरुप प्रक्रिया द्रुत रुपमा अगाडि बढेको छ । यस्तै केही जिल्लामा परेको उजुरीको पनि द्रुत विधि अपनाएर समस्याको समाधान खोजिने छ ।

विद्युत् कटौती सात घन्टा
प्रधानमन्त्री दाहालले तत्कालीन सुधारको कार्ययोजना पेस गर्न सचिवलाई दिनुभएको निर्देशनलगत्तै ऊर्जा मन्त्रालयले आगामी हिउँदमा विद्युत्भार कटौतीलाई सात घन्टामा सीमित गर्ने कार्ययोजना अगाडि सारेको छ । माथिल्लो मस्र्याङ्दी र हेवा लगायत जलविद्युत् आयोजनाबाट करिब एक सय मेगावाट थप हुने र भारतबाट एक सय २० मेगावाट थप विद्युत् ल्याउने सरकारको योजना छ ।

ऊर्जा मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले आगामी हिउँदमा विद्युत्भार कटौतीलाई सात घन्टामा सीमित गर्ने कार्ययोजनासहितको प्रस्ताव पेस गरिएको जानकारी दिँदै गत फागुन ६ गते जारी भएको ऊर्जा सङ्कट निवारण कार्ययोजना, २०७२ कै सेरोफेरोमा रहेर कार्ययोजना बनाइएको बताउनुभयो । गत हिउँदमा १२ घन्टाभन्दा बढी विद्युत्भार कटौतीको मारमा परेका जनतालाई राहत दिने लक्ष्यका साथ उक्त कार्ययोजना अगाडि सारिएको मन्त्रालयको भनाइ छ ।

अलपत्र नागरिकको उद्धार
सरकारले साउदी अरब र श्रीलङ्कामा अलपत्र परेका नेपालीलाई उद्धार गर्न विशेष पहल थालेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दै गएको पृष्ठभूमिमा साउदी अरबमा नेपाली कामदार कामविहीन हुन पुगेका छन् । साउदी अरबमा ९१ नेपाली अलपत्र अवस्थामा छन् ।

प्रधानमन्त्रीको निर्देशन बमोजिम परराष्ट्र मन्त्रालयबाट उद्धारको पहल थालिएको छ । उद्धार प्रयासमा प्रगति भएको मन्त्रालयले जनाएको छ । यस्तै खाडीको कारागारमा रहेका र कामविहीन नेपालीको तथ्याङ्क उपलब्ध गराउन समेत प्रधानमन्त्रीबाट दिइएको निर्देशनानुसार काम सुरु भएको मन्त्रालयको भनाइ छ । साउदी अरबको जेद्दास्थित वाणिज्यदूतको कार्यालयले अलपत्र अवस्थामा रहेका नेपालीलाई सम्पकर्मा आउन आग्रह गरिसकेको छ ।

यस्तै दलालको फन्दामा परेका १४ महिला श्रीलङ्कामा अलपत्र अवस्थामा रहेकामा उनीहरुको स्वदेश फिर्तीको प्रक्रिया पनि सुरु गरिएको छ ।

कालोबजारी नियन्त्रणमा विशेष अभियान
सरकारले कालोबजारी र महँगी नियन्त्रणका लागि विशेष अभियान सुरु गरेको छ । अहिले आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटाको संयोजकत्वमा सुरक्षा निकाय, उपभोक्तावादी सङ्घ संस्था लगायतको एकीकृत अनुगमन टोली परिचालित छ । अनुगमन टोलीले नियमित रुपमा बजार अनुगमन गरिरहेको छ । प्रधानमन्त्रीले गत साउन २६ गते दिएको निर्देशनानुसार नै विशेष अभियान सुरु गरिएको मन्त्रालयका सहसचिव आनन्दराम रेग्मीले जानकारी दिनुभयो ।

यस्तै कालोबजारी रोक्न ऐन संशोधनको गृहकार्य गर्न कानुन मन्त्रालयले प्रक्रिया सुरु गरेको छ । आपूर्ति मन्त्रालयले ‘¥यापिड एक्सन प्लान’ बनाई मुलुकभर नै टोली परिचालन गरेको छ ।

सुकुम्बासी समस्या समाधान गरिने
सरकारले मुलुकभर रहेका सुकुम्बासीको समस्या समाधान गर्ने प्रक्रिया अगाडि बढाएको छ । सुकुम्बासीका बस्तीमा अमानवीय तवरले डोजर लगाएर घर तथा टहरा हटाउन सुरु गरिएपछि वैकल्पिक व्यवस्था गर्ने र उनीहरुलाई व्यवस्थित गर्ने योजनामा सरकार छ । प्रधानमन्त्री दाहाललाई चितवन बाँदरझुलाका सुकुम्बासी अगुवा, नेकपा(क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य र सुकुम्बासी समस्या समाधान उच्च आयोगका पूर्वअध्यक्ष समेत रहनुभएका नेकपा(माओवादी केन्द्र)का नेता हरिबोल गजुरेलले समेत सुकुम्बासी समस्या समाधान गर्न र अनावश्यक डोजर नलगाउन आग्रह गरेपछि सरकारले वैकल्पिक व्यवस्था गरेर मात्रै अतिक्रमित बस्ती खाली गराउने तयारी गरेको छ ।

दैनिक जीवनका समस्या प्राथमिकतामा
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले प्रधानमन्त्रीले जनताको दैनिक जीवनसँग जोडिएका कामलाई प्राथमिकतामा राख्नुभएको र राष्ट्रिय कार्यभार पूरा गर्ने योजनामा लाग्नुभएको बताउनुभयो । सल्लाहकार खनालले स्थानीय निर्वाचन, उच्च अदालतको गठन एवम् मधेस समस्या समाधान गर्न सरकार प्रयत्नशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो “कालोबजारीबाट आक्रान्त भएका जनतालाई राहत दिन र राष्ट्रिय सरोकारका विषयमा सरकार गम्भीर छ ।”

सत्ता साझेदार दललाई तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गरिएको र त्यसपछि एकाध दिनभित्रै सरकारले गति लिने उहाँको विश्वास छ ।

संविधान निर्माण प्रक्रियामा असन्तुष्टि जनाउँदै आएका मधेसकेन्द्रित दलको माग बमोजिम मधेस आन्दोलनमा मारिएका ५२ जना सहिद परिवारलाई रु दश लाखका दरले राहत दिन र मधेस आन्दोलनको भौतिक क्षतिको विवरण सङ्कलन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्रलालको नेतृत्वमा सात सदस्यीय आयोग समेत गठन गर्ने काम भइसकेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter