• Wednesday, May 28, 2025

विवाह पञ्चमी आज; आपसी मेलमिलाप र सद्भाव बढाउन उत्सव सहयोगी : राष्ट्रपति

bibaha-panchamiकाठमाडौँ, १८ मङ्सिर । त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा आज मुलुकभर विवाह पञ्चमी महोत्सव मनाइँदैछ ।

त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह भएको मान्यताका आधारमा उत्सव मनाउने गरिएको हो ।

जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीनटुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको धार्मिक ग्रन्थ रामायणमा उल्लेख छ ।

रामायणमा वर्णन भएअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा देवी देवताको समेत उपस्थिति थियो । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता शरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन् ।

सो महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक व्यवस्थाअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेषरूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पु¥याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ ।

रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीतारामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । त्यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् ।

रङ्गभूमि मैदानमा वर र कन्यापक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ ।

तिरहुतियागाछीमा मनाइने सो महोत्सव एक दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ । श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ ।

देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ । उक्त महोत्सव पहिले जनकपुरमा एक महिनासम्म मनाउने गरिएकामा अहिले चार दिनमात्र मनाइन्छ ।

यस अवसरमा आज देशभरका राम मन्दिरमा पनि विवाह महोत्सव मनाइन्छ । आज लगन नभएपनि विवाह गर्नका लागि शुभ हुने सामाजिक मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

आपसी मेलमिलाप र सद्भाव बढाउन उत्सव सहयोगी : राष्ट्रपति

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले विवाह पञ्चमीजस्ता उत्सवले विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आबद्ध नागरिकबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ पार्न मद्दत गरिरहेका बताउनुभएको छ ।

विवाह पञ्चमीको उपलक्ष्यमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले यस उत्सवले नेपाल र छिमेकी राष्ट्र भारतका नागरिकबीच नागरिक स्तरमा रहेको सांस्कृतिक सम्बन्धको कडीलाई नवीकृत र प्रगाढ बनाउने अवसर प्रदान गरेको उल्लेख गर्नुभएको छ ।

“यस्ता उत्सवहरूले हाम्रो पूर्वीय सभ्यताको विकास र विस्तारको प्रक्रियालाई अघि बढाउँदै उजागर गर्न र हाम्रो सभ्यतालाई समृद्ध बनाउन सहयोग गरेका छन्,” राष्ट्रपतिले भन्नुभएको छ ।

सन्देशमा राष्ट्रपतिले नेपालीबीचको आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता सुदृढ बनाउँदै नेपालका जनता र भारतका जनताबीचको सदियौँ पुरानो सम्बन्धलाई अझ सुदृढ र प्रगाढ बनाउन मद्दत पुगोस् भन्ने कामना गर्नुभएको छ ।

त्रेता युगमा मर्यादापुरुष श्री राम र जनकनन्दिनी भूमीपुत्री जानकीको विवाह सम्पन्न भएको आजको पावन दिनमा मार्ग शुक्ल पञ्चमी नेपालको खास गरी मिथिला क्षेत्रमा विवाह पञ्चमीको रुपमा हर्षोल्लासका साथ मनाइरहेको अवसरमा सम्पूर्ण दिदी बहिनी तथा दाजुभाईमा हार्दिक शुभकामना पनि उहाँले व्यक्त गर्नुभएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter