• Saturday, May 24, 2025

मकर सङ्क्रान्ति तथा माघी पर्व धुमधामका साथ मनाइँदै

File Photo

काठमाडौँ, १ माघ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ ।

माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले आजैदेखि दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।

यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् ।

बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

“धर्मसिन्धुमा माघ १ मा घ्यु, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख छ, स्नान, दान, ब्रत, ध्यान गर्नेले पुण्य प्राप्त गरी मनकामना पूरा हुने विश्वास छ”– उहाँले भन्नुभयो ।

माघे सङ्क्रान्तिका दिन घ्यु, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिन्छ ।

सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा मेला लाग्ने गर्दछ ।

माघी पर्व

थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन् ।

सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको माघी पर्व पर्दछ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ ।

माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् ।

यस अवसरमा सक्ने चारधाम जाने र नसक्नेले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता थारु समुदायमा रहेको छ ।

तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारु समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत छ ।

गाउँका मुखिया, महतो, गुरुबा, पूजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने, आदि सबैले माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि नेताको छनोट गरिन्छ । थारु जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । बीचमा फेरबदल हुँदैन । यस प्रथालाई माघी देवानी भनिन्छ ।

विशेष गरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ । थारु समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् । विवाह, यात्रा, बसाइँसराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारु समुदायमा छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter