• Saturday, June 14, 2025

निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था गरिएको छ – उपप्रधानमन्त्री निधि; गाउँ–नगरका समस्या समाधान गर्ने नेमकिपाको प्रतिबद्धता

Bimalendra Nidhiकाठमाडौँ, वैशाख ७ गते । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई योजनाबद्ध रुपमा परिचालन गरिएको बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री निधिले २० वर्षपछि हुन लागेको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित बनाउन केन्द्रीय, क्षेत्रीय तथा स्थानीय योजना बनाएर लागू गरिएको उल्लेख गर्नुभयो ।

जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै सुरक्षा निकाय संलग्न रहने गरी समन्वयात्मक सुरक्षा योजना लागू गरिएको, प्रष्टताका साथ योजना बनाइएको र शान्ति सुव्यवस्था कायम गरी निर्वाचनको वातावरण बनाइएको र राजनीतिक दलले निर्वाचनको प्रचारप्रसारसमेत सुरु गरिसकेको जानकारी उहाँले दिनुभयो ।

निर्वाचनलाई भयरहित बनाउन सरकारको तर्फबाट कुनै पनि कसर बाँकी नराखिएको र सरकार पूर्ण क्षमताका साथ आवश्यक वातावरण बनाउन लागिपरेको उहाँले स्पष्ट पार्नुभयो ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन निर्वाचनपूर्व, निर्वाचन अवधि र निर्वाचनपछि पनि पूर्णरुपमा सुरक्षा प्रदान गर्ने योजना बनाइएको र लागू गरिएको उहाँको भनाइ थियो ।

सरकारले सामान्य, संवेदनशील र अतिसंवेदशील क्षेत्र पहिचान गरी निर्वाचनका लागि सुरक्षा निकायलाई परिचालन गरिएको जानकारी पनि उहाँले दिनुभयो ।

गृहमन्त्री निधिले सांसद सत्यनारायण मण्डलको घरमा भएको भनिएको आक्रमण र दुव्र्यवहारमा संलग्नमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइएको सदनलाई जानकारी दिनुभयो । मुलुकका विभिन्न स्थानमा भएको आगलागी, चट्याङ, पहिरोमा परेर भौतिक तथा मानवीय क्षति भएकालाई सरकारले क्षतिपूर्ति प्रदान गरेको र केही स्थानमा बाँकी रहेको भए शीघ्र राहत प्रदान गरिने पनि उहाँले बताउनुभयो ।

गाउँ–नगरका समस्या समाधान गर्ने नेमकिपाको प्रतिबद्धता

नेपाल मजदुर किसान पार्टीले आफ्ना जनप्रतिनिधिमार्फत मजदुर, किसान, प्रगतिशील बुद्धिजीवी, पुँजीपति वर्गसमेतको सहयोग तथा समर्थनमा गाउँपालिका र नगरपालिकाका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । पार्टीले आज सार्वजनिक गरेको ‘स्थानीय तह निर्वाचन घोषणापत्र २०७४’ मा भूबनोटअनुसार घर बनाउन जनतालाई भार नपर्ने गरी स्थानीय तह र सरकारी निकायबाट माटो परीक्षणको व्यवस्था मिलाइने जनाएको छ ।

पार्टीले बौद्धिक क्षेत्रको सहयोगमा आवास, पर्यटन, औद्योगिक, कृषि, शैक्षिक, हरितल क्षेत्रलगायतका भूउपयोग सम्बन्धी नक्सा तयार गरी कार्यान्वनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

पार्टीले गाउँपालिकामा जनताको नागरिक भावनाको विकास गरी गाउँपालिकाकालाई सफा र स्वच्छ बनाउने, पानीका स्रोत सफा राख्ने, बाढीपहिरो नियन्त्रणका लागि वृक्षारोपण गर्नेलगायतका विकास निर्माणका कार्यलाई जोड दिएको छ ।

त्यसैगरी नगरपालिकामा सडकको सरसफाइ, हरियाली, खानेपानी आपूर्ति, नमुना विद्यालय तथा कलेज स्थापना र कालोबजार, कृत्रिम अभाव गर्नेजस्ता कार्यलाई कानुनी दायरामा ल्याई उपभोक्ताको अधिकार स्थापित गर्ने सो पार्टीले घोषणापत्रमा उल्लेख छ ।

पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले घोषणापत्र, वर्गआधार, पार्टीको सिद्धान्त मिल्ने पार्टीसँग सहकार्य गरेर आफ्नो पार्टी अगाडि बढ्ने स्पष्ट गर्नुभयो । उहाँले २८ जिल्लामा आफ्नो पार्टीले उम्मेदवारी दिने घोषणासमेत गर्नुभयो ।

मधेस केन्द्रित दललाई निर्वाचमा ल्याउने विषयमा पार्टी अध्यक्ष बिजुक्छेले निर्वाचनलाई सफल बनाउन चरणबद्ध निर्वाचन गर्न सकिने धारणा पनि व्यक्त गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter