• Saturday, June 14, 2025

निर्वाचनबाट संविधानको भावना र जनताको चाहनाले मूर्तरुप लिने विश्वास

President Visitकाठमाडौँ, भदौ २२ गते। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष स्थानीय तहको पहिलो र दोस्रो चरणमा भएको निर्वाचन तथा आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनको तयारीका बारेमा निर्वाचन आयोगका पदाधिकारीले अवगत गराउनुभएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको नेतृत्वमा गएको आयोग पदाधिकारी टोलीले निर्वाचन स्वच्छ र मर्यादित बनाउनका लागि आयोगले आचारसंहिता पालनामा जोड दिएको जानकारी गराउनुभएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले लामो समयपछि स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएकामा सन्तोष व्यक्त गर्दै आगामी मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनबाट नेपालको संविधानको भावना र जनताको चाहनाले मूर्तरुप लिने विश्वास व्यक्त गर्नुभयो ।

निर्वाचनको माध्यमबाट लोकतन्त्र सुदृढ हुने र मुलुकमा राजनीतिक स्थायित्व कायम हुने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले दुई चरणको स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा आयोगलाई धन्यवाद ज्ञापन गर्नुभएको आयोगले जनाएको छ । राष्ट्रपति भण्डारीले भन्नुभयो, “आगामी असोजमा हुने प्रदेश नं २ को स्थानीय तहको निर्वाचन तथा आगामी मंसिरमा हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनका साथसाथै राष्ट्रियसभा सदस्य, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गर्न आयोग सक्षम हुनेछ ।”

निर्वाचन क्षेत्र निर्धारण आयोगबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १६५ र प्रदेशसभा सदस्य निर्वाचनका लागि ३३० निर्वाचन क्षेत्र निर्धारण भएको प्रतिवेदन प्राप्त भएको विषय पनि आयोगका तर्फबाट राष्ट्रपतिलाई जानकारी गराइएको थियो ।

सो अवसरमा राष्ट्रपतिसमक्ष व्यवस्थापिका–संसद्बाट प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन विधेयक, २०७४ पारित भइसकेकाले सोही आधारमा नियमावली, निर्देशिका तथा कार्यविधि निर्माण भइरहेकोबारे जानकारी गराइएको थियो ।

डा यादवले नेपाल सरकारले २०७४ मंसिर १० र २१ गते प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य हुने निर्वाचन हुने मिति तय गरेअनुसार आयोग तयारीका कार्यमा अगाडि बढेको अवगत गराउनुभएको थियो ।

स्थानीय तहको निर्वाचनप्रति युवा तथा राजनीतिक दलमा व्यापक उत्साह देखिएको, आचारसंहिताको पालना भएको, निर्वाचनको वातावरण बनेको तथा समग्र मुलुक निर्वाचनमय भइरहेको जानकारी गराउँदै आयोग पदाधिकारीले प्रदेश नं २ मा यातायात सञ्चालन र सर्वसाधारणलाई राहत उपलब्ध गराई पूर्ववत् अवस्थामा ल्याउन अनुरोध भएअनुरुप सरकारबाट आवश्यक प्रयास भइरहेकाबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो । आयोग टोलीमा आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद र तथा सुधीरकुमार शाह सहभागी हुनुहुन्थ्यो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter