• Sunday, June 15, 2025

हवाई मार्गले जोडिएसँगै पर्यटन व्यवसायी उत्साहित

Buddha Airlinesचितवन, असोज २ गते । देशका प्रमुख चार पर्यटकीय शहरलाई हवाई यातायातले जोडिएसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

प्रमुख पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई यातायातले जोडेको छ । काठमाडौँबाट तीन वटा शहरमा हवाई यातायात सुविधा भए पनि एक शहरबाट अर्काे शहरमा सिधा हवाई सेवा थिएन ।

अहिले पोखरा–भरतपुर र पोखरा–भैरहवा हवाई सेवा शुरु भएको छ । बुद्ध एयरले यी तीन शहर हवाई यातायातमार्फत् जोडेको हो । यससँगै छोटो समयका लागि नेपाल आउने विदेशी पर्यटक लाभान्वित हुने भएका छन् ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे नारायणगढ–मुग्लिन सडक बिग्रिएको अवस्थामा पोखरासँग हवाई यातायातले जोडिंदा निकै उत्साहित भएको बताउनुहुन्छ । यहाँ आएका पर्यटक हवाई माध्यमबाट पोखरा जान थालेको र पोखराबाट यहाँ आउन थालेको उहाँले बताउनुभयो ।

चितवन आएका पर्यटक पनि पोखरा हुँदै लुम्बिनीसम्म जहाजमै जानसक्ने भएका छन् । यसअघि काठमाडौँबाट जुन शहरमा गए पनि पुनः काठमाडौँ गएर अर्काे शहरमा जानुपर्ने बाध्यता रहेको थियो ।

पछिल्ला वर्षमा विदेशीको तुलनामा नेपाली पर्यटकको संख्या उल्लेख्य रहेको छ । हवाई सुविधासँगै नेपाली पर्यटक पनि एक अर्काे गन्तव्यमा आवतजावत गर्न थालेको घिमिरेले बताउनुभयो ।

चितवनमा चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँ रहेका दुर्लभ वन्यजन्तु अवलोकन गर्न र यहाँका थारु संस्कृति हेर्न वर्षेनी दुई लाखको हाराहारीमा पर्यटक आउने गर्दछन् ।

पोखराबाट चितवन पर्यटक पठाउन अप्ठ्यारो परिरहेको अवस्थामा हवाई सम्बन्ध जोडिएपछि पोखरेली पर्यटन व्यवसायी पनि खुशी भएका छन् । पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचन सडकका कारण समस्या भइरहेका बेला हवाई सम्बन्ध जोडिएपछि समग्र नेपालको पर्यटन क्षेत्रमा सहयोग पुग्ने बताउनुहुन्छ ।

चारवटै सहरसँगको ‘एयर कनेक्टिभिटी’पछि स्तरीय पर्यटक बढ्ने उहाँको अनुमान छ । छोटो समयका लागि नेपाल आउने पर्यटकले महत्वपूर्ण पर्यटकीय गन्तव्य घुम्न पाउने उहाँले बताउनुभयो ।

नारायणगढ–मुग्लिन सडकका कारण दयनीय अवस्थामा रहेको चितवनको पर्यटनलाई पनि यसले उकास्ने तुलाचनको भनाइ छ । पोखरामा वर्षेनी चार लाखको हाराहारीमा विदेशी पर्यटक आउने गर्दछन् ।

पोखरा र चितवनमा होटल सञ्चालन गर्नेको संख्या पनि बढ्दो छ । त्यसमध्येको एक होटल बाराहीका प्रबन्ध निर्देशक विप्लव पौडेल प्रमुख शहरमा हवाई सम्बन्ध जोडिएसँगै व्यवसायिक हिसाबले फलदायी हुने बताउनुहुन्छ ।

पोखराका पर्यटक चितवन ल्याउन र चितवनका पर्यटक पोखरा लैजान हवाई मार्ग उपयोगी हुने उहाँको भनाइ छ । भारतीय ट्राभल्स एजेन्सीले बुद्धको जन्मभूमि भन्दै लुम्बिनीसम्म पर्यटक ल्याएर त्यहीँबाट फर्काउने गरेका छन् । जसका कारण लुम्बिनी भ्रमण गर्ने पर्यटकलाई पनि आफू नेपाल आएको थाहासम्म नहुने गरेको छ ।

सिद्धार्थ होटल एसोसिएसन लुम्बिनीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ सहज हवाई सम्बन्ध नेपालका पर्यटकीय गन्तव्यमा हुनसकेमा सोझै पर्यटक आउने बताउनुहुन्छ । एक रातसम्म नेपाल नबसी बिहान आएर बेलुका लैजाने भारतीय ट्राभल्सका कारण अन्य शहरमा पर्यटक नजाने गरेको उहाँले बताउनुभयो ।

भिसा लगाउन नपार्ने भएपछि भारत हुँदै आएका पर्यटकलाई लुम्बिनी कुन देशमा पर्दछ भन्नेसमेत थाहा नभएको उहाँको भनाइ छ । बुद्धको दर्शन गर्न आउने पर्यटकले पोखरा, सौराहा र काठमाडौँका पर्यटकीय स्थलको दर्शन गर्ने अवसर एयर कनेक्टिभिटीबाट प्राप्त हुने उहाँले बताउनुभयो ।

लुम्बिनीमा म्यानमार, थाइल्याण्ड, भियतानाम, श्रीलंका, कोरिया, जापान, चीनलगायतका देशबाट आउने बौद्ध धर्मावलम्बी त्यहीँबाट फर्किने गरेका छन् । यातायातको सुविधा प्रबद्र्धन गर्न सकेमा ती पर्यटक सोझै यहाँ आउने र प्रमुख गन्तव्यको भ्रमण गर्ने पनि उहाँले बताउनुभयो ।

सन् २०१६ मा लुम्बिनीमा एक लाख ३६ हजार पर्यटक भित्रिएका थिए । सन् २०१७ को हालसम्म एक लाख ५६ हजार पर्यटक भित्रिएका छन् ।

होटल एसोसिएसन अफ नेपाल (हान) का महासचिव विनायक शाह पर्यटकीय शहरको बीचमा हवाई यातायात हुँदा पर्यटन प्रबद्र्धनमा ठूलो टेवा पुग्ने बताउनुहुन्छ । सानो जहाजबाट यातायात जोडेको भए पनि यात्रुको चाप बढाउन सकेमा ठूला जहाज चल्ने बताउँदै उहाँले छोटो समयका लागि आएका पर्यटकलाई धेरै ठाउँमा देखाउन सकिने पनि बताउनुभयो ।

विदेशी ट्राभल एजेन्सीहरुले आफ्नो नेपाल आउने भ्रमण प्याकेजमा चितवनलाई हटाउने गरेकामा अब सहज भएको उहाँले बताउनुभयो । हाल बुद्ध एयरले मात्र सेवा विस्तार गरेकामा अन्य एयरलाइन्सलाई पनि यसमा आकर्षित गर्नुपर्ने शाहको भनाइ छ ।

सन् २०१६ मा नेपालमा सात लाख ५३ हजार पर्यटक भित्रिएका थिए । सन् २०१७ को हालसम्म चार लाख ५० हजार पर्यटक नेपाल भित्रिएको बताउँदै उहाँले यो वर्ष नौ लाखको हाराहारी पर्यटक भित्रिने अपेक्षा गरिएको बताउनुभयो ।

यसअघि सन् २०१२ मा सबैभन्दा बढी आठ लाख तीन हजार पर्यटक नेपाल भित्रिएका थिए । नेपालको पहिलो पर्यटकीय गन्तव्य काठमाडौँ हो भने दोस्रो पोखरा, तेस्रो चितवन र चौँथो लुम्बिनी हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter