• Friday, May 23, 2025

आप्रवासी नेपालीको मानवअधिकार संरक्षण गर्नुपर्ने

NHRCकाठमाडौँ, मङ्सिर २६ गते । वैदेशिक रोजगारीमा जाने आप्रवासी नेपालीको मानवअधिकार संरक्षण गर्नुपर्नेमा सहभागीले जोड दिनुभएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले आज यहाँ ‘नेपालमा सुरक्षित वैदेशिक रोजगार र मानव बेचबिखन नियन्त्रणको लागि सुधार गर्नुपर्ने नीतिगत’ विषयक राष्ट्रिय परामर्श बैठकमा सहभागीले वैदेशिक रोजगारमा जाने श्रमिकको मानवअधिकार हनन भइरहेकाले त्यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको हो । कार्यक्रममा मुख्य सचिव लोकदर्शन रेग्मीले विदेशमा काम गर्ने श्रमिकले सम्मानजनक ढंगले काम गर्न पाउनुपर्ने बताउनुभयो ।

उहाँले जुन देशमा गएर काम गरे तापनि श्रमिकको विश्वव्यापी रुपमा रहेको मानवअधिकारको उपयोग गर्न पाउनुपर्ने बताउनुभयो । “वैदेशिक रोजगारमा जाने श्रमिकले मानवअधिकार उपयोग गर्न पाएका छैनन्” उहाँले थप्नुभयो– “श्रमिक अन्तरराष्ट्रिय कानूनअनुसार मानवअधिकारको अनुभूति पाउनु पर्दछ ।”

उहाँले मुलुकमा आर्थिक विकास भए स्वदेश मै रोजगार उपलब्ध हुने बताउनुभयो । सबै निकायलाई सूचना आदान प्रदान गरी वैदेशिक रोजगारीमा जाने श्रमिकको अधिकार हनन हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले कानून नजानेर धेरै श्रमिकले विदेशमा दुःख पाएको बताउनुभयो । पारवहन विन्दु (ट्रान्जिट)मा अहिले पनि धेरैले समस्या भोग्नुपरेको भन्दै उहाँले सम्बन्धित देशसँग समन्वय गरेर पारवहन बिन्दुमा भोग्नुपर्ने समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

अहिले पनि विभिन्न मन्त्रालयसँग समन्वयको अभावमा वैदेशिक रोजगारमा जाने श्रमिकले समस्या झेल्नुपरेको बताउँदै भन्नुभयो– “वैदेशिक रोजगारसम्बन्धी काम गर्ने मन्त्रालयको समन्वय गरेर अगाडि बढ्नुपर्दछ ।”

उहाँले वैदेशिक रोजगारमा जानुभन्दा अगाडि प्रभावकारी रुपमा अभिमुखीकरण तालीम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा श्रम सचिव लक्ष्मणप्रसाद मैनालीले कानून अभावका कारण वैदेशिक रोजगारमा जाने श्रमिक ठगिने गरेको बताउनुभयो ।

उहाँले वैदेशिक रोजगार ऐन परिमार्जन गरेर श्रमिकका अधिकार स्थापित गर्न थालिएको बताउनुभयो । उहाँले जिल्लामा धेरै श्रमिक ठगिने गरेकाले त्यसलाई नियन्त्रण गर्नका लागि अब हामीले वैदेशिक रोजगारमा ठगिने व्यक्तिको मुद्दा हेर्ने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिने तयारीमा रहेको बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले वैदेशिक रोजगारीमा रहेका श्रमिकको मानवअधिकारको अवस्था जटिल बन्दै गएको बताउनुभयो । “आठ घण्टा काम गर्नेमा १४ घण्टा काम गर्नुपरेको छ । ज्यालामा पनि ठगिएका छन्” उहाँले भन्नुभयो– “सरकारले सम्बन्धित देशमा गएर हाम्रा देशमा श्रमिकको मानवअधिकारका कुरा स्थापित गराउनुप¥यो ।”

कार्यक्रममा आयोगका सचिव वेद भट्टराईले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाई श्रमिकका मानवअधिकार संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसंघको सदस्यको हैसियतले नेपालले नेपाली आप्रवासीको मानवअधिकारको संरक्षण गर्नका लागि सम्बन्धित देशसँग कुरा गर्नुपर्नेमा जोड दिनुभयो ।

वैदेशिक रोजगारी व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले श्रम सम्झौता नभएका देशमा बढी मानवअधिकार हनन भएको बताउनुभयो । कार्यक्रममा आप्रवासी सञ्जालका मञ्जु गुरुङले वैदेशिक रोजगारीमा जाने महिलाको अवस्था दयनीय बन्दै गएको बताउनुभयो ।

उहाँले महिलाका आधारभूत मानवअधिकारका कुरा पनि पूरा हुन नसकेकाले सरकारले त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । अहिले ११० देशमा संस्थागत रुपमा र १६७ देशमा व्यक्तिगत रुपमा वैदेशिक रोजगारमा जाने गरेका र १८० देशमा नेपाली रहेको सरकारी तथ्यांक रहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter