• Wednesday, June 11, 2025

समानुपातिकको परिणाम चाँडै सार्वजनिक गर्न आयोगको ध्यानाकर्षण

Election Commissionकाठमाडौँ — वाम गठबन्धनले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको परिणाम अविलम्ब सार्वजनिक गर्न आज निर्वाचन आयोगको ध्यानकर्षण गराएको छ ।
गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्रका नेताहरुले आज प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव र आयुक्तसँग भेटी जनताले दिएको मतको सम्मान एवं संविधान तथा कानुनको मर्म र भावनाको कदरका लागि सो परिणाम सार्वजनिक गर्न माग गरे ।

राष्ट्रियसभाको निर्वाचन भएपछि मात्र सो परिणाम सार्वजनिक गर्ने तयारीप्रति आपत्ति जनाउँदै गठबन्धनले संविधान र निर्वाचन कानुन निर्माणमा संलग्नसमेत भई अनुभव हासिल भइसकेकाले कुनै पनि निर्वाचनको परिणाम अविलम्ब सार्वजनिक गर्न कुनै अप्ठेरो नहुने स्पष्ट गरेको छ । मुलुकलाई जनादेशानुसार अघि बढाउन पनि गठबन्धनले आयोगलाई आग्रह गरेको छ ।

समानुपातिकको परिणाम नआउँदा नयाँ सरकार निर्माणको प्रक्रिया ढिलो हुने भएकाले यस प्रक्रियाका सम्बन्धमा कुनै संवैधानिक वा कानुनी समस्या भएमा नेपाल सरकार र संवैधानिक निकायले फुकाउनुपर्ने अन्यथा जनताले फरक ढंगले प्रतिक्रिया दिँदा लोकतन्त्रका लागि हानि पुग्न सक्नेतर्फ नेताहरुले ध्यानाकर्षण गराए । गत मंसिर १० र २१ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो ।

भेटपछि प्रमण्डलका तर्फका एमालेका उपाध्यक्ष भीमबहादुर रावलले ‘संविधानको भावनानुसार सात दिनभित्र निर्वाचन परिणाम दिनुपर्नेमा लामो समयसम्म अड्काएर राख्दा मत दिने जनताको आदेश विपरीत हुने’ विषयमा आफूहरुले सविस्तार स्पष्ट पारेको बताए । उनले ‘राष्ट्रियसभा र प्रतिनिधिसभामा गरी संघीय संसद्मा कुल ३३ प्रतिशत महिलाको संख्या पुग्ने विषयमा कुनै अन्योल नरहेकाले’ समानुपातिकको परिणाम सार्वजनिक गर्न राष्ट्रियसभाको निर्वाचन पर्खन नपर्ने दाबी गरे ।

जवाफमा आयोगले आफूहरु पनि अनन्तकालसम्म परिणाम सार्वजनिक नगरी राखिरहने सोचमा नरहेकाले दलहरुसँगको थप परामर्शका आधारमा समस्या समाधानका लागि सामूहिक पहल गर्न तयार रहेको विश्वास दिलाएको रावलले जानकारी दिए । भेटमा ‘एमालेका नेताहरुले कानुनको व्याख्या गर्न जान्दैनन्’ भनी प्रमुख आयुक्त डा यादवले सार्वजनिक अभिव्यक्ति दिएको भन्ने विषयमा नेताहरुले चासो व्यक्त गरे पनि उनले आफूहरुले त्यस्तो धारणा नदिएको र दिन नसक्ने स्पष्ट पारेका थिए ।

प्रमण्डलमा एमालेबाट रावलसहित स्थायी कमिटी सदस्य सुवास नेम्वाङ तथा नेताहरु अग्नि खरेल र कृष्णगोपाल श्रेष्ठ तथा माओवादी केन्द्रबाट नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुन र रामनारायण बिंडारी संलग्न थिए । सोमबार नै एमाले र माओवादी केन्द्रआबद्ध युवा विद्यार्थी संगठनले पनि सोही विषयमा आयोगमा ध्यानाकर्षण गराएका थिए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter