• Saturday, June 14, 2025

सूचना महामार्गमा नेपाल–चीन जोडियो

Nepal-China-Negotiationकाठमाडौँ, पुस २८ गते । नेपाल र उत्तरी छिमेकी मुलुक चीन व्यावसायिक तवरले सूचना महामार्ग (इन्टरनेशनल कनेक्टिभिटी)मा जोडिएका छन् ।

निरन्तरको प्रयासपछि नेपालको नेपाल टेलिकम र चीनको चाइन टेलिकम ग्लोबलबीच ‘क्रसबोर्डर अप्टिकल फाइबर लिंक’ को आजबाट औपचारिकरुपमै व्यावसायिक सेवा शुरु भएको हो ।

योसँगै दुई कम्पनीले एक अर्काका देशमा दूरसञ्चार व्यवसाय विस्तार गर्न पाउने छन् । नेपाल १ दशमलब ५ जिबी प्रतिसेकेण्ड क्षमताको दूरसञ्चार सेवासँगै चीनसँग सम्पर्क विस्तार भएको छ । सूचना महामार्गमा भारत र चीन दुवैतिरबाट नेपाल जोडिएको छ ।

अन्तरदेशीय सम्पर्कमा वैकल्पिक मार्गप्रशस्त भई नेपाल–चीनबीच छोटो दूरीमा दूरसञ्चार व्यवसाय शुरु हुनुलाई उपलब्धिमूलक मानिएको छ ।

आगामी दिनमा सस्तो र सुलभ दरमा दूरसञ्चार सेवा आदानप्रदान गर्न सकिनुका साथै चीन र भारतबीचको पारबाहन सम्पर्कस्थल (ट्रान्जिट प्वाइन्ट)का रुपमा नेपाललाई विकास गर्न सकिने भएको छ ।

उच्च हिमाली क्षेत्र तथा दुवैतर्फको कठिन भूभागका बाबजुद सञ्चालनमा आएको यस सेवालाई समुद्रसम्म फाइबर बिछ्याउनका लागि दीर्घकालीन नयाँ विकल्पका रुपमा हेरिएको छ ।

इन्टरनेट सेवाको भरपर्दो सञ्चालनका लागि प्राविधिक तथा व्यावहारिकरुपमा एकभन्दा बढी सेवा प्रदायकसँग अप्टिकल फाइबरमार्फत अन्तरआबद्धता हुनुपर्ने आवश्यकताको बोध भई सन् २००३ मा तत्कालीन श्री ५ को सरकार र चिनियाँ सरकारबीच आर्थिक तथा प्राविधिक सम्झौता गरिएको थियो ।

अरनिको राजमार्गअन्तर्गत काठमाडौँदेखि खासा झाम्सुङसम्म १५५ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कार्य सन् २००८ अगष्टमा सम्पन्न भएको थियो ।

टेलिकम र तत्कालीन चाइना टेलिकम्युनिकेशन कर्पोरेशनबीच झाङ्मु र तातोपानीबीच ट्रान्सपोर्ट नेटवर्क इन्टरकनेक्सन गर्नेसम्बन्धी समझदारीपत्रमा सन् २०११ डिसेम्बर २६ मा हस्तक्षर भएको थियो ।

दुई मुलुकबीच पर्ने उच्च हिमाली क्षेत्रमध्ये २०० किमी आरक्षित क्षेत्र हुँदै अप्टिकल फाइबर बिछ्याइएकाले सो क्षेत्रमा चिनियाँ टेलिकम र नेपाल टेलिकमले सुरक्षा प्रबन्ध गर्ने उल्लेख गरिएको छ ।

सन् २०१३ डिसेम्बर २३ मा वैकल्पिक रुटका रुपमा नेपाल–चीन क्रसबार्डर अप्टिकल फाइबर कनेक्टिभिटीका लागि आवश्यक चाइना–नेपाल केबुल ट्रान्समिसन प्रणाली निर्माण र मर्मतसम्बन्धी नेपाल टेलिकम र चाइना टेलिकम्युनिकेसन कर्पोरेशनबीच सम्झौता भएको थियो ।

सन् २०१५ को अप्रिल २५ मा गएको भूकम्पका कारण काठमाडौँ–तातोपानी रुट क्षतिग्रस्त उक्त कार्यमा अवरोध सिर्जना भएको भयो । त्यसलगत्तै काठमाडौँ–रसुवागढी रुटका लागि आवश्यक लिंक निर्माणसम्बन्धी कार्य अगाडि बढाइएको थियो ।

तत्पश्चात सन् २०१६ को मे महिनामा चाइना टेलिकम र नेपाल टेलिकम दुवैले अप्टिकल फाइबर कनेक्टिभिटीको परीक्षण सफलतापूर्वक सम्पन्न भएको थियो ।

यहीबीचमा सन् २०१६ को जुलाई १४ मा उक्त अप्टिकल फाइबर लिंकलाई व्यावसायिक प्रयोजनका लागि उपयोग गर्न नेपाल टेलिकमले सूचना तथा सञ्चार मन्त्रालयबाट स्वीकृति प्राप्त गरेको थियो । सन् २०१६ को डिसेम्बरमा यससम्बन्धी व्यावसायिक सम्झौता हङ्कङमा सम्पन्न भएको थियो ।

दूरसञ्चार क्षेत्रको विकासमा कोशेढुङ्गा

नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच अन्तरदेशीय अप्टिकल फाइबर लिंक भई व्यावसायिक तवरले सञ्चालनमा आउनु दुई मुलुकबीचको सूचना प्रविधिको विकासलाई कोशेढुङ्गाका रुपमा हेरिएको छ ।

टेलिकमले आज आयोजना गरेको उद्घाटन कार्यक्रमका वक्ताले अप्टिकल फाइबर व्यावसायिक सञ्चालनलाई दुई मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण उपलब्धि भएको दाबी गरेका हुन् ।

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले अप्टिकल फाइबर लिंक व्यावसायिकरुपमा सञ्चालन हुनु दूरसञ्चारको विकासमा नेपालका लागि कोसेढुङ्गा हो भन्नुभयो ।

उहाँले आर्थिक, वाणिज्य, व्यापार तथा शैक्षिक क्रियाकलाप विस्तारका लागि महत्वपूसर्ण उपलब्धि प्राप्त भएको भन्दै यसले समृद्धिको ढोका खोलेको उल्लेख गर्नुभयो ।

चीन नेपालको दोस्रो ठूलो व्यावसायिक साझेदार मुलुक भएको बताउँदै मन्त्री बस्नेतले प्रत्यक्ष वैदेशिक लगानी गर्ने सबैभन्दा ठूलो मित्रराष्ट्र भएको धारणा व्यक्त गर्नुभयो ।

सञ्चारमन्त्री बस्नेतले नेपाल र चीनबीच रेलमार्गसँग चाँडै जोडिने अपेक्षा गर्दै त्यसका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो ।

सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले अप्टिकल फाइबर व्यावसायिकरुपमा सञ्चालन हुनु दूरसञ्चारको क्षेत्रमा नयाँ कोसेढुङ्गा भएको उल्लेख गर्नुभयो ।

नेपालका लागि चिनियाँ राजदूत यु होङले भूकम्पलगायत अनेकौँ प्राविधिक र भौगोलिक चुनौतीका बीच दुई देशबीच दूरसञ्चार सेवा व्यावसायिकरुपमा शुरु हुनुले दुई मुलुकको आर्थिक साझेदारीलाई बढवा दिने बताउनुभयो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनीराज भण्डारीले चीनसँगको वैकल्पिक इन्टरनेट सञ्जालले राष्ट्रव्यापी पहुँचको नेपाल टेलिकमको सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

चाइना टेलिकमका प्रतिनिधि वाङ योङलिनले चीनले विश्वव्यापीरुपमा अगाडि बढाएको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ अन्तर्गत चीन र नेपालबीच सूचना महामार्गमा सहकार्य भएको भन्दै यसले आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter