• Wednesday, June 11, 2025

विधि र मापदण्ड बनाएर कर्मचारी समायोजन गर्न आग्रह

government logoकाठमाडौँ, माघ ९ गते । नेपाल निजामती कर्मचारी संगठनले विधि र मापदण्ड बनाएर कर्मचारी समायोजन गर्न सरकारलाई आग्रह गरेको छ ।

संगठन केन्द्रीय कार्यसमितिको तेस्रो बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले विधि र मापदण्ड बनाएर कर्मचारी समायोजन गरे संगठनका पदाधिकारी एवं सदस्य जुनसुकै ठाउँमा गएर काम गर्न तयार रहेको बताउनुभयो ।

उहाँले संघबाट प्रदेश तहमा कर्मचारी पठाउँदा जुनसुकै तहका कर्मचारीलाई एक श्रेणी बढुवा गरी पठाउनुपर्नेमा जोड दिनुभयो । संगठनले वर्तमान सरकारबाट भएका पूर्वाग्रही ढंगका नियुक्ति, सरुवा, बढुवा, काजलगायतलाई खबरदारी गर्दै आएको छ ।

यसैगरी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा खटिएर निर्वाचन सफल गर्ने कर्मचारीलाई धन्यवाद दिनाका साथै कर्मचारी समायोजन गर्दा आधिकारिक ट्रेड युनियन र राष्ट्रियस्तरका ट्रेड युनियनसँग वार्ता र संवाद गर्नुपर्नेमा जोड दिएको छ ।

समाजमा व्याप्त भ्रष्टाचार न्यूनीकरणका लागि कर्मचारीले स्वच्छ, निष्पक्ष र पारदर्शी भएर काम गर्नुपर्ने, निजामती अस्पतालबाट दिने सुविधालाई सरल र सहज बनाउनुपर्ने, सेवा दिँदा पहिले आउने सेवाग्राहीलाई प्राथमिकता दिनुपर्ने, सेवाग्राहीको पहुँचका लागि नागरिक सहायता कक्ष स्थापना गर्नुपर्ने बताइएको छ ।

यस्तै संगठनको केन्द्रीय परिषद्को १७औँ बैठक आगामी जेठमा काठमाडौँमा गर्ने, तेस्रो राष्ट्रिय महाभेला आगामी भदौमा काठमाडौँमा गर्ने र ६८ जिल्लामा सञ्चालित राष्ट्रसेवक सहकारीको पाँचौँ राष्ट्रिय भेला आगामी कात्तिकमा धनगढीमा गर्ने जनाइएको छ ।

यसैगरी नेपाल निजामती कर्मचारी संगठन र नेपाल निजामती राष्ट्रिय कर्मचारी संगठनबीच एकीकरणका लागि आवश्यक छलफल र संवाद अगाडि बढाइने भएको छ । सवारी चालक, हुलाकी हल्कारा, वन रक्षक कार्यालय सहयोगीलगायत श्रेणीविहीन पदलाई पाँचौँ तहबाट छैटौँ पदमा वृद्धि गर्न पनि माग गरिएको छ ।

संगठनले सत्रौँ केन्द्रीय परिषद्को बैठकमा पेश गरिने विधान संशोधन प्रस्ताव तयार गर्न वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाको संयोजकत्वमा भवानी न्यौपाने, ललीतबहादुर महर्जन, रेवन्त गौतम, चेतनाथ न्यौपाने, शान्तिप्रसाद लुइँटेल र युवाचन्द्र घिमिरे रहेको एक समिति गठन गरेको छ ।

तराईका शीतलहरबाट प्रभावित पर्सा र बर्दघाट सुस्ता पश्चिम नवलपरासीका बस्तीमा राहत सामग्री बाँड्ने संगठनले जनाएको छ ।

संगठनको रिक्त रहेको सदस्य पदमा शारदा राउत, नारायणबहादुर थापा, निरञ्जन यादव, लक्ष्मी योगी र संगठनसंग सम्बन्धित निर्वाचन आयोगको रिक्त पदमा विजयालक्ष्मी सुवेदीलाई मनोनयन गरी आज शपथग्रहण गराएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter