• Wednesday, May 28, 2025

रारा तालको प्रवद्र्धन गर्न पूर्वाधार निर्माण जरुरी

rara-lakeमुगु, माघ ९ गते । कर्णाली प्रदेश सरकारले रारा ताललाई मुख्य पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गर्ने भएको छ । देशकै सबैभन्दा ठूलो यो ताल र यस आसपासका स्थलहरुको संरक्षण र प्रवद्र्धन गर्ने अभियान अन्तर्गत अहिले यहाँ नियमित सरसफाइ, जाँच, गस्ती, वन पैदावारको संरक्षण जस्ता कार्यक्रमहरु शुरु गरिएका छन् ।

पछिल्लो समय यो ताल अवलोकन गर्न चाहने आन्तरिक पर्यटकको ओइरो लाग्न थालेपछि यहाँ फोहर थुप्रिन नदिन स्थानीय तहमा जनचेतनाका साथै नियमित सरसफाइका गतिविधि सञ्चालन गरिएको हो । ताल घुम्न आउने पर्यटकको सुविधाका लागि साइकल मार्ग निर्माण गर्ने कर्णाली प्रदेश सरकारको योजना छ । यस प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले ताल वरपरको क्षेत्रमा रहेका पदमार्गमा प्लाष्टिकजन्य फोहरको मात्रा बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै भन्नुभयो – “तालको सौन्दर्य जोगाएर यसलाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने सरकारको योजना छ ।”

पर्यटक आएर बस्ने राम्रा होटल ताल नजीक छैन । यस क्षेत्रमा पर्यटन उद्योग फस्टाउन यस्ता पूर्वाधार हुन जरुरी हुन्छ । यहाँ पूर्वाधार निर्माणमा गरिने लगानीले स्थानीय बासिन्दाको आर्थिक हैसियत उकास्ने मन्त्री बुढाको विश्वास छ ।
प्रदेश सरकारले ‘कर्णाली रारा भ्रमण वर्ष’ को अवधारणा अघि सारेपछि यहाँ पर्यटकको आकर्षण बढ्दै गएको हो । गएको वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले यहीँ पुगेर राष्ट्रका नाममा सम्बोधन गर्नुभएको थियो ।

गत पुस मसान्तसम्म करीब ६० हजार पर्यटकले ताल र निकुञ्जको भ्रमण गरेका छन् । अघिल्लो वर्षको यसै अवधिको तुलनामा अहिले झण्डै ५० प्रतिशत पर्यटक वृद्धि भएको निकुञ्जले जनाएको छ । घुम्न आउनेमा स्वदेशी पर्यटककै बाहुल्यता रहेको पाइएको छ । मोटरबाटोले सुर्खेत, कालीकोट, जुम्लाको सिञ्जा क्षेत्र हुँदै मुगुलाई जोडेपछि यहाँ व्यवसायी, अनुसन्धानकर्ता, विद्यार्थी, शिक्षक, पत्रकार, समाजसेवी, शारीरिक रुपमा अशक्त व्यक्तिसमेत आउन थालेका छन् । यहाँ पुग्न नेपालगञ्ज र कोहलपुरबाट हवाईमार्ग भई मुगुको ताल्चा विमानस्थल पुग्नुपर्ने हुन्छ र विमानस्थलबाट करीब दुई घण्टाको पैदलयात्रा गर्नुपर्छ । मुगु सदरमुकाम गमगढीबाट पश्चिमतर्फ करीब तीन घण्टाको पैदलयात्रामा रारा ताल पुग्न सकिन्छ ।

रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने यस तालको लम्बाइ पाँच किलोमिटर र चौडाइ करीब तीन किलोमिटर छ । यहाँभित्र देखिने नीलो पानी, प्राकृतिक छटा, वरपरका हिम शृंखलाले जो कोही आगन्तुक मन्त्रमुग्ध हुन्छन् । करीब एक दशकदेखि जापानमा व्यवसाय गर्दै आउनुभएका बुढानीलकण्ठका बालमुकुन्द खड्का ताल वरपरको सरसफाइमा क्रियाशील हुनुहुन्छ । पहिलोपटक तालमा पुग्दा प्राप्त गरेको सुखानुभुतिलाई विदेशमा प्रचार गरी पर्यटक अभिवृद्धि गर्न उहाँ लागिपर्नु भएको छ ।

निकुञ्जको मापदण्डअनुसार तालका जलचरको सुरक्षा, प्राकृतिक सौन्दर्यको संरक्षण, र वन्यजन्तुको स्याहार गर्नुपर्ने नियमलाई पालना गरेर प्रदेश सरकारले यहाँ लगानी गर्ने योजना बनाएको छ । यहाँ गरिने लगानीबाट स्थानीय तहमा केही मात्रामा रोजगार सिर्जना गर्न सकिने छ ।

समुद्र सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा अवस्थित राराको गहिराइ १६७ मिटर छ । विसं २०३२ मा रारा राष्ट्रिय निकुञ्जको स्थापना गर्ने क्रममा रारा गाउँ र छाप्री गाउँ हटाइएको थियो । निकुञ्जको भित्री क्षेत्रमा परेका ती दुई गाउँका स्थानीय बासिन्दालाई कोहलपुरमा एकीकृत रूपमा बस्ती व्यवस्थापन गरिएको थियो । विसं २०३५ देखि सेनाले निकुञ्जको सुरक्षा गर्दैआएको छ । निकुञ्जको सुरक्षा हेर्दै आएको राजदल गणका सेनानी रवी केसीले ताल अहिले उत्कृष्ट गन्तव्य स्थलका रूपमा परिचित हुँदै गएपछि स्थानीय तहमा उत्पादन भएका फोहर व्यवस्थापनमा सेनाले सहयोग गर्दैआएको जानकारी दिनुभयो ।

निकुञ्जले तालमा माछा मार्ने, वरपर स्नान गर्ने, होहल्ला गरी वन्यजन्तुको शिकार गर्ने जस्ता गतिविधिलाई सार्वजनिक अपराध मानी कारवाही गर्ने नीति लिएको छ ।

मुलुकका २२ निकुञ्जमध्ये यो क्षेत्रफलका हिसाबले सबैभन्दा सानो हो । सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमा अगाडि सारेर २० लाख पर्यटक भित्र्याउने योजना बनाएको छ । यो ताल मुगुको मात्र नभई समग्र देशको गौरव बोकेको पर्यटकीय स्थल हो । यसको संरक्षण तथा प्रचार गरी अन्तर्राष्ट्रिय तहमा प्रचार गर्न सकिए प्रशस्त पर्यटक भित्रिने र त्यसले यस क्षेत्रमा आर्थिक गतिविधि बढाउने निश्चित छ ।

गेडागुडी, फलफूल र जडीबुटीको उत्पादन हुने यस स्थानमा हिमाल नजीकै भएको र जमीन कान्ला परेका कारण धान खेतीको सम्भावना छैन । यहाँका अधिकाँश स्थानीयवासी रोजगारीका लागि भारतलगायतका मुलुकमा जाने गरेका छन् । केही मानिसले भने पर्यटकलाई घोडामा सवार गराई आयआर्जनको माध्यम बनाउँदै आएका छन् ।

मुलुकका विभिन्न पर्यटकीय स्थललाई स्वदेश तथा विदेशमा प्रवद्र्धन गराई पर्यटक भित्र्याउन सक्रिय न्यू आर्ट समिट ट्राभल एण्ड टुर्स प्रालिले त्यस क्षेत्रका जनप्रतिनिधिसँग समन्वय गरी फोहर व्यवस्थापन लगायतका सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको
छ । उक्त कम्पनीका प्रबन्ध निर्देशक सोमबहादुर तामाङ प्रकृति प्रदत्त मूल्यवान् सम्पदा रारा ताल र वरपरको वातावरण संरक्षण र पूर्वाधार निर्माणमा जोड दिनुपर्ने खाँचो औँल्याउनुहुन्छ ।

मुलुकको करीब २० प्रतिशत भूगोल ओगटेको यस प्रदेशमा १७ लाख जनसङ्ख्या रहेको अनुमान छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter