• Saturday, June 14, 2025

कर्णाली प्रदेशमा ‘कारागारमा किताब अभियान’

सुर्खेत, चैत १९ गते । कर्णाली प्रदेशका १० जिल्लामा ‘कारागारमा किताब अभियान’ कार्यान्वयन तहमा जाने भएको छ । प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक महेशविक्रम शाहले आज पत्रकार सम्मेलनमार्फत पुस्तक अभियानका बारेमा जानकारी गराउनुभएको हो ।

हुम्ला र मुगुमा कारागार नभए पनि बाँकी आठ जिल्लाका कारागारका लागि आठ हजार ३८८ पुस्तक सङ्कलन गरिएको शाहले जानकारी दिनुभयो । “प्रदेशस्तरबाट चार हजार २८२ र जिल्लास्तरबाट चार हजार १०६ पुस्तक सङ्कलन गरिएको छ”, उहाँले भन्नुभयो । सङ्कलित पुस्तकबाट यही चैत २३ गते १० जिल्लामा एकसाथ पुस्तकायलय स्थापना गरिनेछ । पुस्तकालयको सुर्खेतमा सामाजिक विकासमन्त्री दल रावलले उद्घाटन गर्ने कार्यक्रम छ । हाल रु दुई लाख बराबरको पुस्तक सङ्कलन गरिएको छ । प्रदेशस्तरबाट रु नौ लाख ६८ हजार तथा जिल्लास्तरबाट रु ११ लाख ४० हजारको पुस्तक सङ्कलन गरिने छ । नेपाल लाईब्रेरी फाउण्डेसन, जर्नेल संरक्षणमञ्च र अञ्जु पन्त फाउण्डेसनले पनि पुस्तक सहयोग गर्ने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम, कालीकोट, जुम्ला र डोल्पा कारागारमा पुस्तकालय स्थापनाका लागि पुस्तक राखिएको छ । हुम्ला र मुगुमा कारागार भवन हस्तान्तरण नभएकाले प्रशासन र प्रहरीकै कार्यकक्षमा पुस्तकालय स्थापना गर्नेगरी तयारी भइरहेको छ । अभियानअन्तर्गत प्रदेशमा १७ सदस्यीय ‘कारागारलाई किताब अभियान’ समिति गठन गरिएको छ भने प्रत्येक जिल्लामा पनि उपसमिति गठन भएका गरिएको छ ।

लेखकसँग कैदी

यही चैत २३ गते कर्णाली प्रदेशमा आउने राष्ट्रियस्तरका प्रतिष्ठित लेखक तथा साहित्यकारले कैदीलाई भेट्ने भएका छन् । उनीहरुले प्रदेशका विभिन्न जिल्लामा रहेका कैदीसँग भेट गरी बहस गर्ने कार्यक्रम छ । कैदीसँग भेट्नका लागि सुर्खेतमा वरिष्ठ साहित्यकार सनत रेग्मी, उपन्यासकार नयनराज पाण्डे र कवि नवराज पराजुलीको उपस्थिति रहने प्रहरी नायब महानिरीक्षक शाहले बताउनुभयो ।

त्यसैगरी दैलेखमा निबन्धकार शेखर खरेल र उपन्यासकार कुमार नगरकोटी, सल्यानमा उपन्यासकार उमा सुवेदी र रामलाल जोशी, रुकुम पश्चिममा कथाकार राजेन्द्र पराजुली र निबन्धकार कुमारी लामाको सहभागिता रहनेछ । जाजरकोटमा उपन्यासकार अर्चना थापा र सुविन भट्टराई, कालिकोटमा युग पाठक, जुम्लामा शिवानीसिंह थारु तथा डोल्पामा अमर न्यौपानेको उपस्थित रहनेछ ।

कारागारभित्रै ‘बुक क्लब’ गठन

कर्णालीका कैदीमा पठनीय सोचको विकास गर्न र पुस्तक पढाइमा प्रोत्साहन दिन कारागारभित्रै ‘बुक क्लब गठन’ गरिने भएको छ । कैदीले आफूले पढेर अरुलाई पढ्न उत्पेरित गरुन भन्ने उद्देश्यले गत मङ्सिरदेखि सो अभियान थालेको प्रहरी नायब महानिरीक्षक शाहले बताउनुभयो । “हामीले पुस्तकालय खोल्ने मात्र होइन, कारागारका कैदीमा पुस्तक पढ्ने संस्कृतिको विकास गर्छौँं । यसका लागि बुक क्लब गठन गरिएको हो ।” कैदीले पढेका पुस्तकमाथि हरेक शनिबार बहस गरिनेछ । पुस्तकका विषयमा छलफल समेत गराइने उहाँले बताउनुभयो । पुस्तक अध्ययन गरी उत्कृष्ट सोचको विकास गर्ने कैदीलाई किताब नै दिएर पुरस्कृत गरिनेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter