• Friday, June 13, 2025

बिस्केट जात्रा दुई चरणमा

काठमाडौँ, चैत २१ गते । टोखामा यस वर्षको बिस्केट जात्रा आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष घोडेजात्राको अघिल्लो दिन स्थानीय ठनेलाक्षी चोकमा लिङ्गो उठाएपछि जात्रा प्रारम्भ भएको मानिन्छ । यहाँको बिस्केट जात्रा दुई चरणमा मनाइन्छ ।

लिङ्गो ठडाएपछि तीन दिनसम्म गरिने धार्मिक गतिविधि पहिलो चरणमा पर्छ भने चैत मसान्तदेखि पाँच दिनसम्म गरिने पूजा तथा जात्रालाई दोस्रो चरणमा लिइएको छ । विभिन्न धोजाले सिङ्गारिएको उक्त लिङ्गोलाई विधिपूर्वक पूजाआजा गरी आगामी वैशाख ५ गते ढालिनेछ । यसअवधिमा मुस्कानेश्वर महादेव, गणेश, सरस्वती, मसानकाली, सपनतीर्थ गणेश, कोथु गणेश र चण्डेश्वरीको मूर्तिलाई प्यागोडा शैलीको खटमा राखेर सिन्दूर जात्रा गर्दै नगर परिक्रमा गराइन्छ । चोकमा विभिन्न देवीदेवताका मुखुन्डो लगाएर नाच गरिने जात्रामा सर्वसाधारणको घरघरबाट फूल, अक्षता र सिन्दूर चढाउने गरिन्छ ।

नगर परिक्रममा गर्ने क्रममा स्थानीय नारायण पोखरीमा सम्बन्धित खटको महास्नान गराइन्छ । स्थानीयवासीले खटलाई स्नान गराएपछि पोखरीमा गहना खोज्ने गरिन्छ । लिच्छविकालदेखि नै यो जात्रा मनाउने परम्परा रहेको जात्रामा स्थानीय सपनतीर्थमा मेला लाग्ने गर्दछ, त्यहाँ स्नान गरेमा विभिन्न रोग, व्याधीबाट मुक्त भई परिवारमा सुख, शान्ति तथा समृद्धि कायम हुने विश्वास छ ।

सांस्कृतिक सम्पदाले भरिएको टोखामा विभिन्न जात्रा पर्व प्रचलनमा छन् । जीवित देवी कुमारी र गणेशलाई पनि बिस्केट जात्रामा सहभागी गराइन्छ । जात्राको अवधिमा सिन्दूर जात्रा गरेर विभिन्न देवीदेवताका खट गुठियारले बोकेर नागको प्रतीकका रूपमा ठड्याइएको लिङ्गो परिक्रमा गराइन्छ । नारायण मन्दिरको पनि तीनपल्ट परिक्रममा गराइन्छ । स्थानीयवासीको सुरक्षाका लागि चण्डेश्वरी देवीको महत्वपूर्ण भूमिका रहेको विश्वासका साथ पूजा गरिन्छ ।

रोगव्याधी निको बनाउने सपनतीर्थ, विद्याकी देवी सरस्वती, दरबारमा पुजिने कोथु गणेशलगायत सात देवीदेवतालाई विशेष रूपमा मान्ने परम्परा रहेको स्थानीयवासी देवराज डङ्गोलले बताउनुभयो । जात्रामा सपनतीर्थ दाफा खलक, जोर भीमसेन, चण्डेश्वरी, इन्द्रायणी, गणेश, सपनतीर्थ धिमे, सरस्वती धिमे बाजालगायत समूह तथा अन्य सहयोगी संस्थाले सहभागिता जनाउने प्रचलन छ ।

यही चैतको अन्तिम सातामा शुभ साइत हेराएर त्यस क्षेत्रका स्थानीयवासीको रक्षाका लागि विभिन्न देवीदेवताको पूजा तथा जात्रामा अनिष्ट नहोस् भनेर चारै दिशाका देवतालाई निमन्त्रणा गर्ने गरिन्छ । त्यसैगरी स्थानीय शक्तिपीठमा पञ्चबलि दिने र प्रसाद वितरणको व्यवस्था गरिन्छ । प्राचीन समयमा विभिन्न दानवीय शक्तिले त्यस क्षेत्रमा नगरवासीलाई दुःख दिएकाले तिनलाई सुरक्षित राख्न सो जात्रा निकाल्ने प्रचलन शुरु गरिएको टोखा सम्पदा संरक्षण दबुःका अध्यक्ष मणिराज डङ्गोलले जानकारी दिनुभयो ।

जात्राको प्रचलन शुरु गरिएपछि खराब शक्तिले स्थानीयवासीलाई दुःख दिन नसकेका कारण स्थानीयवासीले त्यस पर्वलाई निरन्तरता दिएको बताइएको छ । त्यहाँको जात्रामा जिब्रो छेड्ने चलन भने छैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सो जात्रा प्रवद्र्धन गर्न स्थानीयवासीले पहल गरिरहेका छन् । काठमाडौँबाट करीब १० किलोमिटरको दूरीमा रहेको टोखामा हुने उक्त जात्रामा सहभागी हुन काठमाडौँ तथा आसपासका सर्वसाधारण सहभागी हुने गर्दछन् । जात्रा अवधिमा प्रयोग गरिएका विभिन्न देवघरका देवीदेवतालाई सम्बन्धित देवघरमा पुनस्र्थापना गरी जात्रा समापन गरिन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter