• Monday, June 16, 2025

वडाध्यक्षको कृषि उद्यम !

हेटौँडा, वैशाख ४ गते । प्रदेश ३ को राजधानी हेटौँडाबाट त्रिभुवन राजपथ हुँदै सामरी पुल पुगेपछि सामरी खोलाको तिरैतिर १२ किलोमिटर पूर्व लाग्दा बागदली आउँछ । मकवानपुरगढी गाउँपालिका वडा नं ६ को बागदली गाउँ पुग्नासाथ तरकारीखेती गर्न बनाइएका ठूल्ठूला प्लास्टिकका घर(टनेल)हरु देखापर्छ । घरभित्र छन् लौका, काँक्रो, गोलभेडा र तितेकरेलाका रहरलाग्दा बोटहरु । सफा टनेलभित्रका सप्रिएका बिरुवाहरु र लटरम्म फलेका फलहरुले हरेकलाई लोभ्याउँछ । त्यहाँ खनजोत र गोडमेल गरिरहेका व्यक्ति देखेपछि लाग्छ कृषि जति सम्मानित अरु पेशा नै छैन, किसान जति सम्मानित अरु जात नै छैन ।

ती टनेलहरु मकवानपुरगढी गाउँपालिका वडा नं ६ का वडाध्यक्षका हुन् । अनि खनजोत र गोडमेल गर्ने व्यक्ति हुन् वडाध्यक्ष टीकाप्रसाद दाहाल । कृषि दाहालको पुरानो पेशा हो । उहाँका अनुसार चुनाव लडिरहँदा उहाँको खोरमा तीन हजार कुखुरा थिए । ती कुखुराको स्याहारसुसार गरेर मात्रै चुनाव प्रचारप्रसारमा घरदैलो गर्न जानुपरेकाले सबैतिर पुग्न समेत समस्या बेहोरेको स्मरण गर्नुहुन्छ वडाध्यक्ष दाहाल । “झण्डै चिप्लिया थिएँ, बल्ल बल्ल जितें,” उहाँले ठट्टा गर्नुभयो ।

पुख्र्यौली थलो काभ्रेको नाला बनेपा भए पनि पिताकै पालामा मकवानपुर आमभञ्ज्याङ्गको बागदली बसाइँ सर्नुभएका दाहाल समाजसेवी हुँदै राजनीतिमा प्रवेश गर्नुभएको हो । समाजसेवा वा राजनीति आफू जता जता भए पनि आफ्नो मूल पेशा कृषिलाई भने उहाँले कहिल्यै छोड्नु भएन । दुई छोरा र एक छोरी तथा श्रीमती अम्बिकाको साथ पाउनुभएका दाहालले अहिले तीन हजार वटा कुखुरा पनि पाल्नुभएको छ । ”सत्र कठ्ठामा टनेल र अर्गानिक तरकारीखेती छ, अन्य खेती पनि छ, भ्याइनभ्याई हुन्छ,” दाहालले भन्नुभयो । कुखुरा, टनेल, मौसमअनुसारका अन्य खेती, अनि राजनीति कसरी भ्याउनुहुन्छ भन्ने हाम्रो प्रश्नमा उहाँले भन्नुभयो – “व्यवस्थापन नै ठूलो कुरा हो । भित्रैदेखि रुचि भए सकिने रहेछ । म बिहान ४ बजे उठ्छु । कुखुराको दाना पानी गर्छु । टनेल छिरेर तरकारीको स्याहारसुसार गर्छु । दश बजेसम्म कुखुरा, तरकारी सबैको काम सकेर वडा कार्यालय पुग्छु ।” उहाँका अन्य काम वा भेटघाट दिउँसो कार्यालयमै वा अन्य सङ्घ संस्थामा हुन्छ । यो सबै काममा श्रीमती र छोराछोरीले पनि सघाउँछन् । कहिलेकाहीँ श्रमिकहरुलाई पनि उहाँ काममा लगाउनुहुन्छ । उहाँको समय व्यवस्थापनको तरीका यस्तो छ ।
उहाँले भन्नुभयो – “मेरो आप्mनो जग्गा थोरै छ । भाडामा १७ कठ्ठा जग्गा लिएको छु । दश कठ्ठामा टनेल छ । टनेलमा लौका, गोलभेडा, काँक्रो र तितेकरेला छन् । बन्दा तथा अन्य तरकारी खुल्ला जग्गामा पनि छ । तीन हजार ब्रोइलर कुखुरा छन् ।”

आठ लाख रुपैयाँ सरकारी अनुदान र आफ्नो १० लाख रुपैयाँको लगानीबाट शुरु गरेको टनेल खेतीबाट अहिले दाहालले दैनिक १५ देखि १८ हजार रुपैयाँसम्मको तरकारी बेच्नुहुन्छ । अहिले दैनिक लौका २०० केजी तथा टमाटर २५० केजी बिक्री भइरहेको छ भने काँक्रो र करेलाको भर्खर उत्पादन शुरु हुँदैछ । काँक्रो र करेलाको बिक्री शुरु भएपछि भने दैनिक ४० हजार रुपैयाँको तरकारी व्यापार हुने उहाँ बताउनुहुन्छ । कुखुरा र टनेल बाहिरको खेतीबाट हुने अतिरिक्त आम्दानी बाहेक टनेल खेतीबाट न्यूनतम मुनाफा मासिक १ लाख रुपैयाँ पु¥याउने उहाँको लक्ष्य छ ।

कुखुरापालनमा थप १० लाख रुपैयाँको लगानी छ । टनेल बाहिरको तरकारी, कुखुरा तथा टनेल गरेर कुल ३० लाख रुपैयाँको लगानी रहेको व्यवसायले आम्दानी सँगै स्वास्थ्यलाई तन्दुरुस्त बनाउनसमेत सहयोग गरेको दाहालको ठम्याइ छ । उहाँ भन्नुहुन्छ – “म बिहानदेखि सक्रिय हुन्छु । कसरत पनि हुन्छ । नकारात्मक कुराहरु र तर्कनाहरु मनमा आउनै पाउँदैन । त्यसैले पनि म स्वस्थ छु । फरक यत्ति हो । जीवन दुःखले चलेको छ । दुःख गर्छु, कमाउँछु । खर्च चलेको छ । नत्र कसरी राजनीति गर्नु ? राजनीति स्वयंसेवी पेशा न प¥यो !”

अध्यक्ष दाहालकी श्रमती अम्बिका पनि टनेल खेतीबाट सन्तुष्ट हुनुहुन्छ । तीस वर्ष अगाडिदेखि नै आफूहरुले तरकारी खेती गर्दै आइरहेको भए पनि टनेलमा रोग कम लाग्ने, पानी, हावाहुरी र सामान्य असिनाबाट समेत जोगाउन सकिने र तापक्रम व्यवस्थापन गर्न सहज हुने उहाँको अनुभव छ । गोडमेल गर्न, मलखाद हाल्न, चिस्यान बनाइराख्न, उत्पादनलाई टिप्न पनि धेरै सजिलो हुने उहाँ बताउनुहुन्छ । यस बाहेक बीउबिजन, मललगायतको आकलन गर्न पनि सजिलो हुन्छ ।

टनेलमै सल्लाह तथा परामर्श दिन पुग्नुभएका कृषि प्रविधिज्ञ तथा अर्गानिक खेतीका लागि सामग्रीहरु उपलब्ध गराउने संस्थाका प्रतिनिधि पुरुषोतम विष्ट भने सबै प्रकारका तरकारीखेती टनेलमा सम्भव नहुने बताउनुहुन्छ । उहाँका अनुसार बिरुवालाई चिसो वा तातोबाट जोगाउन तथा रोगहरुबाट बचाउन टनेल खेती उपयुक्त भए पनि करेला, घिरौंला जस्ता केही जातलाई भने परागसेचनका लागि कठ्यौरी, मौरी वा भमराको आवश्यकता पर्छ । त्यो टनेलमा सम्भव छैन । दाहाललाई करेलाको टनेलको बार हटाउन उहाँले सुझाउनुभयो ।

वडाध्यक्ष दाहालको पौरखमा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई पनि खुशी हुनुहुन्छ । “सुन फल्ने गाउँ छाडेर केही हजारका लागि आफ्नो मातृभूमि छोडेर बसाइँ सर्नेहरुलाई समेत कसैको गुलामी नगरी परिवार सँगै बसेर गाउँमै पैसा र आत्मसन्तुष्टि कमाउनु भएका वडा नं ६ का अध्यक्ष टीका दाहालजीले समाजलाई गतिलो पाठ पढाउनुभएको छ, हामी उहाँको उद्यमसँग अति खुशी छौं,” हुमागाई भन्नुहुन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter