• Monday, June 16, 2025

श्री एयरलाइन्सलाई अन्तरराष्ट्रिय उडान अनुमति

काठमाडौँ, साउन ३० गते । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले अन्तरराष्ट्रिय उडानका लागि अनुमति (लाइसेन्स) पाएको छ ।आन्तरिक उडानमा रहेको उक्त एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अन्तरराष्ट्रिय गन्तब्यका लागि नियमित उडान अनुमति पाएको हो । योसँगै अन्तरराष्ट्रिय उडान भर्ने नेपाली वायुसेवा प्रदायक कम्पनीको सङ्ख्या चार पुगेको छ । अहिले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), हिमालय एयरलाइन्स र बुद्ध एयरले अन्तरराष्ट्रिय उडान भरिरहेका छन् ।

उक्त एयरलाइन्सले नेपालको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र भारत तथा बङ्गलादेशका हवाई उड्डयन नियामक निकायको उडान अनुमतिपत्र (एओसी) पाएपछि भारतको नयाँदिल्ली, बैंलोर, कोलकाता, अहमदाबाद र बङ्गलादेशको राजधानी ढाकामा उडान भर्नेछ ।

प्राधिकरणबाट एओसीका लागि आवश्यक प्रक्रिया अघि बढाइएको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले बताउनुभयो । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पनि श्री एयरलाइन्सले अन्तरराष्ट्रिय चार्टर्ड उडानका लागि निवेदन दिएको र अब छिट्टै एओसी पाउने राससलाई जानकारी दिनुभयो ।

दुई दशकदेखि हेलिकप्टर सेवा दिइरहेको श्री एयरलाइन्ससले यसअघि हेलिकप्टरको अन्तरराष्ट्रिय उडानका लागि लाइसेन्स पाएको थियो । सोही लाइसेन्सकै आधारमा फिक्स्ड विङको लाइसेन्स पनि माग गर्दै उक्त कम्पनीले पर्यटन मन्त्रालयमा आवेदन दिएको थियो ।

मन्त्रालयले छ महीनाअघि चार्टर्ड उडानको मात्र लाइसेन्स दिएपछि यही २७ गते उक्त एयरलाइन्सले भारतको वनारसमा परीक्षण उडान गरेको थियो । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्ष्य गर्दै कम्पनीले अन्तरराष्ट्रिय गन्तब्यमा उडान विस्तार गरेको एयरलाइन्सका संस्थागत प्रबन्धक मानन्धरले बताउनुभयो ।

उहाँका अनुसार ५० सिट क्षमताको सिआरजे २०० र ७० सिट क्षमताको सिआरजे ७०० जहाजबाट भारत र बङ्गलादेशमा उडान भरिने छ । श्री एयरलाइन्ससँग चार वटा सिआरजे २०० र दुई सिआरजे ७०० जहाज छन् । अन्तरराष्ट्रिय उडानका लागि एयरलाइन्सले आगामी शनिबार थप एक थान जहाज भित्र्याउँदैछ । क्यानेडियन जहाज निर्माता बम्मार्डियरको ८० सिट क्षमताको जहाज शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अवतरण गर्ने प्रबन्धक मानन्धरले जानकारी दिनुभयो । सन् २०१७ देखि फिक्स्ड विङबाट नियमित उडान शुरु गरेको एयरलाइन्सले हाल आन्तरिकतर्फ चन्द्रगढी, विराटनगर, नेपालगञ्जलगायत गन्तब्यमा उडान भर्दै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter