• Wednesday, June 11, 2025

प्राविधिक शिक्षाका विद्यार्थी घटे

प्रकृति अधिकारी / भक्तपुर, असोज २४ गते । सरकारले प्राविधिक शिक्षालाई विस्तार गर्ने नीति लिए पनि प्राविधिक शिक्षा अध्ययनका लागि भर्ना हुने विद्यार्थीको सङ्ख्या आश्चर्यजनक रूपमा घटेको छ । यस वर्ष निर्धारित कोटाभन्दा साढे नौ हजार विद्यार्थी कम भर्ना भएपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का पदाधिकारीलाई गम्भीर र चकित तुल्याएको छ ।

डिप्लोमा र टीएसएलसी कार्यक्रममा कम विद्यार्थी भर्ना भएपछि २९३ शिक्षण संस्थाले नौ हजार ५११ विद्यार्थी भर्ना हुन नआएको जनाउ सीटीईभीटीलाई दिएका छन् ।

परीक्षा नियन्त्रक शिवहरि ढकालले भन्नुभयो, “ती संस्थाले कम विद्यार्थी भर्ना गरेकाले वैकल्पिकमा रहेकालाई भर्ना गर्न अनुमतिका लागि निवेदन दिएका छन् ।” सीटीईभीटीका आङ्गिक तथा सम्बन्धन गरी ४४८ शिक्षण संस्था सञ्चालित छन् । डिप्लोमामा १२ हजार र टीएसएलसीमा २७ हजार कोटा निर्धारण गरिएको छ ।

सीटीईभीटीका अनुसार, सबैभन्दा कम इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स विषयमा कम विद्यार्थी भर्ना भएका छन् । त्यसैगरी अटो मेकानिक्स, कम्प्युटर इन्जिनियरिङ्का साथै कृषि र होटल व्यवस्थापनमा पनि विद्यार्थीको आकर्षण घटेको पाइएको छ ।

फार्मेसी, हेल्थ असिस्टेन्ट र नर्सिङ्मा आकर्षण उच्च नै देखिएको छ । ती विषयमा तोकिएको सङ्ख्यामा विद्यार्थी भर्ना भइसकेको जनाइएको छ । गत भदौको पहिलो सातासम्म भर्ना हुने समयावधि तोकिएको थियो । पठनपाठन पनि सुरु भइसकेको छ ।

वैकल्पिकमा रहेका विद्यार्थीलाई भर्ना लिई कोटा पूरा गर्ने योजना बनाइए पनि सीटीईभीटीका लागि भर्ना हुने विद्यार्थी सङ्ख्या घट्नु खोजीको विषय बनेको छ ।

सीटीईभीटीका सदस्यसचिव डा. पुष्परमण वाग्लेले प्राविधिक शिक्षामा कम विद्यार्थी भर्ना हुनुले आकर्षण घट्न थालेको त होइन भनी आफूहरूलाई चिन्तित तुल्याएको बताउँदै भन्नुभयो, “विद्यार्थी भर्ना हुनुमा राज्यको नीतिगत त्रुटि कारकका रूपमा रहेको हुनुपर्दछ ।”

सरकारले गुणस्तरभन्दा पनि सङ्ख्यात्मक वृद्धिलाई जोड दिने नीतिले समस्या रहेको हुनसक्ने तर्क सीटीईभीटीका पदाधिकारीको छ । कक्षाकोठा, प्रयोगशाला, शैक्षिक सामग्री, आवश्यक उपकरणका साथै योग्य प्रशिक्षकमा ध्यान दिनेभन्दा प्राविधिक शिक्षालयको सङ्ख्या धमाधम थप्ने कार्य भइरहेको छ ।

सीटीईभीटी स्थापनाको २८ वर्षमा १९१ स्थानीय तहमा शिक्षण संस्था खुलेकोमा २०७४ सालमा सरकारले सबै स्थानीय तहमा कम्तीमा एउटा शिक्षण संस्था सञ्चालन गर्ने नीति लिएपछि एकै वर्षमा १०१ वटा स्थानीय तहमा विस्तार गरिएको छ । सरकारले ७० प्रतिशत जनशक्ति प्राविधिक शिक्षाको धारबाट उत्पादन गर्ने नीति लिएको छ ।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रले कक्षा ९–१२ मा पनि चारवटा विषयमा प्राविधिक शिक्षा सञ्चालन गर्दै आएको छ । त्यसका विद्यालय र सीटीईभीटीको सहित जोड्दा अब ५४१ स्थानीय तहमा मात्र प्राविधिक शिक्षाको पहुँच पुगेको छ ।

“स्थानीय तहमा प्राविधिक शिक्षालयको पहुँच पु¥याउने वा आवश्यकताका आधारमा विस्तार गर्ने भन्नेमा नीतिगत व्यवस्थापन हुनुपर्दछ” उहाँले भन्नुभयो, “गुणस्तर महŒवपूर्ण हो । कार्यस्थलको सिकाइभन्दा पनि प्रमाणपत्र चाहिएको छ । यो नै प्रमुख समस्या हो ।” सीटीईभीटीमा अध्ययन पूरा गरेकाहरूको रोजगारी दर ७५ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter