• Tuesday, June 10, 2025

कोरोनाको सङ्क्रमणका कारण भिसा अवधि थप्नेको भीड

रमेश पौडेल / पोखरा, चैत ७ गते । कोरोनाको सङ्क्रमणका कारण पोखरा आएका पर्यटक भिसा अवधि बढाएर पोखरामै बसाइ लम्बाउने गरेका छन् ।

नेपालबाट सीधा हवाई उडान रोकिँदा भारतको कलकत्ता, कतार, हङकङ भई आफ्नो देशमा जान सम्बन्धित देशले उडान रोकेका कारण पोखरामै बसाइ अवधि लम्बाएका हुन् ।

सिङ्गापुरबाट नेपाल घुम्न आएका सिरिल थोमस बेसाञ्जर ३० दिनअघि पोखरा आएका थिए । पोखरासहित लुम्बिनी, काठमाडौँका विभिन्न ठाउँ घुमिसकेको र अब फर्किने बेलामा कोरोना सङ्क्रमणले स्वदेश फर्किन नपाएकाले अन्नपूर्ण पदयात्रा गर्ने सोचका साथ बसाइ लम्बाएको बताउनुभयो । उहाँले सोका लागि पोखरास्थित अध्यागमन कार्यालयमा सोमबार भिसा थपका लागि आएको बताउनुभयो ।

अस्ट्रेलियन नागरिक हेरीले पनि कोरोनाको कारण देखाउँदै पोखरामै म्याद थप गरी बसेको बताउनुभयो । ३० दिनको भिसा लिएर आएका उहाँले भारत हुँदै नेपाल प्रवेश गरेको बताउनुभयो । हेरीले लुम्बिनी, पाल्पा, पोखरा, मुस्ताङसम्मको यात्रा गरिसकेको बताउनुभयो । थप केही दिनका लागि पोखरामै बस्ने समेत बताउनुभयो ।

यस्तै, पोखरा घुम्न आएका चिनियाँ पर्यटक पिङ कोन पिन पनि बसाइ लम्बाउँदै एबीसी ट्रेकमा जाने तयारीमा रहेको बताउनुभयो । उहाँले अध्यागमन कार्यालयमा भिसासमेत थप गरेको बताउनुभयो ।

उनीहरूसँगै पोखरा घुम्न आएका पर्यटकले अध्यागमन कार्यालयमा धमाधम भिसा थप्न थालेको कार्यालयका प्रमुख चेतराज आचार्यले बताउनुभयो । उहाँका अनुसार तेस्रो मुलुकबाट आउने पर्यटकबाट तीन÷चार दिनयता धमाधम भिसा थप भएको छ । गत वर्षको माघ र फागुन महिनामा कुल एक हजार ६६ जनाले भिसा थपेर बसाइ लम्बाएका थिए तर चालू आवको माघ र फागुनमा ९९४ जनाले भिसा थप गरेका छन् । गत वर्ष २०७५÷७६ मा सात हजार ४६४ जनाले भिसा थप गरेकोमा चालू आवको फागुन मसान्तसम्म कुल चार हजार ५५ जनाले भिसा थपेका छन् ।

चीनबाट फैलिएको कोरोना विश्वका अधिकांश मुलुकमा प्रवेश गरिसक्दा नेपाल भने हालसम्म सुरक्षित रहेको सरकारी अधिकारीले दाबी गरेका छन् । जसका कारण तेस्रो मुलुकबाट पोखरा घुम्न आएका पर्यटकले यहाँ सुरक्षित ठानी बसाइ लम्बाउने गरेका जनाएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter