• Wednesday, June 11, 2025

सुुरु भयो नियमित खोप

राजन रावत / हुम्ला, कात्तिक १४ गते । हिमालपारिको बस्ती लिमीका तीनवटै गाउँका बालबालिकाले पहिलो पटक सबै खालका खोप लगाउन पाएका छन् ।

यसअघि स्वास्थ्यकर्मी वर्षको एक पटक मात्र उपस्थिति हुँदा जनशक्ति अभावमा सबै खालका खोप नियमित लगाउन पाएका थिएनन् । सबै प्रकारका खोप लगाउन नपाएका बालबालिकाले चाहिने खोप लगाउन थालेपछि अभिभावक पनि खुसी हुन थालेका छन् । गाउँमा स्थायी रूपमा स्वास्थ्यकर्मी बस्न थालेपछि खोप लगाउने कार्य सम्भव भएको हो ।

एक बालककी आमा छिरिङ छोवो तामाङले आफ्नो छोराले पहिलो पटक गत असारमा खोप लगाउन पाएको बताउनुभयो । खोपसम्बन्धी कुनै जानकारी नपाएकी उहाँले सुरुमा स्वास्थ्यकर्मीलाई खोप लगाउन आउँदा दिन मान्नुभएको थिएन । पछि सबै कुरा बुझाएपछि उहाँ आफ्नो छोरालाई खोप लगाउन सहमत हुनुभयो ।

नेपाली राम्रोसँग नबुझ्ने तामाङले खटाएका स्वास्थ्यकर्मी स्वास्थ्य चौकीमा नबसेकै कारण छोराको खोप छुटेको बताउनुभयो ।

असारयता खोप लगाउन पाएका बालबालिका लिमीमा पहिलो खोप पाउने बालबालिका हुन् ।

लिमी स्वास्थ्य चौकीमा ११ महिनाकी छोरीलाई लिएर नियमित खोप लगाउन पुग्नुभएकी लिमी हल्जी गाउँकी जाङ्मु तामाङले राज्यबाट निःशुल्क रूपमा आउने सेवासुविधा पहिलो पटक उपभोग गर्न पाएको बताउनुभयो । यसअघि उहाँका तीन छोरा खोप नलगाईकन हुर्के । त्यति बेला उहाँलाई नियमित खोपका बारेमा जानकारी रहेनछ । थाहा भएपछि भने यसलाई नियमित गर्नेतर्फ आपूmहरूको सहयोग रहने उहाँले बताउनुभयो । गाउँका बालबालिकाले खोप लगाउन पाएपछि सिंहदबार गाउँ पुगेको विश्वास हुन थालेको तामाङले बताउनुभयो ।

हल्जी गाउँमा १९ जना बालबालिका खोप लगाउने उमेरका छन् ।

स्वास्थ्य चौकी इन्चार्ज गोर्ख भण्डारीले आफूले नियुक्ति पाएलगत्तै लिमीका गाउँमा आएर नियमित सेवा प्रवाहमा लागेको बताउनुभयो । लिमीका अन्य दुई गाउँ तिल र जाङमा भने नियमित खोप कार्यक्रमका बेला

चार घण्टा पैदल हिँडेर घरघरमा खोप लगाइदिन जाने गरेको उहाँले बताउनुभयो ।

तिलमा खोप लगाउने दुई बालबालिका र जाङ गाउँमा सात जना बालबालिका छन् । गाउँमा बालबालिका जति भए पनि खोप पाउनु बालबालिकाको अधिकार र खोप लगाउनु स्वास्थ्यकर्मीको दायित्व रहेको इन्चार्ज भण्डारीले बताउनुभयो ।

उहाँसहित चार स्वास्थ्यकर्मीको व्यवस्था गाउँपालिकाले गरेर लिमीमै नियमित बस्ने व्यवस्था गरेको छ । यसअघि बालबालिकाको खोपको त के कुरा; अन्य सिकिस्त बिरामी हुँदा पनि लामा बसाल्ने, चीनको ताक्लाकोट वा सदरमुकाम सिमकोटबाट परीक्षणबिनै दुखाइका आधारमा औषधि झिकाएर उपचार गर्नु सामान्यजस्तै थियो ।

नाम्खा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नरबहादुर भण्डारीले लिमीमा खोप कार्यक्रम पहिलो पटक नियमित भएको स्वीकार गर्नुभयो । अब यसलाई निरन्तरता दिन स्वास्थ्य शाखाले प्रयत्न गरिरहेको उहाँको भनाइ छ । लिमी बस्ने स्वास्थ्यकर्मीका लागि थप सुविधाको व्यवस्था गरेर बाह्रै महिना लिमी बस्ने व्यवस्था गर्नेतर्फ पहल भइरहेको उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter