• Friday, May 02, 2025

कोदारी राजमार्ग सञ्चालनमा, केही दिनभित्रै दुबै देशबीचको भन्सार नाका खुल्ने

(नारायण न्यौपाने)

काठमाडौँ, १६ असोज । सडक विभाग र स्थानीय प्रशासनको भगिरथ प्रयासपछि गत वैशाख महिनादेखि बन्द रहेको कोदारी राजमार्ग सञ्चालनमा आएको छ ।

सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीका अनुसार उक्त राजमार्गमा शुक्रबार साँझदेखि साना सवारीसाधन सञ्चालनमा आइसकेका छन् । आइतबारदेखि सो राजमार्गमा ठूला सवारीसाधन दोहोरो रुपमा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।

अब नेपाल–चीनबीचको मितेरी पुल अर्थात् तातोपानी भन्सार नाकासम्म यातायात साधन दोहोरो आवतजावत हुनेछ । यातायात सञ्चालन भएसँगै चीनबाट भित्रने सामानलाई काठमाडौँलगायत क्षेत्रमा पु¥याउन कुनै कठिनाइ नहुने बताइएको छ ।

सडक सञ्चालनमा आए पनि दुुई देशबीच वाणिज्य तहमा छलफल भएपछि मात्र लामो समयदेखि ठप्प भएका नाका सञ्चालन भई सामान आयातनिर्यात हुनेछन् । तर पूर्णरुपमा भन्सार नाका सञ्चालन हुन्छ भन्ने यकिन भएको छैन ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति हेर्ने उपसचिव शिवप्रसाद त्रिपाठीले ठूला सवारीसाधन निर्बाधरुपले सञ्चालन हुने सुनिश्चितता भएको दुई दिनभित्रै दुई देशबीचका भन्सार नाका सञ्चालन हुने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नाका सञ्चालनलगायत विषयमा मन्त्रालयद्वारा नेपालस्थित चिनियाँ राजदूतसँग निरन्तर संवाद भइरहेको र उहाँले यो विषयमा सहयोग गर्छौं भन्ने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ ।”

पहिरोका कारण भन्सार जाँचपासका लागि स्थानको अभाव भएको अवस्थामा तातोपानीका अतिरिक्त अन्य उपयुक्त स्थानमा पनि जाँचपासको व्यवस्था मिलाइने प्रतिबद्धतासमेत आइसकेको उपसचिव त्रिपाठीको भनाइ थियो ।

भारतीय पक्षबाट अघोषितरुपमा गरिँदै आएको नाकाबन्दीले मुलुकभर नै पेट्रोलियम पदार्थको अभाव भई बन्द व्यापार, उद्योगधन्दा, शिक्षण संस्था, यातायातलगायतका क्षेत्र चौपट भएको बेला लामो समयदेखि बन्द उत्तरको नाका खुलेसँगै केही राहत हुने अपेक्षा गरिएको छ ।

यसैबीच, साँघुरो सडकका कारण ठूला ट्याङ्कर ल्याउन नसकिए पनि चीनबाट सङ्कटको बेला पेट्रोलियम पदार्थ ल्याउन सम्भव रहेको व्यापारी बताउँछन् । सङ्कट परेको वेलामा विगतमा हवाई मार्गबाट समेत बङ्गलादेश र सिङ्गापुरबाट पनि तेल आयात गरिएको दृष्टान्त प्रस्तुत गर्दै उनीहरु चीनबाट पेट्रोलियम पदार्थ ल्याउन असम्भव हुँदैन भन्छन् । तर वार्ताको माध्यमबाट सीमा नाकामा देखिएको असहज परिस्थिति अन्त्य गरी भारतबाटै पेट्रोलियम पदार्थलगायत अत्यावश्यक सामग्री आयात गर्ने कार्यलाई हामीले प्राथमिकता दिनुपर्ने उहाँहरुको भनाइ थियो ।

यसैबीच, नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले २०४५ सालमा सङ्कटको अवस्थामा पनि १०० बुलेट ग्यास र पेट्रोलियम पदार्थ ल्याएको स्मरण गराउँदै सरकारले पहल गरेको खण्डमा असम्भव नहुने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–“पहिले सरकारले पहल गरोस् अनि कसरी ल्याउने, आउँछ कि आउँदैन भन्नेकुरा गरौँला ।”

सरकारले चिनियाँ राजदूत वू चुन्ताईसँग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थ आयात गर्ने सम्बन्धमा केन्द्रित रहेर छलफल भइरहेको र सकारात्मक वातावरण बन्दै गएको बताइएको छ ।

भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाले चीनबाट आयात हुने सामग्रीको भन्सार जाँचपासमा कुनै कठिनाइ नहुने व्यवस्था मिलाइएको भए पनि सामग्री कहिले आउँछ भन्ने प्रतीक्षामा रहेको बताउनुभयो ।

गत वैशाखमा गएको भूकम्पपछि नेपालले उक्त राजमार्गलाई सञ्चालनमा ल्याउन चीन सरकारसँग सहयोग मागेकोमा चिनियाँ जनमुक्ति सेनाले एकपटक त्यस क्षेत्रमा रहेको पहिरो हटाएका थिए । तर पटकपटकको धुले पहिरोका कारण सडक सञ्चालनमा आएको एक–दुई दिनमै अवरुद्ध बन्न पुगेको थियो ।

सडक विभागको प्रयासमा स्थानीय प्रशासन, सुरक्षा निकायको सहयोगले यो राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आएको हो । राजमार्ग खुलाउने सिलसिलामा सडक विभागले छवटा पहिरो हटाउने उपकरणको प्रयोग गरेको थियो । सो राजमार्ग भएर नेपालबाट चीनतर्फ घीउ, पीठो, खाद्यान्न, हस्तकला र छालाका सामानहरु निर्यात हुने गर्दछ भने चीनबाट नेपालतर्फ खासगरी तयारी पोसाक, फलफूल, विद्युतीय समग्री, छाता, मोबाइल, जुत्तालगायत आयात हुने गर्दछ ।

सो नाकाबाट सरकारले वार्षिक रुपमा ६ अर्बभन्दा बढी राजस्व सङ्कलन गर्दै आएको छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter