देशले दुई वर्षभित्रमा ऊर्जामा फड्को मार्ने : डा वाग्ले
राष्ट्रिय योजना आयोगका सदस्य डा स्वर्णिम वाग्लेले नेपालमा जलविद्युत् योजनाहरुको काम सरकारी र निजी क्षेत्रबाट धमाधम भइरहेकाले दुई वर्षभित्रमा नेपालले ऊर्जा क्षेत्रमा ठूलो फड्को मार्ने बताउनुभएको छ । उहाँले सरकारी र निजी क्षेत्र दुवैबाट ऊर्जा उत्पादनका लागि लगानी भइरहेकाले अब ऊर्जाकै कारण नेपालको भविष्य बन्ने भन्दै ऊर्जा विकासको काम निजी क्षेत्रले निकै राम्रोसँग गरेको बताउनुभयो । पञ्चायतकालयता ८०० मेगावाट विद्युत् थप भएकोमा अबको दुई वर्षमा १२ सय मेगावाट बिजुली थपिने कुरा पनि उहाँले बताउनुभयो । “अब निराश हुनुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो – “दुई वर्षपछि नेपाल एउटा समुन्नत राष्ट्र हुनेछ ।” उहाँका विचारमा निजी क्षेत्रले विशिष्टीकृत खालको उद्योगमा लगानी बढाउनु आवश्यक छ । उहाँले एउटै उद्योगबाट सबै काम गर्छु भनेर सोच्न नहुने बताउँदै एकअर्कामा परिपूरक भएर उत्पादन गरेमा धेरै सामान उत्पादन गर्न सकिने बताउनुभयो । कृषि, पर्यटन र सेवामूलक उद्योगका लागि लुम्बिनी क्षेत्र निकै राम्रो देखिएको समेत उहाँले बताउनुभयो ।रासस