बिरानो देशवाट दशैँको सम्झना

Dashain pingदशैँ नजिकिंदै गैरहेको छ ।तर, यस वर्ष अघिल्ला वर्षको जस्तो कहिले बसको टिकट किन्ने, कहिले घर जाने भन्ने चटारो छैन ।  यो परदेशबाट दशैँमा घर जान सम्भव छैन भन्ने कुरामा म लगभग स्पष्ट भैसकेको छ । नेपालीहरुको महान चाड जति जति नजिकिँदैछ, त्यति नै मनमा परदेशिनुको पीडा बल्झिरहेको छ ।

फेसबुकका बालभरी साथिभाइका घर पुगेका फोटा र स्टाटस पढ्दा म पनि आफूले मनाएका दशैँ सम्झदै एक्लो महसुस गर्दैछुँ । हुन त टेलीभिजन र इन्टरनेटको कारणले गर्दा चाडपर्व केवल औपचारिकतामा सीमित भैरहेको जस्तो लाग्दछ । तर, मलाई अहिले खलङ्गाको फने दाइको घर (फने दाइ हाम्रो बालिघरे कपडा सिलाउने दाइ हुनुहुन्थ्यो ) को झल्झलती याद आइरहेको छ किनकि जीवनका झण्डै १५–१६ वटा दशैमा फने दाइले या त हाम्रो घरमा आएर नयाँ कपडा सिलाइदिनुहुन्थ्यो नभए हामी उहाँको घरमा गएर कपडा सिलाएर ल्याउथ्यौ । अरु वेला १०–१५ मिनेट हिँड्न अप्ठेरो लाग्ने हामीलाई फने दाइको घर पुग्न पार गर्नुपर्ने करिव दुई घण्टाको उकालो केही लाग्दैनथ्यो  ।  हाम्रो झोलामा दशैमा लगाउने नयाँ कपडा हुन्थ्यो भने मनमा नयाँ कपडा लगाएर दशैँमा टिका लगाउन हिड्ने कल्पनाले गर्दा बाटो कटेको पत्तै पाइन्न थियो । फने दाइकोमा गएर  खाना खान नहुने भन्ने त्यतिबेलाको संस्कार । गाउँमा लुगा सिउने अरु पनि थिए । तर, फने दाइ र भाउजु आत्मीय व्यवहारले हामी एउटै परिवार जस्तै भइसकेका थियौँ । उहाँले रातभरी काम गरेर भए हामीलाई दशैमा कहिल्यै निराश बनाउनुभएन ।

नयाँ कपडा सिलाएर फने दाइले गोलबाट तात्ने  आइरन लगाएर हाम्रो हातमा राखिदिएको क्षण संसारै पाएजस्तो हुने । मलाई आज याद आइरहेको छ,  हाम्रो घर नजिकैको कालीका मन्दिरको जसमा हामी नवरात्रीको दिन पूजा गर्न जाने गथ्र्यौ र हाम्रा जमरा राम्रा कि अरुका जमरा राम्रा भनेर मनमनै प्रतियोगिता गर्ने गर्दथ्यौँ । अनि नजिकैको जालपाथानमा पूजा गर्न को जाने भनेर झगडा गर्ने गर्दथ्यौ. ।

दुर्गम जिल्ला भएकोले यातायातको व्यवस्था नभए पनि दशैँमा हाम्रो उत्साहलाई कसैले रोक्न सक्दैनथ्यो । दशैँको १५ दिने बिदा पश्चात् विद्यालय खोल्ने दिनमा सबैले नयाँ कपडा लाएर आउँदा कसको कपडा राम्रो भन्ने अघोषित प्रतिस्पर्धानै हुन्थ्यो । कसैको लुगा आफूलाई मन प¥यो भने अर्को दशैँमा त्यस्तै लुगा आफूले पनि हाल्ने कल्पना पनि गर्ने गर्दथ्यौँ । त्यसैगरी दशैँको बेलामा दक्षीणामा पाएको पैसा खर्च गर्न रौनक बैग्लै हुन्थ्यो  । शायद मध्यमवर्गीय परिवारको त्यतिबेलाको परिवेश नै त्यस्तै होला, दशैँमा कस्ले कति पैसा दक्षीणा दिन्छ  त्यसको मानभाउ अलि बढी नै हुन्थ्यो ।  दशैमा हामी पाँच भाइ बहिनीमध्ये कसले कति दक्षीणा पायो भन्ने कुराको प्रतिस्पर्धा नै हुन्थ्यो । धेरै पैसा पाउने आशामा एकपटक एकजना बाजे (हजुरबवा) ले दिएको पैसा फिर्ता गरेको घटना मेरो दिमागमा चलचित्रको पर्दामा दृश्य परिवर्तन भएको जस्तै भैरहेको छ । दक्षीणा पाउने ठाउँ भएकोले आफ्नो मामाघरको साथै आमाको मामाघर (बुढो मावली) सम्मको दुई घण्टाको पैदल दूरी पनि हामी सहजै पार गर्दथ्यौँ ।

गाउँघरमा मासु पसल हुँदैन थियो । गाउँमा जस्को घरमा खसि ल्याएको छ, उसकोमा काटेर बिला लगाएर लिनुपर्ने । पाँच किलो भनेर नाम लेखाएको छ भने अन्तिममा सबैलाई भाग लाउँदा मुश्किलले एक किलो भागमा पर्ने । अझ कहिलेकाँही त रित्तै फर्किएर फर्सी पकाएर खानुपर्ने बाध्यता हुन्थ्यो । कहिलेकाँहि त भोलि फलानोकोमा खसि काटने रे भनेर बिहानै उठेर आँखा मिच्दै जाँदा खसि काटेर मासु बाँडिसकेर खसि काटेको ठाउँ सफा गरिरहेको  भेटिएपछि अनि अब अर्को कसको घरमा खसि काटदैछन् भनेर खोज्दै हिँडनु पर्ने । अनि पैसा तिरेर मासु किन्न पनि  पहुँच चाहिने,  अहिले पेट्रोल लिनको लागी जोहो गरे जस्तै  ।

समय बदलिएको छ । अहिले फने दाइ हुनुहुन्न । उहाँको मृत्यु भएपछि हाम्रो घरमा बालीघरे प्रथामा  कपडा सिलाउने मान्छे छैनन् । यो प्रथा पनि समाप्त भइसकेको छ ।, अहिले पहिलेजस्तो मासुको लागि दुख गर्नु पर्दैन । अहिले मामाघर जान हिडनु पर्दैन, मोटरमा जान सकिन्छ ।  मेरो मनमा यस पटकको दशैँ नियास्रो लागि रहेको छ । मलाई अहिले पनि  दगुर्दै फने दाइको घर पुग्न, कालीका मन्दिर जान र दशैको टीका लगाउन दौडिँदै जाने इच्छा जाग्दो छ । दशैमा घरका जमरा कत्रा भए, अहिले बुवा, आमा के गर्दै  हुनुहुन्छ होला, भन्ने कल्पना गर्दै यस वर्षको दशैँ काममै बित्दैछ ।

 

मलाई फेसबुककका वालहरुले जिस्काइरहेको जस्तो लाग्छ । मैले अहिले कामको खोजीमा परदेशिएका ३०–४० लाख नेपालीहरुलाई सम्झिरहेको छुँ, जसले वर्षौदेखि दशैँ मनाउन पाएका छैनन् । र, दलालका कारण आफू विदेश आउनका लागि लिएको  ऋण तिर्न नसकी परिवारलाई एकसरो नयाँ कपडा किनिदिने भाखा प्रत्येक वर्ष सार्दैछन् । त्यसैगरी कतिपय भुकम्पपीडितले परिवारका सदस्य गुमाएको पीडामा गत वर्षको स्मरण गर्दै तथा कतिपयले नाकावन्दीका कारण चुलो चिसोनै राखेर दशै बिताउँदै होलान् । मलाई गत वर्ष तिहारमा घर जान नपाउँदा “कान्छा चाडपर्वमा जसरी भए पनि घरै आउनु है बा” भनेर आमाले भनेको र मैले हुन्छ भनेको फोन वार्ता अभै कानमा गुञ्जिरहेको छ । तर, के गर्नु मानिस समयको दास रहेछ र समयलेनै उसको चाहना पूरा हुने वा नहुने निर्धारण गर्दोरहेछ । हामी प्रविधिमा जति अगाडि भए पनि  चाडपर्वको महत्व कति हुँदोरहेछ भन्ने कुरा परिवार नभएको ठाउँमा एक्लै चाडपर्व मनाउँदा महसुस हुँदोरहेछ । यो वर्ष यसरी नै मनाए पनि  अर्को वर्ष परिवारसँग रमाइलो गर्दै दशैँ मनाउने कल्पना गर्दै सबैजनालाई परिवारसँग रमाइलो गर्नुहोस भन्ने विजयादशमीको शुभकामना ।

दुर्गा भवानीले सबैको मनोकामना पूरा गरून ।

(तपाइसंगपनि चाडपर्वसम्वन्धी रमाइला संस्मरण छन् भने editor@nepalekhabar.com मा शेयर गर्नुहोला)

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter