राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित

Bidhya

काठमाडौँ ११ कातिक । गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा नेकपा (एमाले) का उपाध्यक्ष विद्यादेवी भण्डारी निर्वाचित हुनुभएको छ ।
राष्ट्रपतिका लागि आज भएको निर्वाचनमा भण्डारीले ३२७ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका पूर्व महामन्त्री कूलबहादुर गुरुङले २१४ मत प्राप्त गर्नुभयो ।

सत्तारुढ गठबन्धनको समर्थनमा भण्डारी नेपालकै पहिलो महिला राष्ट्रपति हुनुभएको छ ।  मतगणना कार्य सकिएपछि बसेको व्यवस्थापिका–संसद्को बैठकमा सभामुख ओनसरी घर्तीले नेपालको संविधानको धारा २९७ को उपधारा (३) बमोजिम तथा संसद्को अन्तरिम कार्यविधि, २०७२ को दफा ३७ को उपदफा (१) बमोजिम भण्डारी विजयी भएको घोषणा गर्नुभयो ।

सभामुख घर्तीले राष्ट्रपतिमा निर्वाचित भएकामा संसद् र आफ्नो तर्फबाट भण्डारीलाई बधाई तथा शुभकामना दिनुभयो ।

गत असोज ३ गते संविधानसभाबाट जारी भएको नयाँ संविधानबमोजिम नयाँ राष्ट्रपतिको निर्वाचन भएको हो । उपराष्ट्रपतिको निर्वाचन यही कात्तिक १४ गते हुनेछ ।

नयाँबानेश्वरस्थित व्यवस्थापिका–संसद्को ल्होत्से हलमा बिहान ११ बजेबाट मतदान प्रक्रिया सुरु भई दिउँसो २ बजेसम्म चलेको थियो भने त्यसपछि गरिएको गणनाको परिणाम बैठक अघि सभामुखलाई हस्तान्तरण गरिएको थियो ।

संसद्मा हाल कायम रहेका ५९७ सांसदमध्ये मतदानमा ५४९ ले मतदानमा भाग लिनुभएको थियो । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका ३५ सांसदले निर्वाचनमा भाग लिएका थिएनन् । केही सांसद अनुस्थित भए भने ८ मत बदर भएको थियो ।

पहिलो महिला राष्ट्रपति भण्डारीको जीवनी

नेपालको लोकतान्त्रिक र वामपन्थी आन्दोलनका सशक्त तथा अग्रणी महिला नेत्री विद्यादेवी भण्डारी गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपति बन्न सफल हुनुभएको छ ।

नेकपा (एमाले) का उपाध्यक्ष तथा सभासद् रही संविधानसभाबाट संविधान लेखनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका भण्डारी राष्ट्राध्यक्ष जस्तो गरिमामय पदमा आज निर्वाचित हुनुभएको छ । उहाँ गणतन्त्र नेपालको दोस्रो तथा नयाँ संविधान जारी भएपछिको पहिलो महिला राष्ट्रपति हुनुहुन्छ ।

नवनिर्वाचित राष्ट्रपति भण्डारी नेपालको नीति निर्माण तहमा समेत उल्लेखनीय योगदान गर्नुभएका नेपाली राजनीतिमा स्थापित व्यक्तित्व हुनुहुन्छ ।  नेत्री भण्डारीको २०१८ असार ५ गते भोजपुर जिल्लाको मानेभञ्ज्याङमा बुबा रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेकी सुपुत्रीका रूपमा जन्मिनुभएको थियो । बाल्यकालमा बेहेरेश्वर प्राथमिक विद्यालय, भोजपुरबाट अध्ययन सुरु गर्नुभएका नेत्री भण्डारीले माध्यमिक शिक्षा विद्योदय व्यावसायिक सेकेन्डरी स्कुलबाट हासिल गर्नुभएको थियो ।

उहाँले भोजपुर क्याम्पस, भोजपुरमा आईए र महेन्द्र मोरड कलेज विराटनगरमा बिए अध्ययन गर्नुभएको थियो । भोजपुर क्याम्पसमा पढ्दा २०३५ सालमा तत्कालीन नेकपा (माले) सम्बद्ध युवा लीगमा सङ्गठित हुनुभई उहाँ २०३७ सालमा काठमाडौँमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको पाँचौ राष्ट्रिय सम्मेलनमा भोजपुर जिल्लाबाट प्रतिनिधि छानिनुभयो ।

उहाँले विसं २०३७ मा तत्कालीन नेकपा (माले) को सदस्यता प्राप्त गर्नुभएको थियो भने २०३६ देखि २०४४ सालसम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, पूर्वाञ्चलको सदस्य भई काम गर्नुभएको थियो ।

उहाँ २०३९ देखि २०४० सालसम्म महेन्द्र मोरड क्याम्पसको स्ववियु कोषाध्यक्षमा निर्वाचित हुनुभयो । विसं २०४६ सालमा कीर्तिपुरमा भएको अखिल नेपाल महिला सङ्घको पहिलो सम्मेलनमा मोरङको तर्फबाट उहाँ प्रतिनिधि हुनुभयो । त्यस्तै, उहाँ २०५० देखि २०५४ सालसम्म नेपाल ट्रेड युनियन महासङ्घ (जिफण्ट) को महिला विभाग प्रमुख पनि रहनुभयो ।

विसं २०५४ मा नेपालगञ्जमा भएको नेकपा (एमाले) को छैठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा उहाँ निर्वाचित हुनुभयो । विसं २०५४ मा अखिल नेपाल महिला सङ्घको अध्यक्षमा निर्वाचित भएर नेपाली महिला आन्दोलनको अगुवाइ गर्नुभएका उहाँ पछि दुई वटा सम्मेलनबाट सोही सङ्घको अध्यक्षमा निर्वाचित हुनुभयो ।

त्यसैगरी, उहाँ २०५९ सालमा जनकपुरमा भएको नेकपा (एमाले) को सातौं महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुनुभयो । उहाँ विसं २०६४ मा बुटवलमा भएको एमालेको आठौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित हुनुभयो भने २०७१ सालमा काठमाडौँमा भएको नेकपा (एमाले) को नवौं महाधिवेशनबाट पनि पुनः उपाध्यक्षमा निर्वाचित हुनुभयो ।

नवनिर्वाचित राष्ट्रपति भण्डारीको नेपाल कम्युनिष्ट पार्टीका संस्थापक जननेता मदन भण्डारीसँग पार्टीकै आयोजनामा २०३९ सालमा विवाह सम्पन्न भएको थियो । उहाँका दुई छोरी उषाकिरण र निशाकुशुम भण्डारी छन् । नेत्री भण्डारी विसं २०५० माघमा सम्पन्न भएको उपनिर्वाचनमा काठमाडौँ–१ बाट प्रतिनिधिसभा सदस्यमा अत्यधिक मतका साथ विजयी बन्नुभएको थियो । विसं २०५१ मा सम्पन्न मध्यावधि निर्वाचन तथा २०५६ सालमा सम्पन्न तेस्रो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ–२ बाट निर्वाचित भएर उहाँले नीति निर्माणमा सक्रिय भूमिका खेल्नुभएको थियो ।

पुनःस्थापित प्रतिनिधिसभामा राज्यका हरेक अङ्गमा न्यूनतम एक तिहाई महिला सहभागिता सुनिश्चित हुनुपर्छ भन्ने सङ्कल्प प्रस्तावका प्रस्तावक समेत उहाँ हुनुहुन्थ्यो ।

एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकार हुँदा उहाँले २०६७ देखि २०६९ सम्म रक्षा मन्त्रालयजस्तो चुनौतीपूर्ण जिम्मेवारी बहन गर्नुभयो । राजनीतिक यात्राका क्रममा उहाँले भारत, चीन, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, ब्राजिल, अमेरिका, क्यानाडा र इटालीको भ्रमण गर्नुभएको छ ।

“नेपालको संविधान एवम् विधि निर्माणमा महत्वपूर्ण भूमिका खेल्नु भएका नेत्री भण्डारी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बन्नुभएको छ, राष्ट्राध्यक्ष जस्तो गरिमामय पदका लागि एकदमै उपयुक्त उम्मेदवार छनोट भएको पार्टीको विश्वास छ” – एमाले सविच प्रदीपकुमार ज्ञवालीले भन्नुभयो । एमालेको यही कात्तिक ९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले भण्डारीलाई राष्ट्रपतिमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो । उहाँलाई उम्मेदवार बनाउने प्रस्ताव प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राख्नुभएको थियो भने वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालले समर्थन जनाउनुभएको थियो । रासस

 

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter