• Friday, May 02, 2025

२०७२ साल शून्य गैँडा चोरी सिकार वर्ष

Rhino imageनारायण अधिकारी / चितवन, १ वैशाख । सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३८ वटासम्म गैँडा चोरी सिकारीले मारेपछि बनाइएको संरक्षण रणनीतिको प्रभावस्वरुप २०७२ साल शून्य एकसिङ्गे गैँडा सिकार वर्ष भएको छ । विसं २०७१ को वैशाख १९ गते राष्ट्रिय निकुञ्जको ध्रुव पोष्ट क्षेत्रमा पछिल्लो पटक सिकारीले एउटा गैँडा मारेका थिए ।

त्यसयता कालगतिले बाहेक गैँडा नमारिएको निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताउनुभयो । सन् २०१० यता तीनवटा गैँडा मात्र चोरी सिकारीले मारेका छन् । आउँदो वैशाख १९ गतेसम्म सिकारीबाट गैँडा जोगाउन सकेमा निकुञ्जले दुई वर्ष शून्य सिकार वर्षका रुपमा मनाउने अवसर पाउनेछ ।

शून्य चोरी सिकारी वर्ष हुनु गैँडा संरक्षणका क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो । सन् २०१० अघि ठूलो सङ्ख्यामा गैँडा चोरी सिकारीबाट मारिएपछि निकुञ्ज विश्व सम्पदा सूचीमा रहेकाले विदेशमा र नेपाल सरकारको पनि गम्भीर ध्यानाकर्षण भएको थियो । त्यसलगत्तै राष्ट्र्रिय निकुञ्ज विभागले चोरी सिकार नियन्त्रणका लागि महत्वपूर्ण रणनीति तयार गरेको थियो ।

निकुञ्ज प्रशासन र नेपाली सेनाले निर्माण गरेको चोरी सिकार नियन्त्रण रणनीति सफल हुनु, समुदायस्तरमा मध्यवर्तीका बासिन्दा र युवाको स्वतस्फूर्त जागरण हुनु, कानुन कार्यान्वयन हुनु, विभिन्न सङ्घसंस्था सकारात्मक ढङ्गबाट चोरी सिकार नियन्त्रण अभियानमा जुटेकै कारण दुर्लभ वन्यजन्तु गैँडासहितका जनावर चोरी सिकारीबाट बचाउन सफल भएको सहायक संरक्षण अधिकृत अर्यालले बताउनुभयो ।

गत वर्ष चोरी सिकारमा संलग्न राजकुमार प्रजाबाहेक कहलिएका अन्य कुनै व्यक्ति पक्राउ परेका छैनन् । अर्यालका अनुसार २० भन्दा बढी गैँडा मारेको अभियोगमा गत असोजमा प्रजा पक्राउ परेका हुन् ।

सन् २०१५ को गणनाअनुसार नेपालका चारवटा निकुञ्ज र आरक्षमा गरी ६४५ वटा एकसिङ्गे गैँडा रहेका छन् जसमध्ये सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६०५ गैँडा रहेकामा हालै मात्र पाँच वटा बर्दिया राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको छ । अब बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडाको सङ्ख्या ३४ पुगेको छ भने शुक्लाफाँटा वन्यजन्तु आरक्षमा आठ र पर्सा वन्यजन्तु आरक्षमा तीनवटा गैँडा रहेका छन् ।

वन्यजन्तु सप्ताह सुरु

वन्यजन्तु सप्ताह २०७३ आजदेखि विभिन्न कार्यक्रमसहित सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा एक कार्यक्रमकाबीच निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल, निकुञ्ज सुरक्षार्थ रहेको श्रीजङ्ग गणका गणपति माधव थापा र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर थापा मल्लले झण्डोत्तोलन गरेर सप्ताहको सुभारम्भ गर्नुभयो ।

यसै अवसरमा शुभकामना आदान प्रदान र वन्यजन्तुको महत्वका विषयमा कसरामा चर्चा गरिनेछ । सप्ताहअन्तर्गत वन डढेलोसम्बन्धी अन्तक्र्रिया, जनचेतनामूलक संरक्षण कार्यक्रम, विद्यालयमा संरक्षण शिक्षासम्बन्धी कार्यक्रम, राप्ती नदीको सरसफाइ, ‘बाघ, गैँडा संरक्षण युवा भलिबल प्रतियोगिता’लगायतका कार्यक्रम हुने निकुञ्जका सहायक संरक्षण अधिकृत अर्यालले बताउनुभयो ।

गौरीगाई गणना सोमबारदेखि

वन्यजन्तु सप्ताहकै अवसरमा चितवन राष्ट्रिय निकुञ्चमा यही वैशाख ६ गतेदेखि गौरीगाई गणना सुरु गरिने भएको छ जसका लागि २४ वटा हात्तीसहित १३० जना परिचालन हुने सहायक संरक्षण अधिकृत अर्यालले बताउनुभयो । निकुञ्जको आन्तरिक बजेटबाट रु चार लाख खर्च गरी गौरीगाई गणना गरिनेछ । तीन दिनमा गणना सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । विगत नौ वर्षदेखि गौरीगाईको गणना भएको थिएन ।

सहायक संरक्षण अधिकृत अर्यालका अनुसार सन् २००७ मा चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षमा मात्र गौरीगाईको गणना गरिएको थियो । त्यतिबेला चितवन राष्ट्रिय निकुञ्जमा ३१२ र पर्सा वन्यजन्तु आरक्षमा २१ वटा गौरीगाई भेटिएका थिए ।

सन् २०११ मा पर्सा वन्यजन्तु आरक्षमा विद्यार्थीले अध्ययनका क्रममा गणना गर्दा ३० वटा गौरीगाई फेला परेको प्रतिवेदन बुझाएका थिए । चितवन राष्ट्रिय निकुञ्जभित्र गस्तीका क्रममा गौरीगाई जम्काभेट हुने क्रम बढेका कारण कूल सङ्ख्यामा वृद्धि भएको अनुमान गरिएको निकुञ्जका प्रवक्तासमेत रहनुभएका अर्यालले बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घको इन्टरनेसनल युनियन फर नेचर कन्जरभेसनले दुर्लभ जातिको सूचीमा गौरीगाईलाई राखेको छ । कसराको पूर्वी क्षेत्रको गौर मचानदेखि सुनाचुरी क्षेत्रका साथै टाइगर टप्स र टेम्पल टाइगर क्षेत्रमा बढी मात्रामा गौरीगाई देखिने गर्छ । चोरी सिकारीको समस्या त्यति धेरै नदेखिने भए पनि बाघले बच्चा खाइदिने समस्याका कारण गौरीगाईको सङ्ख्या वृद्धिमा प्रभाव पर्दै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter