• Thursday, May 01, 2025

सुनौला एक हजार दिनको जनजागरण अभियानमा नेपाल, गिरी र निरौला

Sunaula Hajar Dinकाठमाडौँ, ४ जेठ । ‘सुनौला एक हजार दिनको जनजागरण अभियान’का प्रवद्र्धकमा हास्य कलाकारत्रय जितु नेपाल, दीपकराज गिरी र दीपाश्री निरौला नियुक्त हुनुभएको छ ।

गर्भधारण भएदेखि शिशु दुई वर्षको समयावधि (एक हजार दिन)मा गर्भवती तथा तिनका अभिभावकलाई पोषणको महत्व, जानकारी तथा व्यवहार परिवर्तन गर्न नेपाल सरकार अन्तर्गतका विभिन्न मन्त्रालयले बहुक्षेत्रीय पोषण योजनालाई थप कार्यान्वयन गर्ने क्रममा सो अभियान सुरु गरेका हुन् । यसअघि सो अभियान अन्तर्गत पोषण तथा खाद्य सुरक्षाका राष्ट्रिय दूतका रुपमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का चयन भइसक्नुभएको छ ।

राष्ट्रिय योजना आयोग, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रबाट संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)को आर्थिक एवम् प्राविधिक सहयोगमा आज यहाँ आयोजित कार्यक्रममा योजना आयोगका सदस्य प्रा डा गीतभक्त जोशी र ती कलाकारका बीच प्रवद्र्धनसम्बन्धी द्विपक्षीय समझदारी भएको थियो ।

कलाकार गिरी र निरौलाले ‘तीतो सत्य’ र कलाकार नेपाल ‘जिरे खुर्सानी’ नामक हास्य कार्यक्रम मार्फत दर्शकको मन जित्दै आउनुभएको थियो । हाल ती कार्यक्रम बन्द अवस्थामा छन् । अब ती कलाकारले संयुक्त रुपमा सो अभियानलाई केन्द्रबिन्दु बनाई छिट्टै नयाँ टेलिसिरियल दर्शकसामु ल्याउने छन् । नयाँ कार्यक्रममा ८० प्रतिशत मनोरञ्जन र बाँकी सन्देश हुने जनाइएको छ ।

नेपाल पनि धेरै शिशु कुपोषित हुने दक्षिण एसियाका देशभित्र पर्छ । युनिसेफका अनुसार हाल नेपालमा १३ लाख बालबालिका कुनै न कुनै रुपमा कुपोषित छन् । जन्मिने बालबालिकालाई कुषोषणरहित बनाउन युनिसेफले सञ्चालन गरिरहेको सो अभियानमा ५७ देश आबद्ध छन् ।

सो अवसरमा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले स्वस्थ्य र समृद्ध परिवार एवं समाज तथा सिङ्गो देश निर्माण गर्ने ‘सुनौला एक हजार दिन जनजागरण अभियान’ बारेमा प्राथमिकता र महत्व दिन सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो ।

उहाँले बहुक्षेत्रीय पोषण योजनाले गर्भवती एवं तिनबाट जन्मिने शिशुको पोषण तथा आहारमा विशेष ध्यान दिएको हुँदा पोषणको महत्वलाई घर घरमा पु¥याउन सबैसित आग्रह गर्नुभयो ।

योजना आयोगका सदस्य प्रा डा जोशीले गर्भवती र दुई वर्षभित्रका शिशुलाई थप पोषणयुक्त खानाको आवश्यकता पर्ने हुँदा सुनौला एक हजार अभियानले यसलाई विशेष रुपमा समुदाय तथा घर घरमा पु¥याउने काम गर्ने छ भन्नुभयो ।

नेपालस्थित युनिसेफका प्रतिनिधि टोमोहो जुमीले गर्भवती र तिनबाट जन्मिने शिशुलाई थप पोषणको आवश्यकता हुने भएकाले यसका बारेमा समुदायलाई सुसूचित गराउन अभियानमा युनिसेफले सहयोग गरेको जानकारी दिनुभयो ।

योजना आयोगका सहसचिव मधुकुमार मरासिनीले समाजका हरेक क्षेत्रले अभियानका बारेमा पैरवी गर्न आवश्यक रहेको बताउनुभयो ।

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागका अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्तीले गर्भावस्थादेखि दुई वर्षसम्मभित्र शिशुको ८० प्रतिशत बौद्धिक विकास हुने बताउनुभयो ।

अभियानका राष्ट्रिय दूत पारस खड्काले पोषणको महत्वका बारेमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “बच्चामा म धेरै फुल खान्थँे, प्रोटिन धेरै भएर होला, अग्लो भएँ । अहिले बुझ्दै छु पोषणको महत्वका बारेमा ।”

प्रवद्र्धक गिरीले अभियानका बारेमा दर्शकको रोजाइ अनुसार नयाँ कार्यक्रम लिएर दर्शकसामु आउने जानकारी दिँदै भन्नुभयो – “बच्चालाई तीतो औषधि मन पर्दैन, यसमा गुलियो मिलाएर खुवाउँदा मन पराउँछन्, दर्शक यस्तै हुन् ।” सो अवसरमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको समेत उपस्थिति थियो ।

यसैबीच युनिसेफले अभियानको ढाँचा, संरचना, सञ्चार रणनीति र क्रियाकिलापका बारेमा जिल्ला जनस्वास्थ्यका पोषण र स्वास्थ्य शिक्षा हेर्ने अधिकृतलाई अभिमुखीकरण दिएको छ । सो अभिमुखीकरणमा १६ जिल्लाका अधिकृतको सहभागिता थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter