सदाबहार पर्यटन : भौतिक पूर्वाधार र गन्तव्य प्रवद्र्धन जरुरी

tourists-visiting-Nepalरमेश लम्साल / सिबी अधिकारी काठमाडौँ, १० साउन । वर्षमा चार÷पाँच महिना मात्रै चल्ने मुलुकको पर्यटन उद्योगलाई बाह्रै महिना सञ्चालन गर्न सकिए उल्लेख्य मात्रामा राजस्व सङ्कलन तथा रोजगारीको अवसर सिर्जना हुने देखिएको छ ।

नेपालमा विशेषगरी फागुन, चैत, वैशाख, असोज, कात्तिक, मङ्सिर महिनामा मात्रै पर्यटन उद्योग चल्ने गरेको पाइन्छ । अन्य समयमा भने अवस्था सामान्य रहन्छ । उद्योगलाई बाह्रै महिना सञ्चालन गर्ने लक्ष्यका साथ सरकारले दश वर्षे रणनीतिक योजना अगाडि सारेको छ । तर सो योजना कार्यान्वयन गर्न एकाध वर्ष लाग्ने भएकाले वर्षभरि नै पर्यटक भित्र्याउन विशेष पहल गर्नुपर्ने देखिन्छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्याङ्क, २०१५’ ले मुलुकको पर्यटन क्षेत्र एकाध महिना मात्रै चल्ने गरेको देखाएको छ । कम समय मात्रै उद्योग चल्दा पनि मुलुकले करिब रु ६० अर्बबराबरको आम्दानी गरिरहेको छ । भौतिक पूर्वाधार निर्माण, प्रचार प्रसार, नीतिगत तथा कानुनी सहजता, व्यवसायमैत्री वातावरण बनाउन सकिएको खण्डमा न्यूनतम् रु दुई खर्ब ४० अर्बको कारोबार हुन सक्ने देखिन्छ ।

मन्त्रालयका अनुसार सन् २०१५ मा मात्रै रु ४९ अर्ब ७८ करोड ३८ लाख ४० हजार आम्दानी गर्न सफल भएको छ । तथ्याङ्कअनुसार आव २०५७÷५८ देखि आव २०६३÷६४ सम्म सुस्ताएको पर्यटन व्यवसाय पछिल्लो समय गुणात्मक रुपमा अगाडि बढेको देखिन्छ ।

आव २०७१÷७२ मा सबैभन्दा बढी रु ५३ अर्ब ४२ करोड ८८ लाख आम्दानी गरेको देखिन्छ । आव २०५७÷५८ मा रु एघार अर्ब ९६ लाख आम्दानी गर्ने पर्यटन उद्योग पछिल्लो समयमा व्यापक र विस्तृत बन्दै गएको छ । निजी क्षेत्रले पनि उल्लेख्य मात्रामा लगानी गर्दै आएको छ ।

पर्यटकले नेपालमा रहँदा ६८.५७ अमेरिकी डलर खर्च गर्ने गरेको पाइएको छ । औसतमा १३ दिन नेपालमा बस्ने पर्यटकको बसाइ अवधिसमेत लम्ब्याउनु जरुरी देखिन्छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राई एकाध महिना मात्रै चल्ने पर्यटकीय गतिविधिलाई बाहै्र महिना चल्ने बनाउन सरकारले रणनीतिक योजना अगाडि सारेको बताउनुहुन्छ । चालु वर्षलाई घुमफिर वर्षका रुपमा घोषणा गरेर गतिविधि बढाएको जानकारी दिँदै उहाँले वर्षभरि नै पर्यटकीय गतिविधि नभएका कारण संयन्त्र बनाएर अगाडि बढ्ने सोचमा सरकार रहेको बताउनुभयो ।

‘‘पूर्वाधार विकास, पर्यटकीय गतिविधिको विस्तार, नयाँ गन्तव्यको खोजी लगायतका काममा विशेष जोड दिनु आवश्यक छ,’’ उहाँले भन्नुभयो । सरकारले चालु आवका लागि रु २५ अर्ब बजेट विनियोजन गरेको छ । सात प्रदेशलाई केन्द्रमा राखेर पर्यटकीय क्षेत्रको खोजी गर्ने सरकारको लक्ष्य रहेको छ ।

पर्यटन व्यवसायीको छाता सङ्गठन टे«किङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्र रिजाल सदाबहार पर्यटकीय गतिविधि बढाउन नयाँ पर्यटन क्षेत्रको खोजी, पर्यटन प्याकेज, मौसमी पर्यटनको विकास गर्नुपर्ने बताउनुहुन्छ । अन्य मुलुकमा वर्षभरी नै चल्ने पर्यटन उद्योग नेपालजस्तो प्राकृतिक स्रोत र साधन भएको मुलुकमा पनि चलाउन सकिने जानकारी दिदै उहाँले पर्यटकको बसाइ लम्ब्याउने र गुणस्तरीय पर्यटनको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य राजेन्द्र सापकोटा हवाई सम्पर्क सञ्जालको विकास, पर्यटकीय पूर्वाधारको विकास एवम् विस्तार, फरक पर्यटकीय क्षेत्रको खोज तथा प्रचार गर्न सके नेपालमा जुनसुकै समयमा पनि पर्यटक भित्र्याउन सकिने बताउनुहुन्छ । सहज यातायात सञ्जाल, गुणस्तरीय होटल तथा रेस्टुराँको विकास, घरबास कार्यक्रमको विस्तार, त्यसका लागि नागरिक तहमा लगानी एवम् सचेतना बढाउनु पनि जरुरी देखिँदै आएको छ ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डे सदाबहार रुपमा नै नेपालको पर्यटन उद्योगलाई अगाडि बढाउन चाडपर्व, धर्म, संस्कृति, परम्परालाई पनि जोडेर पर्यटकीय गतिविधि बढाउनुपर्ने बताउनुहुन्छ । ‘‘नेपाल १२ महिना नै पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने हावापानी भएको मुलुक हो, यो सुखद पक्षलाई हामीले अवसरका रुपमा सदुपयोग गर्नुपर्छ । त्यसका लागि सरकार, निजी क्षेत्र दुवैको महत्वपूर्ण योगदान हुनुपर्दछ’’, उहाँले भन्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter