• Friday, May 02, 2025

‘पर्यटक नियमन नीति आवश्यक’

tourists-visiting-Nepalकाठमाडौँ, ४ भदौ । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको नियामक निकायले प्रभावकारी अनुगमन नगर्दा विभिन्न विकृति बढेको सरोकारवालाले औँल्याएका छन् ।

पर्यटन मञ्च नेपालले आज यहाँ आयोजना गरेको ‘सामाजिक पर्यटनः चुनौती र असरहरु’ विषयको अन्तरक्रियाका वक्ताले अध्यागमन नीतिको अभाव तथा नियामक निकायको लापरबाहीका कारण कतिपय पर्यटक विभिन्न धन्दामा समेत सक्रिय हुने गरेको बताए ।

साथै पर्यटक प्रवेशाज्ञा (भिसा) मा नेपाल आई विभिन्न अवैध धन्दामा संलग्न हुने गरेको भन्दै उनीहरुलाई कडाइ गर्न अध्यागमनसम्बन्धी नीति बनाई प्रभावकारी नियमन तथा अनुगमन गरिनुपर्ने खाँचो वक्ताहरुको थियो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईले पर्यटकलाई अनुगमन गर्ने कानुन भए पनि उनीहरुका गतिविधिलाई सरोकारवाला निकायले प्रभावकारी अनुगमन नगर्दा विकृति बढेको बताउनुभयो । “अहिले भएका पर्यटकलाई कसरी सभ्य बनाउने भन्ने विषय चुनौतीपूर्ण छ, विभिन्न बहानामा पर्यटक आउँछन् तिनका गतिविधि के छन् भनेर सरोकारवाला निकायले अनुगमन गर्दैन, अनुगमन गर्ने कानुन छ, तर कार्यान्वयन भएको छैन”–उहाँले भन्नुभयो ।

अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले नेपालको फितलो कानुनको फाइदा उठाउँदै कतिपय विदेशी पर्यटक आफ्नो स्वार्थ अनुकूलको गतिविधिमा लागेको उल्लेख गर्नुभयो । उहाँले अध्यागमनसम्बन्धी कानुन कमजोर भएकाले विभिन्न बहानामा नेपाल आउने पर्यटक धेरै विकृति, विसङ्गति र आपराधिक गतिविधिमा संलग्न रहेको भन्दै नीतिगत रुपमा कडाइ गरिनुपर्नेमा जोड दिनुभयो ।

पर्यटक विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले अवैधरुपमा भित्र्ने विदेशी पर्यटकलाई नियन्त्रण र नियमन गर्न आचारसंहिता बनाई भिसा प्रक्रियामा कडाइ गरिनुपर्ने बताउनुभयो ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्र रिजालले पर्यटक कति आउँछन्, कता जान्छन् र के गर्दैछन् भन्ने सम्बन्धित निकायले विवरण राख्न नसकेको बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, बोर्ड सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटा र होटल एसोसिएसन अफ नेपाल (हान) का महासचिव विनायक शाहले छद्मवेशी पर्यटक विभिन्न बहानामा भित्रिने गरेका भन्दै उनीहरुलाई कडाइ गरिनुपर्ने बताउनुभयो ।

मञ्चका अध्यक्ष मनोज गिरीले सामाजिक पर्यटनसम्बन्धी कानुन बनाई कडाइका साथ लागू गरिनुपर्नेमा जोड दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter