• Friday, May 02, 2025

दश प्रतिशतको मुद्रास्फीति

Nepal Rastra Bankकाठमाडौँ, १० भदौ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७२÷७३ को वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ९.९ प्रतिशत रहेको जनाएको छ । तराई आन्दोलन, सीमा–नाका अवरोध र आपूर्ति असहजताजस्ता प्रतिकूल परिस्थितिका कारण मूल्यमा चाप परेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले आज जारी गरेको प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा २०७३ असार महिनामा उपभोक्ता मुद्रास्फीति १०.४ प्रतिशत रहेको छ । गत वर्ष यस्तो मुद्रास्फीति ७.२ प्रतिशत रहेको थियो ।

समीक्षा वर्षमा दलहन तथा गेडागुडी, घ्यू तथा तेल, लत्ताकपडा तथा जुत्ता, मसला, घरायसी सामान तथा सेवाको मूल्य वृद्धिदर उच्च रहेकाले समग्र उपभोक्ता मुद्रास्फीतिमा चाप पर्न गएको राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

समीक्षा वर्षमा खाद्य तथा पेय पदार्थ समूह र गैरखाद्य तथा सेवा समूहको औसत मूल्य वृद्धिदर क्रमशः १०.९ प्रतिशत र ९.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षमा यी समूहका औसत मूल्य वृद्धिदर क्रमशः ९.६ प्रतिशत र ५.२ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७२÷७३ मा कुल वस्तु निर्यात १७.८ प्रतिशतले ह्रास आई रु ७० अर्ब १२ करोडमा सीमित भएको छ । अघिल्लो वर्ष यस्तो निर्यात ७.३ प्रतिशतले घटेको थियो । भारततर्फ २९.३ प्रतिशत र चीनतर्फ २४.६ प्रतिशतले कमी आएको निर्यात अन्य मुलुकतर्फ भने ६.३ प्रतिशतले बढेको छ । समीक्षा वर्षमा कुल वस्तु निर्यातको कुल गार्हस्थ उत्पादनसँगको अनुपात ३.१ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।

सो अवधिमा विप्रेषण आप्रवाह ७.७ प्रतिशतले वृद्धि भई रु ६६५ अर्ब छ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह १३.६ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा वर्षमा विप्रेषण आप्रवाहको कुल गार्हस्थ उत्पादनसँगको अनुपात २९.६ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७२÷७३ मा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च ११.९ प्रतिशतले वृद्धि भई रु ५६९ अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्ष कुल सरकारी खर्च २२ प्रतिशतले वृद्धि भई रु ५०९ अर्ब २१ करोड पुगेको थियो ।

नेप्से सूचकाङ्क २०७३ असार मसान्तमा एक हजार ७१८.२ बिन्दुमा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा सूचकाङ्क ९६१.२ बिन्दु रहेको थियो । बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गरिने नीति अगाडि सारिएको, २०७२ माघदेखि कागजरहित सेयर (डिम्याट) प्रणालीबाट मात्र कारोबार भएको तथा लगानीकर्तामा राजनीतिक सङ्क्रमण अन्त्य हुने अपेक्षा बढ्दै गएका कारण सेयर बजार परिसूचक उच्चदरमा बढेको राष्ट्र बैंकले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter