सुधारिएको इँटा भट्टातर्फ आकर्षण बढ्दो (आलेख)

brickकृष्ण अधिकारी / भक्तपुर, २१ मङ्सिर । भूकम्पपछि पुनःनिर्माण गरिएका इन्जिनियरिङ डिजाइनमा आधारित फिक्स्ड चिम्नी प्रविधिबाट एक वर्षमै राम्रो प्रतिफल प्राप्त भएपछि यहाँका इँटा उद्योगीहरू उत्साहित भएका छन् । सुधारिएको इँटा भट्टामा कम कोइला खपत भई गुणस्तरीय इँटा उत्पादन हुने भएकाले उनीहरू यसतर्फ आकर्षित भएका हुन् ।

विसं २०६१ देखि इँटा भट्टा सञ्चालन गर्दै आउनुभएका ताथली–९ का राजकुमार लाखेमरुले आफ्नो भट्टालाई सुधारिएको फोर्स ड्राफ्ट प्रविधिमा रुपान्तरित गरेपछि इन्धनमा बचत, छोटो अवधिमै धेरै र स्तरीय इँटा उत्पादन भएको बताउनुहुन्छ । पहिले सात महिनामा ६०÷६५ लाख इँटा उत्पादन हुने गरेकामा अहिले चार महिनामै ८०÷९० लाख इँटा उत्पादन भएको उहाँको भनाइ छ । उहाँको श्वेतभैरव फिक्स्ड चिम्नी इँटा उद्योगबाट पहिले ३० प्रतिशत पनि राम्रो इँटा निस्कन मुस्किल हुनेमा अहिले ९५ प्रतिशतसम्म गुणस्तरीय इँटा निस्कने गरेकाबाट सन्तुष्ट उहाँ अरुलाई पनि सुधारका लागि सुझाव दिनुहुन्छ ।

इँटा पोल्न प्रयोग हुने कोइलाको खपत पनि २५–३० प्रतिशतले बचत भएको छ । कोइलाको खपत कम हुँदा आर्थिक लाभका साथै वातावरण प्रदूषणमा कमी आएको छ । एक याममा उहाँलाई झण्डै ७०० टन कोइला जरुरत पर्नेमा अहिले ५०० टन भए पुग्छ । एक टन कोइला खरिद गर्न रु ३० हजार खर्च लाग्दछ । भूकम्पले भट्टामा क्षति पुगेपछि उहाँले १२ करोड रुपैयाँ लगानी गरेर आधुनिक भट्टा निर्माण गर्नुभएको थियो । “सुरुमा यति धेरै लगानी गर्दा कतिको प्रतिफल आउने हो भन्ने आशङ्का थियो,” उहाँ भन्नुहुन्छ – “अहिले एक वर्षमा भएको प्रतिफल हेर्दा दुई÷तीन वर्षमै लगानी उठ्ने देखेको छु ।”

सरकारी मापदण्ड ५७ फिट रहेपनि इन्जिनियरिङ डिजाइनअनुसार पूरै कङ्क्रिट ढलान गरी बनाइएको उहाँको भट्टाको चिम्नी ६५ फिट अग्लो छ र चिम्नीबाट निस्कने धुवाँलाई प्रशोधन गरेर मात्रै बाहिर निष्काशन गर्ने प्रविधिमा जोड दिइएको छ ।

यसले गर्दा उहाँको भट्टाबाट अन्य भट्टाबाट जस्तो धुवाँको कालो मुस्लो निस्कँदैन । सामान्य सेतो वाफ मात्रै निस्कने भएकाले वरपरको वातावरण प्रदूषित छैन । यसमा एक त कोइलाको खपत नै कम लाग्दछ भने कोइलालाई पनि राम्ररी बल्न दिन विशेष ध्यान दिइएको छ । पहिले तीन÷चारजना मजदूरले एकैपटक कोइला राख्दा राम्ररी बल्न नपाउने हुँदा सिधै धुवाँ मुस्लोको रुपमा बाहिर निस्कन्थ्यो । यसो हुन नदिन यस भट्टामा कोइलालाई धुलो बनाएर एकपटकमा चार÷पाँच सय ग्राम हाल्ने र आगोलाई छिर्कामिर्का गरी भित्र पठाइने भएकाले कोइला राम्ररी बल्न पाउने र इँटा पनि राम्ररी पोलिने गर्दछ ।

धुवाँलाई पनि चिम्नीभित्रै पानीको ट्याँकीमा मिसाएर निस्कन दिने र त्यसलाई पनि सफा पानी छकर्ने हुँदा धुलाका कणहरु चिम्नीबाट वाहिर निस्कन पाउँदैन । कार्बनयुक्त पानीलाई भट्टाबाहिर पोखरीमा जमाएर शुद्धीकरण गरी अन्य प्रयोजनमा ल्याउने गरिएको राजकुमार बताउनुहुन्छ । भूकम्पीय जोखिमबाट मुक्त यस भट्टा वातावरणसँगै मजदूरमैत्री पनि रहेको छ ।

दुई वर्षअघिसम्म दिनहुँ भट्टाबाट निस्कने कालो धुवाँको मुस्लोले वातावरणमा परेको असरबाट चिन्तित बनेका स्थानीय बासिन्दाले अहिले निकै राहतको अनुभव गर्न थालेका छन् । भट्टा वरपर तरकारी तथा अन्य अन्नबाली पनि राम्रो नहुने समस्याबाट चिन्तित स्थानीय किसानहरुले पनि अहिले राहतको अनुभव गर्न थालेका छन् ।

“पहिले धुवाँले गर्दा सेतो कपडा धोएर सुकाउँदा चिन्नै नसक्ने कालाम्मे हुन्थ्यो,” स्थानीयवासी रमेश पण्डित भन्नुहुन्छ – “श्वासप्रश्वासको समस्याले पनि त्यति नै सताउँथ्यो तर अहिले त्यो समस्या छैन ।” अन्य भट्टाहरुलाई पनि यसरी सुधारेर वातावरणमैत्री बनाउन सकिए जनस्वास्थ्य र वातावरण सुधारमा समेत सहयोग पुग्ने उहाँको अनुभव छ ।

भूकम्पपछि झण्डै ३५० भट्टामा क्षति पुगेपछि तिनको पुनःनिर्माण इन्जिनियरिङ डिजाइनबाट गराउन अमेरिकी संस्था क्लाइमेट एन्ड हेल्थ रिसर्च नेटवर्क (चर्न) तथा एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) को प्राविधिक सहयोगमा मिनर्जी नामक संस्थाले विकास गरेको डिजाइनअनुसार भट्टा सुधार गर्ने राजकुमार पहिलो उद्यमी हुनुहुन्छ । यस डिजाइनअनुसार गत वर्ष नौवटा भट्टा बने भने यस वर्ष पनि ४÷५ वटा निर्माणका क्रममा छन् ।

सुरुमा यसको लागत केही महङ्गो पर्ने भएपनि केही वर्षमै लागत उठ्ने तथा वातावरण र मजदूरमैत्री रहेकाले विस्तारै इँटा उद्योग महासङ्घमा आवद्ध सबै इँटा भट्टाहरुलाई सुधार गर्दै लगिने नेपाल इँटा उद्योग महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकार बताउनुहुन्छ । हाल महासङ्घमा ८०० इँटा भट्टा आवद्ध छन् ।

इसिमोडले गत मार्चमा गरेको एक अध्ययनमा सुधारिएको इँटा उद्योगमा धुवाँको उत्सर्जन ४० देखि ५० प्रतिशतले कम भएको देखिएको छ । दक्षिण एसियाका अन्य देशको तुलनामा नेपालको प्रयास सकारात्मक रहेको र स्वयम् व्यवसायीहरु भट्टा सुधार गर्न क्रियाशील रहेकाले केही वर्षभित्रै इँटाबाट निस्कने प्रदूषणको समस्या कम गर्न सकिने इसिमोडकी वायुमण्डलीय वातावरण विशेषज्ञ विद्या वनमाली प्रधानको विश्वास छ ।

सरकारी मापदण्ड प्रतिघनमिटर ६०० मिलिग्राम रहेकामा यसमा १५० मिलिग्रामभन्दा कम प्रदूषण रहेको मिनर्जीका निर्देशक सुयश प्रजापति बताउनुहुन्छ । उहाँका अनुसार पूर्णतः इन्जिनियरिङ डिजाइनमा आधारित भएर पहिलोपटक नेपालमा फिक्स्ड चिम्नी भट्टा निर्माण भएको हो । भट्टाको डिजाइनमा सुधारका साथै वैकल्पिक ऊर्जा र प्वाल भएको (होलो ब्रिक्स) इँटाको प्रयोगबाट प्रदूषणलाई अझै न्यून बनाउन सकिन्छ ।

कोइलाको निर्भरता कम गर्न मिनर्जीले वन जङ्गलमा पाइने वनमारालगायत झाडीबाट चारकोल निर्माण गरी भट्टामा प्रयोग गर्न सकिने प्रविधिको विकास गरिसकेको छ । चारकोलमा तापीय क्षमता कोइलाको भन्दा बढी हुन्छ भने सल्फरको मात्रा नगण्य हुन्छ । चारकोल प्रयोगको सफलतापूर्वक परीक्षण केही भट्टाहरूमा भइसकेको छ ।

नेपालमा इँटा उद्योग कोइला खपत गर्ने एक मुख्य क्षेत्र हो । काठमाडौं उपत्यकामा सडकको धुलो, सवारी साधनले निकाल्ने धुवाँपछि वायु प्रदूषणको तेस्रो कारण इँटा उद्योग बनिरहेको छ ।

विकास सहयोगका लागि स्वीस एजेन्सी(एसडिसी)का अनुसार इँटा क्षेत्रले उपत्यकाको वायु प्रदूषणमा ३० प्रतिशत हिस्सा ओगटेको छ । प्रतिवर्ष इँटा भट्टाले ००.३५४ मिलियन टन कोइला खपत गर्दछ र यसबाट ०.७ मिलियन टन कार्बन डाइअक्साइड उत्सर्जन गर्दछ । इँटा भट्टाबाट निस्कने ब्ल्याक कार्बन हिमालयको हिउँ पगाल्ने मुख्य कारक रहेको विज्ञहरुको धारणा छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter