भूकम्प प्रभावितले छिट्टै राहत पाउँछन् : ज्ञवाली; कास्कीमा १३ हजारभन्दा बढी भूकम्पप्रभावित परिवार

Nepal Reconstruction Authorityचितवन, ५ पुस । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पप्रभावित १७ जिल्लामा राहतका लागि छिट्टै काम अघि बढाइने बताउनुभएको छ ।

ती जिल्लामा सङ्कलन भएका प्रभावितको घरधुरी सर्वेक्षण गरी वास्तविक क्षतिको पहिचान गरी पुनःनिर्माणका लागि राहत प्रदान गरिने उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समिति चितवनले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले वास्तविक क्षतिको पहिचान भएसँगै पुनः घर निर्माणका लागि किस्ता बन्दीमा रकम उपलब्ध गराउने बताउनुभयो ।

घरको डिपिसी गर्नुअघि रु ५० हजार, डिपिसीपछि रु एक लाख ५० हजार, छानो छाउनुअघि रु ७५ हजार र शौचालय निर्माणपछि मात्र २५ हजार रुपैयाँ बैंकमार्फत उपलब्ध गराइने उहाँले बताउनुभयो । अब निर्माण गरिने संरचना पूर्णरुपमा भूकम्पप्रतिरोधी हुनुपर्ने भन्दै उहाँले यसअघि भूकम्पले भत्काएर पुनः आफँै बनाएका घर भूकम्पप्रतिरोधी भएमा पनि राहत उपलब्ध गराइने ज्ञवालीले बताउनुभयो ।

उहाँले यी जिल्लामा हालसम्म जे जति ढिला भएपनि अब तीव्रगतिमा काम अघि बढ्ने बताउनुभयो । चितवन जिल्लाका स्थानीय विकास अधिकारी श्रवणकुमार पोख्रेलले जिल्लामा १८ हजार सातसय ५२ वटा निवेदन परेको बताउनुभयो । सुरुमा पूर्ण र आंशिक गरी १५ हजार सात सय ४९ घरधुरीले कार्ड लिएकामा पछि छुटेको सङ्ख्या थपिएको पनि उहाँले बताउनुभयो ।

सो अवसरमा सांसद रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, गीता वाग्ले, सन्तकुमार दराई लगायत दलका प्रमुख एवम् प्रतिनिधिले भूकम्पप्रभावितले राहत पाउन ढिलाइ भएको भन्दै अबको कामलाई तीव्रता दिन आग्रह गर्नुभएको थियो ।

कास्कीमा १३ हजारभन्दा बढी भूकम्पप्रभावित परिवार

जिल्ला लगत सङ्कलन व्यवस्थापन कार्यालय कास्कीले जिल्लामा भूकम्पका कारण प्रभावित १३ हजार एकसय पाँच घरपरिवारको लगत सङ्कलन गरी केन्द्रीय तथ्याङ्क विभागमा पठाएको छ ।

जिल्ला लगत सङ्कलन व्यवस्थापन कार्यक्रम संयोजक जग्गुलाल बस्यालका अनुसार सङ्कलित लगत केन्द्रीय तथ्याङ्क विभागबाट प्रमाणीकरण गरी भूकम्पपीडितको आधिकारिक सूची तयार गरिनेछ ।

राहत एवम् पुनःनिर्माण सहयोगका लागि सूचीका आधारमा यही पुस १३ गतेदेखि केन्द्रस्तरबाट खटिने तालिम प्राप्त इन्जिनियर र स्थानीय सामाजिक परिचालकको टोलीले स्थलगत अवलोकन गरी क्षतिका आधारमा बस्न हुनेदेखि पुनःनिर्माण गर्नुपर्नेसम्मका कुरा निक्र्यौल गर्नेछ ।

यसैबीच, भूकम्पपीडितको नामावली सङ्कलन, प्रमाणीकरण, अनुदान सम्झौता लगायतका विषयमा छलफल गर्न आज जिल्ला समन्वय समिति, कास्कीको बैठक बसेको थियो । बैठकमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सदस्य डा चन्द्रबहादुर श्रेष्ठ, सांसद शारदा पौडेल, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, स्थानीय विकास अधिकारी बलराम ढकाल लगायतको उपस्थिति रहेको थियो ।

बैठकमा भूकम्पपीडितको लगत सङ्कलन लगायतका विषयमा जानकारी लिँदै प्राधिकरणका सदस्य डा श्रेष्ठले सङ्कलित लगत प्रमाणीकरण भइसकेपछिको पुनःनिर्माण कार्यविधिबारे जानकारी गराउनु भएको थियो ।

सांसद शारदा पौडेलले भूकम्पपीडित परिवारले यथाशक्य चाँडो पुनःनिर्माण लगायतमा सहयोग पाउने किसिमबाट कामलाई तीव्रता दिनुपर्ने धारणा राख्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter