इस्वी सन्को नयाँ वर्ष २०१७ आजदेखि; सन् २०१६ मा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र बाह्य सहायता जुटाउन मिश्रित प्रतिफल प्राप्त

rising sunकाठमाडौँ, १७ पुस । गे्रगोरियन पात्रोअनुसार आज नयाँ वर्ष इस्वी सन् २०१७ सुरु हुँदैछ ।

जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको हो । सन्मा सौरमासको गणना हुने तर चन्द्रमासको गणना नहुने भएकाले ज्योतिष शास्त्रअनुसार यो वैज्ञानिक नभएको यसको अनुसन्धानमा लाग्नुभएका डा शास्त्रदत्त पन्त बताउनुहुन्छ ।

“इस्वी सन्मा चान्द्रमासको गणना नहुने भएकाले समयक्रममा दिन फरक पर्दा शासक वा पादरीले भिटो लगाएर यसको निर्णय गर्छन्, यसैले यो पटक पटक विवादमा आएको संवत् हो” – उहाँले भन्नुभयो ।

पोप ग्रगोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्व प्रशासक एवम् ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउनुहुन्छ ।

यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ ।

विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ ।

सन् २०१६ मा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र बाह्य सहायता जुटाउन मिश्रित प्रतिफल प्राप्त

विश्व आजदेखि नयाँ सहस्राब्दीको सत्रौँ वर्षमा प्रवेश गरेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार एवम् सन्तुलित परराष्ट्र नीति सञ्चालनका दृष्टिले सन् २०१६ मा मुलुकलाई मिश्रित प्रतिफल प्राप्त भएको छ ।

परापूर्वकालदेखि हार्दिकता, सद्भाव र मित्रतामा आधारित चीन र भारतसँगको सम्बन्धलाई अझ सुदृढ गर्दै नयाँ गति र उचाइ प्रदान गर्न तथा मुलुकको आर्थिक समुन्नतिका लागि दुवै छिमेकीसँग आर्थिक सहयोगको दीर्घकालीन खाका तयार पार्न केही उपलब्धि हासिल भयो ।

सबै राष्ट्रसँग समानता र पारस्परिक हितका आधारमा विद्यमान सम्बन्धलाई थप सुदृढ र विस्तार गर्दै लैजाने एवम् छिमेकीहरुसँगको सम्बन्धलाई एक अर्कासँग तुलना नगर्ने मुलुकको स्पष्ट परराष्ट्र नीतिलाई अझ दृढताका साथ कार्यान्वयन गर्ने प्रयास सन् २०१६ मा भयो जसलाई कूटनीति सञ्चालनमा अग्रगमनको पहिलो पाइलो मान्न सकिन्छ ।

मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डताको रक्षा एवम् राष्ट्रिय हित र स्वाभिमानको अभिवृद्धि गर्दै द्रुत आर्थिक विकासका लागि आन्तरिक तथा बाह्य स्रोत र साधनको अधिकतम परिचालन गर्ने नीति र कार्ययोजनाका साथ अगाडि बढेको थियो यद्यपि लक्ष्यित प्रगति सन् २०१६ मा प्राप्त हुन सकेनन् ।

कूटनीतिमात्र होइन राजनीतिप्रति देशमा अति असन्तोष छ भन्नेमा शङ्का नभए पनि राष्ट्रको बृहत्तर हित प्रवद्र्धन र अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उजिल्याउन बितेका एक वर्षमा भरमग्दुर प्रयास भए । राजनीतिक अस्थिरताका कारण एकै वर्षमा देशमा दुईवटा सरकार गठन भए । परिणामतः देशको चौतर्फी विकासमा बाह्य सहायता जुटाउन कठिन भयो ।

अठार वर्षपछि भारतका राष्ट्रपतिको नेपाल भ्रमण र प्रधानमन्त्रीको तहमा एकै वर्ष भारतमा दुईवटा भ्रमण हुनु तथा भारतसँगको चिसिएको सम्बन्ध क्रमशः सुमधुर हुँदै जानु बितेको वर्षका प्रगति हुन् । अठार वर्षको अन्तरालमा राष्ट्राध्यक्षको सर्वोच्च तहमा भएको उक्त भ्रमणबाट नेपाल र भारतबीचको धार्मिक, आध्यात्मिक, आर्थिक, शैक्षिक, सांस्कृतिक एवम् कूटनीतिक सम्बन्ध अझ प्रगाढ भई पारस्परिक हित प्रवद्र्धनमा योगदान भयो जसलाई गतवर्षको उपलब्धिका रुपमा चित्रण गर्न सकिन्छ ।

सार्क मन्त्रीस्तरीय बैठकमा भारतबाट विदेशमन्त्रीस्तरमा पनि नेपालको भ्रमण हुनु र नयाँदिल्लीसँगको असहज सम्बन्धलाई सहजतातर्फ उन्मुख गराउन पटक पटक नेपालका परराष्ट्र मन्त्री र अन्य मन्त्रीका तहबाट भएका भ्रमणले पारस्परिक सम्बन्ध सुधारमा केही सहजताको वातावरण बनायो । सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिलगायत अन्य सन्धि सम्झौता पुनरावलोकन गर्न गठित प्रबुद्ध समूहको बैठक काठमाडौँमा सम्पन्न भयो, जसले एकअर्काका चासो र चिन्ता सम्बोधनमा सहयोगीको भूमिका निर्वाह ग¥यो ।

त्यसैगरी छिमेकी मुलुकहरुको सद्भाव तथा सहयोग र उनीहरुसँगको सहकार्य सुनिश्चित गर्ने प्रयासको सिलसिलामा प्रधानमन्त्रीको तहमा भारत र चीनको भ्रमण भयो जसले छिमेकीहरुसँगको सम्बन्ध सुदृढ गर्दै पारस्परिक सम्मान, समानता र आपसी हितका आधारमा द्विपक्षीय सहयोगलाई अगाडि बढाउने सरकारको घोषित नीतिमा योगदान भयो ।

भारतसँगको परनिर्भरता अन्त्य गर्न चीनसँग भएको पारवहन यातायात सम्झौताले भूपरिवेष्टित मुलुकका रुपमा नेपालको समुद्रसम्म पुग्ने अधिकार सुनिश्चित गर्न चीनसँग सहमति भए पनि त्यस दिशामा ठोस प्रगति सन् २०१६ मा हुन सकेन । एकदिनमा नै सबै सन्धि सम्झौता कार्यान्वयन हुन नसक्ने भएकाले भारत र चीनसँग निकट सम्पर्कमा रहेर परराष्ट्र मन्त्रालयले काम गरिरहेको अभिव्यक्ति परराष्ट्र मन्त्री प्रकाशशरण महतले बारम्बार दिने गर्नुभएको छ ।

चीनबाट पेट्रोलियम पदार्थ आयात गर्ने सम्बन्धमा व्यापारिक सम्झौताको सहमति, चीनको सहयोगमा पेट्रोलियम पदार्थको भण्डारणका लागि आवश्यक पूर्वाधार निर्माणको प्रतिबद्धता, नेपालमा तेल तथा ग्यासको अन्वेषणको सम्भाव्यता अध्ययन, नेपालको व्यापार घाटा घटाउन चीनले निर्यात सम्भाव्यता भएका ५०० भन्दा बढी नेपाली वस्तुलाई सहज बजार प्रवेश दिने सहमति, ऊर्जा व्यापारका लागि दुवै मुलुकका सम्बन्धित निकायबीच संवाद संयन्त्र स्थापना गर्ने सहमति, भूकम्पपछिको पुनःनिर्माण र नेपालको पूर्वाधार विकासमा चीन र भारतको सहयोग जुटाउने विषयमा भएका प्रगतिलाई सन् २०१६ का सकारात्मक पक्ष हुन् ।

चीन र भारतबाहेका सार्कका सदस्य मुलुकसँग स्थल तथा हवाई सम्पर्कको विस्तार, यातायातका पूर्वाधारको सुदृढीकरण, अन्तरदेशीय सडक तथा रेल सञ्जाल निर्माण, रसुवागढी राजमार्गको स्तरोन्नति तथा निजामती अस्पतालको सेवा सशक्त एवम् प्रभावकारी बनाउन रु १५ अर्ब बढीको अनुदान सहयोगलाई उपलब्धिका रुपमा लिन सकिन्छ । भूकम्पपछिको पुनःनिर्माणका लागि भारतले पनि रु ७५ अर्ब सहुलियतपूर्ण ऋण प्रदान गर्ने घोषणा गर्नुलाई कम आँक्न मिल्दैन ।

गतवर्ष भारत, चीन, जापान, साउदी अरेबिया, बेलायत, अमेरिका, नर्वेका साथै संयुक्त राष्ट्रसङ्घ, एसियाली विकास बैंक, विश्व बैैंकलगायत द्विपक्षीय एवम् बहुपक्षीय निकायबाट भएका उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट नेपालको बाह्य सम्बन्ध विस्तारमा टेवा पुग्यो भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गोवा सम्मेलनमा भएको सहभागिताले चीन र भारतका अतिरिक्त ब्राजिल, रुसी महासङ्घ र दक्षिण अफ्रिका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखसँगको भेटवार्ताले एकअर्कालाई बुझ्न तथा सम्बन्ध नवीकरणमा योगदान भयो । यसबाट विश्वमाझ नेपालप्रतिको सद्भाव र सहयोगको भावनालाई अझ सवल बनाउन मद्दत पुग्यो ।

भेनेज्वेलामा सम्पन्न असंलग्न आन्दोलनको १७औँ शिखर सम्मेलनमा उपराष्ट्रबाट भएको सम्बोधनले नेपालको पछिल्लो राजनीतिक एवम् आर्थिक अवस्थाबारे विश्व समुदायलाई अवगत भयो भने संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभा र त्यसक्रममा परराष्ट्र मन्त्री महतबाट आफ्ना समकक्षी तथा नेपालको विकासका अन्तर्राष्ट्रिय साझेदारसँगको भेटवार्ताले नेपालको कूटनीति सञ्चालनमा सहयोगी भूमिका निर्वाह भयो । टर्कीमा आयोजित विश्व मानवीय शिखर सम्मेलन र अल्पविकसित राष्ट्रहरूका लागि इस्तानबुल कार्य योजनाको उच्चस्तरीय बृहत् मध्यावधि समीक्षाजस्ता कैयाँै अन्तर्राष्ट्रिय मञ्चमा भएको नेपालको सहभागिताले बाह्य सम्पर्क विस्तारमा रचनात्मक प्रभावमात्र परेन आपसी विश्वास एवम् समझदारीमा अभिवृद्धि भयो ।

सार्कको अध्यक्ष मुलुकका रुपमा रोकिएको सार्क प्रक्रियालाई पुनः गति दिन ठोस प्रयास नभएको आमजनताको बुझाई भए पनि सरकारले सदस्य मुलुकसँग निरन्तर संवाद जारी राखेको र स्थगन भएको १९औँ शिखर सम्मेलन शीघ्र आयोजनाको वातावरण बनाउन प्रयास गरिरहेको स्पष्ट पारेको छ । तथापि सन् २०१६ मा त्यसो हुन सकेन ।

त्यसैगरी मलेसिया र खाडी मुलुकमा नेपाली श्रमिकलाई उचित पारिश्रमिकलगायत सुविधाको सुनिश्चितता तथा विभिन्न मुलुकमा रिक्त रहेका नेपाली नियोगमा राजदूत नियुक्त गरी प्रभावकारी कूटनीतिक सञ्चालनमा भने प्रगति हुन सकेन । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter