• Friday, May 02, 2025

‘मानसिक स्वास्थ्य सेवा उपचार निर्देशिका’; वीरमा चौबीसै घन्टा डायलासिस सेवा

Health Ministryकाठमाडौँ, २० पुस । स्वास्थ्य मन्त्रालयले मानसिक स्वास्थ्य समस्याको उपचार प्रदान गर्न ‘उपचार निर्देशिका’ ल्याएको छ ।

प्राथमिक स्वास्थ्य सेवा पुर्नजागरण महाशाखाले तयार पारेको निर्देशिकामा उदासिनता, चिन्ता, छारेरोग, गम्भीर मानसिक समस्या, लागु पदार्थजन्य मानसिक समस्याको पहिचान, उपचार र व्यवस्थापनको पद्धतिका बारेमा उल्लेख गरेको छ ।

महाशाखाका निर्देशक मोहम्मद दाउदका अनुसार जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीहरूले मानसिक स्वास्थ्य तालिम लिए पश्चात यो निर्देशिकालाई आधार मानेर सेवा सुरु गर्ने छन् ।

नेपालमा नसर्ने रोगहरूका कारण ६० प्रतिशत व्यक्तिहरूको मृत्यु भएको बताउँदै निर्देशक दाउदले भन्नुभयो, ‘‘नसर्ने रोगको समस्या बढ्दै आएकाले आर्थिक वर्ष २०७३÷०७४ देखि नै वार्षिक कार्यक्रममार्फत अन्य नसर्ने रोगका साथै मानसिक स्वास्थ्य समस्या उपचार कार्यक्रम सुरु गर्न लागेका हौँ ।’’

उहाँले पहिले नेपाल सरकारले १५ भन्दा बढी गैरसरकारी संस्थासँग मिलेर मानसिक स्वास्थ्य समस्या उपचारका कार्यक्रम गर्दै आएकोमा यो वर्षबाट नेपाल सरकारले आफ्नै कार्यक्रममा यसलाई समावेश गरी सेवा दिइन लागिएको जानकारी दिनुभयो ।

पहिलो चरणमा इलाम र कैलालीबाट कार्यक्रम सुरु गरी आगामी वर्षबाट देशभरीनै मानसिक स्वास्थ्य समस्या उपचार कार्यक्रम सञ्चालनको तयारी गर्न लागिएको उहाँले बताउनुभयो ।

यसैबर्ष नै मकवानपुर, रौतहट, म्याग्दी, अछाम, पाल्पा, बर्दिया, सुर्खेत, बाग्लुङमा पनि नसर्ने रोगबारे कार्यक्रम सुरु गरिने महाशाखाले जनाएको छ ।

वीरमा चौबीसै घन्टा डायलासिस सेवा

मिर्गौला रोगीका लागि वीर अस्पतालमा २४ सै घन्टा डायलासिस सेवा सुरु भएको छ ।

बिरामीलाई सुविधा दिने उद्देश्यले दिउँसो मात्र दिइँदै आएको डायलासिस सेवालाई गत आइतवारदेखि २४ सै घन्टा बनाइएको अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले जानकारी दिनुभयो । दैनिक १४ जनाको डायलासिस हुँदै आएकोमा सेवा अवधि थप भएपछि अहिले यसमा दोब्बरले वृद्धि भई दैनिक २८ जनाले यो सेवा पाउन सक्ने निर्देशक बस्नेतले बताउनुभयो ।

यो अस्पतालमा पच्चीस वर्षअघि डायलासिस सेवा सुरु भए पनि पर्याप्त स्रोत र उपकरण नहुँदा आकस्मिक भर्ना भएका र नयाँ बिरामीले लामो समय कुर्दा पनि पालो नपाएर अन्यत्र जानुपर्ने बाध्यता थियो, निर्देशक बस्नेतले भन्नुभयो, “स्वास्थ्यमन्त्री गगन थापाले देशभर डायलासिस सेवा बढाउने भनेपछि वीर अस्पतालले पनि बिरामीलाई थप सेवा दिन र सेवा नपाएर कसैले पनि फर्कन नपरोस् भनेर आइतबारदेखि २४ सै घन्टा यो सेवा सुरु गरिएको हो ।”

अहिले वीरमा हप्तामा नियमति रुपमा ४२ जनाले डायलासिस गराउँदै आएका छन् । यसै वर्षमात्रै सरकारले सम्पूर्ण डायलासिस सेवा पूर्णरुपमा निःशुल्क गरेको छ । देशभरका सरकारी र निजी गरी ४३ अस्पतालबाट यो सेवा सञ्चालन भइरहेको छ । सरकारी अस्पतालमा २४ सै घन्टा यो सेवा सुरु गर्ने वीर पहिलो अस्पताल हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter