• Friday, May 02, 2025

विपक्षीको जनप्रदर्शनमा जे देखियो…

uml-rallyप्रकाश सिलवाल / काठमाडौँ, २२ पुस । ‘तराई–पहाड एउटै ज्यान, नेपाली हाम्रो पहिचान’ र यस्तै अन्य नाराका साथ पदयात्रा रत्नपार्कबाट पुरानो बसपार्कतर्फ अघि बढिरहेको थियो । बीचैमा केहीबेर प्रदर्शनकारी र सुरक्षाकर्मीबीच ठेलमठेल चल्यो । छेउमै रहेर नारा लगाइरहेका अरुले के भयो, कतै आन्दोलनकारीबीच विवाद त भएन वा कुनै घुसपैठ त भएन भन्ने जिज्ञासा राखे ।

लगत्तै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नी धर्मपत्नी राधिकासहित सडकमा मुस्कानका साथ देखिनुभयो । उहाँको नियमित सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली र एमालेका स्वयम्सेवकले घेरा हाल्दै ओलीलाई राष्ट्रिय सभागृहतर्फ लगे, जुलुस उत्साहित हुँदै थप अघि बढ्यो ।

युवा सङ्घ नेपालले अगुवाइ गरिरहेको जुलुसमा सहभागीले आफ्ना संस्थापक अध्यक्ष र राष्ट्रिय स्वाधीनताको आन्दोलनको मियो बनेका ओलीको सडकमा सहभागिताले अरु दलका कार्यकर्तालाई पनि प्रेरित गरेको थियो । पदयात्रामा ‘संविधान संशोधन विधेयक खारेज गर’, ‘निर्वाचनको मिति घोषणा गर’ सहित विभिन्न ११ सहायक नारा लगाइएका थिए।

प्रमुख प्रतिपक्षी एमालेसहित विपक्षी नौ दलले आज यहाँ आयोजना गरेको जनसभापूर्वको पदयात्रामा सोचेभन्दा बढी उपस्थिति र व्यवस्थित प्रदर्शन भएको आयोजक दलको भनाइ छ । एमालेले काठमाडौँ उपत्यकाका विभिन्न २२ स्थानबाट मातहतका कमिटी र पेसागत संस्थालाई तुल, राष्ट्रिय झन्डा, पार्टीको झन्डा तथा चुनाव चिह्न र तोकिएको कार्यकर्तासहित सडकमा आउन निर्देशित गरेअनुसार उनीहरु आन्दोलनमा उत्रिएका थिए । उनीहरु विभिन्न झाँकी, नृत्य र वेशभूषाले सज्जिएका थिए । सभामा सामाचकेवा र भक्ताइ नृत्यले प्रदर्शनकारीलाई मनोरञ्जन मात्र दिएन, तराई र पहाडबीचको सांस्कृतिक सेतुको काम पनि गरेको थियो ।

प्रदर्शनीमार्गबाट पद्मोदय मावितर्फ फर्किएको मञ्च र सहभागी जनसमूहलाई आकाशबाट सुरक्षाकर्मीको ‘ड्रोन क्यामेरा’ले अनुगमन गरिरहेको थियो । कार्यक्रम सञ्चालक एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले ‘ड्रोन क्यामेरा’ ले आफूहरुको आन्दोलन अभिलेख भइरहेको जनाउँदा सहभागी आकाशतिर आँखा लगाएका थिए भने एमाले अध्यक्ष ओलीले आगामी दिनमा आफूहरुले सञ्चालन गर्ने राष्ट्रियताको मेची महाकाली अभियानको ‘सेटेलाइट’ बाट तस्बिर खिंच्नुपर्ने अवस्था आउने उद्घोष गर्नुभयो ।

सभामा सर्लाहीका थारु समुदायका प्रतिनिधिले अध्यक्ष ओलीलाई नेपाल बहुभाषिक र बहुजातीय रहेको सन्देशसहितको प्रतीकचिह्न उपहारका रुपमा हस्तान्तरण गरेका थिए । मञ्चमा ठूलो आकारको राष्ट्रिय झन्डा सजाइएको थियो ।

झर्रा शब्द बढी प्रयोग गरेर भाषण गर्ने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान जारी गर्दा प्रदेश नं २ लाई मधेसका मात्र जिल्ला बनाइएको सन्दर्भमा उधारोमा माछा बेचेको कथासँग जोड्दै अब त्यस्तो नगरिने जनाउँदा वातावरण रोमाञ्चक बनेको थियो ।

सभामा नौ दलका सबै शीर्ष नेता सहभागी भए पनि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भने नेता एवं सांसद प्रेम सुवाललाई प्रतिनिधि पठाउनुभएको थियो । खुलामञ्चमा पछिल्लो समय बसपार्क बनाइएकाले यस्ता आन्दोलन गर्न आफूहरुलाई स्थान अभाव भएको र प्रदर्शनीमार्ग साँघुरो भएको एमालेका नेताहरु बताउँदै थिए । प्रदर्शनका कारण दिउँसो काठमाडौँको सवारी आवागमन भने अस्तव्यस्त बन्यो ।

एमालेका वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमलगायत नेता सहभागी भए पनि उहाँहरुको मन्तव्य राखिएको थिएन । मञ्च भरिएपछि कतिपय स्थायी र पोलिटब्युरो कमिटीका सदस्य सडकको भुइँमा बसेका थिए । अधिकांश वक्ताले बाह्य इसारामा मधेसी मोर्चाको मागका आधारमा संविधान संशोधन आएको भन्न आफ्ना समय खर्चिएका थिए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter