संशोधन विधेयक राष्ट्रियतामा आघात पुग्ने प्रस्ताव हो : ओली;  संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ : साना दल

 

kp-oliकाठमाडौँ, २२ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक मुलुकमा तोकिएको अवधिमा निर्वाचन हुन नदिने र राष्ट्रियतामा आघात पुग्ने प्रस्ताव भएकाले त्यसलाई पारित हुन नदिने बताउनुभएको छ ।

एमालेसहित विपक्षी नौ दलले आज यहाँ आयोजना गरेको जनसभामा नेता ओलीले तराई र पहाडका जिल्लालाई आपसमा अलग गर्ने गरी ल्याइएको संशोधन संविधान विपरीत हुने सर्वाेच्च अदालतको फैसलाले स्पष्ट गरिसकेको जिकिर गर्दै सत्तारुढ दलले यसलाई अघि बढाउन खोज्नु मुलुकमा निर्वाचन नगराउनु र संवैधानिक रिक्तता ल्याउने प्रयास हुनु हो भन्ने आरोप लगाउनुभयो ।

“संविधान बमोजिम २०७४ साल माघ ७ गतेभित्र तीनै तहका निर्वाचन गरिसक्नुपर्छ तर यो सरकार के गर्दैछ ? निर्वाचन गराउन खोज्दै छ ? प्रदर्शनीमार्गमा सहभागी जनसमूहबीच पूर्वप्रधानमन्त्री ओलीले प्रश्न गर्दै भन्नुभयो, “सरकार अनुचित उद्देश्य पूरा गर्न, कसैको आदेश तामेली गर्न र आयु लम्ब्याउन खोज्दैछ ।”

उहाँले जुवा (कौडा) खेल्दा तास वा कौडा मात्र नसकिएर हार्नेको श्रीसम्पति नै गुम्ने भए झैँ अहिलेको संशोधनबाट पनि राष्ट्रियता सङ्कटमा पर्ने तर्क गर्दै नेपालका राष्ट्रभाषालाई समाप्त पार्न र हिन्दी भाषालाई स्थापित गराउने खतरा पनि रहेको बताउनुभयो । संशोधन प्रस्तावबारे प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच परामर्श भएको र प्रधानन्यायाधीशले अघि बढ्न सुझाव दिएका जस्ता प्रचार सरकार पक्षबाट गराइनु गैरजिम्मेवार भएको उहाँको भनाइ थियो ।

आजको जनप्रदर्शनबाट राजधानी जागेको जिकिर गर्दै उहाँले अब फागुनको दोस्रो साता तराई–मधेस र मेची–महाकाली जागरण अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाली विगतमा पनि कसैसँग झुकेन, हाम्रो स्वाधीनता जिउँदो छ । हामी कहिल्यै लम्पसार परेनौँ । अब यो अभिभारा युवाले बोक्ने विश्वास लिएको छु ।”

(एमाले)का वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमसहित नौ दलका शीर्ष नेता सहभागी सभामा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अहिले मुलुकलाई संविधान नभई संविधान कार्यान्वयन र तीन तहको निर्वाचन आवश्यक भएको बताउनुभयो ।

सो पार्टीका महासचिव ईश्वर पोखरेलले देशलाई घात हुने कुनै पनि प्रस्ताव पारित हुन नदिई आफूहरु संविधान कार्यान्वयनका लागि दृढताका साथ उभिने बताउनुभयो ।

संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ : साना दल

व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न विपक्षी साना राजनीतिक दलका नेताले संविधान संशोधन विधेयक फिर्ता गर्न माग गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सहित नौ दलले आज भृकुटीमण्डपमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँहरुले संविधान संशोधन विधेयक राष्ट्रहित नभएको जनाउँदै सरकारलाई प्रस्ताव फिर्ता माग गरे ।

नेकपा (माले)का महासचिव सिपी मैनालीले सर्वोच्च अदालत दिएको आदेशलाई पालना गर्नका लागि विधेयक फिर्ता लिनुपर्ने बताउनुभयो । ‘‘सर्वोच्च अदालतले पनि संशोधन विधेयकमा अहिलेको संसद् केही गर्न नपाउने आदेश दिएको छ’’उहाँले भन्नुभयो, ‘‘ प्रदेश संसद्को अधिकारलाई अहिलेको संसदले कटौती गर्न मिल्दैन । त्यसैले संशोधन प्रस्ताव फिर्ता गर्नुपर्छ ।’’ उहाँले सरकारले ‘अदालतको आदेशलाई पनि नमानी संसद्मा जबर्जस्ती छलफल गर्न खोजे’ आफूहरुले कडा प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।

कार्यक्रममा राष्ट्रय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र देशलाई विभाजित गर्न नल्याइएको बताउँदै नेपाली जनता अखण्ड नेपालका पक्षमा छन् भन्नुभयो । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य प्रेम सुवालले बाह्य आग्रहमा संशोधन विधेयक ल्याइएको भन्दै विधेयकमाथि संसद्मा छलफल नहुने बताउनुभयो ।

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले ‘सर्वोच्च अदालतले संशोधन प्रस्तावको विपक्षमा फैसला गरेकाले’ सरकारले प्रस्ताव फिर्ता लिनाको विकल्प नभएको बताउनुभयो ।

उहाँले अहिलेको आवश्यकता संविधान संशोधन नभई निर्वाचन भएकाले चाँडै निर्वाचनको मिति घोषणा गरेर देशलाई राजनीतिक सङ्क्रमणकालीन अवस्थाबाट जोगाउन सरकारसँग आग्रह गर्नुभयो । उहाँले अदालतले नै संशोधन बुँदामा अहिलेको संसद्ले संशोधन गर्न नपाइने भनेको जिकिर गर्दै सरकारले जबर्जस्ती विधेय पेस गर्न खोजेर मुठभेड निम्त्याउन खोजेको आरोप लगाउनुभयो ।

राष्ट्रिय बहुजन पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान, राष्ट्रिय नेपाः पार्टीका नेता एवं सांसद लक्ष्मण राजवंशी नेपाल जनमुक्ति पार्टी (लोकतान्त्रिक)का शिवलाल थापा लगायतले संशोधन प्रस्ताव जनविरोधी भएको जनाउँदै त्यसलाई फिर्ता लिनुपर्ने बताउनुभयो ।

सभा हुनुभन्दा अगाडि विभिन्न ठाउँबाट झाँकीसहित पदयात्रा निकालिएको थियो । पदयात्रामा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल, मालेका महासचिव मैनाली, जनमोर्चाका अध्यक्ष केसीलगायतको सहभागिता थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter