• Friday, May 02, 2025

नाबालकको पालनपोषणका लागि अक्षयकोष

map-of-khotang-districtखोटाङ, २३ पुस । रक्त अर्बुदरोगबाट पीडित आमाको उपचारका क्रममा मृत्यु भएपछि बिचल्लीमा परेका उनका नाबालक छोराको पालनपोषण तथा शिक्षादीक्षाका लागि अक्षयकोष स्थापना गरिएको छ ।

खोटाङ खार्मी–८ की १८ वर्षीया कविता तामाङको उपचारका क्रममा गत साउन ३० गते मृत्युु भएपछि उनका छोरा तेन्जिङको पालनपोषण तथा शिक्षादीक्षाका लागि रु पाँच लाख ४७ हजार सात सय ४७ को अक्षयकोष स्थापना गरिएको हो ।

खोटाङ बास्पानी घर भई हाल बेलायतमा रहनुभएकी जयन्ती राईले त्यहाँ सङ्कलन गरेर पठाउनुभएको रु पाँच लाख तीन हजार आठ सय ४७ र बास्पानी नै घर भई हाल काठमाडौंँमा रहनुभएकी रन्जना राईले सङ्कलन गर्नुभएको रु ४३ हजार आठ सय ६० गरी रु पाँच लाख ४७ हजार सात सय ४७ को अक्षयकोष स्थापना गरिएको जयन्तीका दाजु तथा नेकपा (एमाले) का नेता राजन राईले बताउनुभयो ।

काठमाडौँ बानेश्वरस्थित जनता बैंकमा स्थापित अक्षयकोषको ब्याज तेन्जिङको पालनपोषण तथा शिक्षादीक्षामा उनका आफन्तले खर्च गर्ने व्यवस्था मिलाइएको एमाले वैकल्पिक केन्द्रीय सदस्य राईले जानकारी दिनुभयो । लामो समयदेखि रक्त अर्बुदपीडित कविताको उपचारमा अर्थ अभाव भएको समाचार राष्ट्रिय समाचार समितिमार्फत विभिन्न सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण भएपछि जयन्ती र रन्जनाले ‘कविता बचाऔँ’ अभियान सञ्चालन गरेर रकम सङ्कलन गर्नुभएको थियो ।

अभियानका क्रममा सङ्कलित रकम पीडित कवितालाई हस्तान्तरण गर्न जाँदा सोही दिन राति नै (साउन ३० गते) उनको मृत्यु भएको थियो । कविताले आफू नबाँच्ने थाहा पाएपछि छोरा बचाइदिन आग्रह गर्दै सबैसँग सहयोगको याचना गरेकी थिइन् । काखमा दूधे बालक च्यापेर काठमाडौँको निजामती अस्पतालमा उपचार गराइरहेकी कविताले आफू मर्नुअघि भनेकी थिइन्, “म त मर्ने नै भएँ, यदि सक्नुहुन्छ भने मेरो नाबालक छोरालाई बचाइदिनुहोस् ।”

मर्नुअघि कविताले गरेको पुकारलाई ध्यानमा राख्दै उनको छोराको पालनपोषण तथा शिक्षादीक्षामा खर्च गर्ने गरी अक्षयकोष स्थापना गरिएको राईले जानकारी दिनुभयो । “अहिले ब्याज मात्र खर्च गर्ने व्यवस्था मिलाइएको छ ।” उहाँले भन्नुभयो, “जब तेन्जिङ १६ वर्ष भएपछि ऊ आफैँले कोषको रकम झिकेर खर्च गर्न सक्नेछ ।” आमाको मृत्युपछि तेन्जिङलाई अहिले उनकी फुपू सुमिला तामाङको साथमा काठमाडौँमै राखिएको छ । करिब एक वर्षको हुन लागेका उनी अहिलेसम्म स्वस्थ छन् ।

खार्मी–५ मा जन्मिएकी कविता दुई वर्षअघि खार्मी–८ का अशोक तामाङसँग वैवाहिक बन्धनमा बाँधिएकी थिइन् । विवाहअघि कक्षा १० पढ्दादेखि नै कवितालाई अर्बुद देखिएको पारिवारिक स्रोतले जनाएको छ । आर्थिक अवस्था कमजोर भएका अशोक कवितासँग वैवाहिक बन्धनमा बाँधिएपछि रोजगारीको सिलसिलामा साउदी अरब गएका थिए । घरमा श्रीमती बिरामी भएपछि उनको उपचारका लागि साउदीबाट छुट्टीमा आएका अशोक श्रीमतीको मृत्यु भएपछि पुनः साउदी जान रोकिएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter