होमस्टेमा बढ्दै छ पर्यटकको आकर्षण

Home Stayलमजुङ, २५ फागुन । जिल्लामा दर्जनभन्दा बढी स्थानमा होमस्टे सञ्चालन भएपछि होटलभन्दा यसतर्फ पर्यटक आकर्षित भएका छन् । पछिल्लो समय जिल्लामा आउने पर्यटक होटलभन्दा होमस्टे रोज्न थालेका हुन् ।

न्यानो आतिथ्यताका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको हो । प्रायः होमस्टे सञ्चालन भएका गाउँमा यातायातको सुविधा भएपछि पर्यटक सिधै होमस्टेका लागि पुग्ने गरेका छन् ।

अन्नपूर्ण पदयात्रा गर्ने पर्यटकका लागि प्रवेशद्वारको रुपमा रहेको लमजुङमा आन्तरिक र बाह्य पर्यटक समान रुपमा आउने गरेका छन् । जिल्लामा भित्रिएकामध्ये हजाराँै पर्यटक होमस्टेको मज्जा लिनकै लागि लमजुङ आउने गरेका छन् ।

जिल्लाका सदरमुकाम र अन्य व्यापारिक केन्द्रमा रहेका सुविधा सम्पन्न होटलबाट आधुनिक सेवा सुविधा प्राप्त हुने भए पनि होमस्टेबाट परम्परागत सुविधा पाउने भएकाले अधिकांश पर्यटकले होमस्टेलाई नै गन्तव्य बनाउँदै आएका छन् ।

लमजुङका घलेगाउँ, गाउँसहर काउलेपानी, घनपोखरा, नरुवाल, भुजङ, पसगाउँ, गिलुङ, सिउरुङ, खासुर, गहते, हिलेटक्सार, राइनास, ताघ्रिङको छापा, मिप्रा, सिंदुरे, पुरानकोटलगायतका एक दर्जनभन्दा बढी स्थानमा होमस्टे सञ्चालित छन् ।

घलेगाउँ तथा भुजुङमा मात्रै वार्षिक ४० हजारभन्दा बढी पर्यटक पुग्ने गरेको बताइन्छ । यातायात सुविधा भएपछि पर्यटक सदरमुकाम बास नवसी सिधै घलेगाउँ पुग्ने गरेका छन् । सदरमुकाम बेसीसहरबाट करिब तीन घन्टामा घलेगाउँ पुग्न सकिन्छ ।

“पहिला घलेगाउँ पुग्न कम्तीमा छ घन्टा हिँड्नु पथ्र्यो, एकरात बेसीसहरमै बास बस्नुपथ्र्यो” घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घले भन्नुहुन्छ “अहिले गाउँसम्म मोटर पुगेपछि पर्यटक सिधै गाउँ पुग्छन् ।”

गाउँमा मोटर पुगेपछि आन्तरिक पर्यटक थप आकर्षित भएको घलेले बताउनुभयो । घलेगाउँ पुगेका पर्यटक घनपोखरा, एक गाउँ एक गाविस भनेर चिनिने भुजुङसम्म पुग्ने गरेका छन् ।

सदरमुकामबाट १० किलोमिटरको दूरीमा रहेको गाउँसहरको काउलेपानी पछिल्लो समय पर्यटकको विशेष रोजाइमा परेको छ । सदरमुकामबाट मोटरमा एक घन्टा र पैदल दुई घन्टामा काउलेपानी पुग्न सकिने भएकाले प्रायः पर्यटक सदरमुकामका होटल छोडेर होमस्टे पुग्दछन् ।

घलेले राज्य गरेको यो ठाउँमा शाहकालीन राजा कुलमण्डनका माहिला छोरा कालु शाहले राजकाज चलाएको दरबार पनि छ । नेपालको राजनीतिक इतिहासका शाहवंशीय राजाको दरबार, रानीकुवा, कालिका भगवतीको मन्दिरलगायतका ऐतिहासिक कुरा विशेषगरी आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने गरेको काउलेपानी पर्यटन व्यवस्थापन समितिका अध्यक्ष देव गुरुङ बताउनुहुन्छ ।

गुरुङका अनुसार काउलेपानीभन्दा केहीमाथि पुरानकोट गढीबाट एकैपटक फिस्टेल हिमाल, अन्नपूर्ण, लमजुङ पहिलो, दोस्रो र तेस्रो हिमाल, मनास्लुलगायतका एकदर्जन हिमाल नजिकबाट अवलोकन गर्न पाइने भएकाले बाह्य पर्यटक बढी मात्रामा आकर्षित हुने गरेका छन् ।

सदरमुकाम बेसीसहरबाट एक घन्टामा पुग्न सकिने खासुर पनि पर्यटकको रोजाइमा पर्दछ । गुरुङ समुदायको बाहुल्यता रहेको खासुरमा प्राकृतिक सुन्दरता, स्थानीय संस्कृतिसँगै कन्याले सञ्चालन गरेको सामुदायिक खाजाघर विशेष आकर्षणको छ ।

खासुरमा ३७ अविवाहित नारीको सक्रियतामा सामुदायिक खाजा घर सञ्चालन गरिएको छ । गाउँमा आएका पाहुनालाई सोही सामुदायिक खाजाघरमा लगेर नाचगानसहित स्वागत गरिन्छ । अन्य कामका सिलसिलामा बेसीसहरसम्म आउने पनि होमस्टे अनुभवका लागि खासुर पुग्ने गर्दछन् ।

अन्नपूर्ण पदमार्ग नजिकै पर्ने ताघ्रिङको छापामा पनि होमस्टे अनुभवको लागि स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गरेका छन् । पदमार्गमा आएका आन्तरिक तथा बाह्य पर्यटक होटलको बसाई छोडेर होमस्टे अनुभवको लागि गाउँ पस्ने गर्दछन् ।

“पदमार्गबाट होटल छोडेर २० मिनेट हिँडेपछि होमस्टे गाउँ पुग्न सकिन्छ” छापा गाउँकी होमस्टे सञ्चालिका आशकुमारी गुरुङले भन्नुभयो “होमस्टेको अनुभव लिन होटल छोडेर पर्यटक गाउँ आउने गरेका छन् ।”

पछिल्लो समय लमजुङका होमस्टेले देश विदेशमा चर्चा पाउन थालेपछि अन्नपूर्ण पदमार्गमा आएका पर्यटक दिन लम्ब्याएर होमस्टे आउने गरेको सिउरुङ होमस्टेका सचिव उमरबहादुर गुरुङ बताउनुहुन्छ ।रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter