दृष्टिविहीन विक दम्पतीले तीन छोरीलाई पढाउन सकेनन् (आलेख)

blindकमल खत्री / म्याग्दी, २७ फागुन । ताकम–३ रातमाटाकी ११ वर्षीया निरुता विक विद्यालय जान छाडेको पाँच महिना भयो । बाबा र आमा दुबै दृष्टिविहीन हुन् । घरपरिवारको आर्थिक अवस्था नाजुक छ र यसैकारण उनका दुई बहिनीले पनि पढ्न छाडेका छन् ।

दृष्टिविहीन दम्पती जलन र सुस्मिता विकका चार छोरीमध्ये तीन जना विद्यालय जाने उमेरका छन् । जेठी निरुता चार कक्षा, आठ वर्षीया माइली कमला दुई कक्षा र साइली ५ वर्षीया अञ्जली बालकक्षामा अध्ययन गर्दागर्दै विद्यालय छाड्न बाध्य भएका हुन् ।

विक दम्पतीका कान्छी छोरी इच्छा दुई वर्षकी छिन् । गाउँमा अरुको जग्गामा सामान्य घर बनाएर बस्दै आएका विक परिवार जग्गाधनीले पटक–पटक जग्गा किन्न या घर छाडी जान दबाब दिएपछि गाउँ नै छाडेर निस्किएका हुन् ।

दृष्टिविहीन सुस्मिताले भनिन् – “हाम्रो आफ्नै जग्गा थिएन । ससुराले गाउँमा पहिले रु ७ हजार तिरेर अरुको जग्गामा घर बनाउनुभएको रहेछ । अहिले जग्गाधनीले कि जग्गा किन कि छोड भने । हामीसँग पैसा नभएकाले घर छाडेर निस्क्यौं ।”

जग्गाधनीले रु ८० हजार मागेपछि घरै छाडेको उनीहरु बताउँछन् । विक परिवार गत पुसदेखि म्याग्दी सदरमुकाम बेनी नजिकै पर्वतको लामखेतमा कोठा भाडामा लिएर बस्दैआएका छन् । मासिक रु एक हजार पाँच सय तिनुपर्ने साँघुरो र बिजुलीको समेत सुविधा नभएको कोठामा चार छोरीलाई राखेर बसेकी सुस्मिताले दैनिकी चलाउन नै मुस्किल भएको र अर्थाभावको कारण छोरीहरुलाई विद्यालय पठाउन नसकेको बताइन् ।

उनका श्रीमान् जलन नारायणगढमा एक दोहोरी साँझमा काम गर्छन् । मादल बजाउन सिपालु जलनले महिनामा जम्माजम्मी रु ३ हजार कमाउँछन् । आफूले कमाएको पैसाले चार सन्तानलाई दैनिक रुपमा खाना खुवाउनसम्म पनि नपुग्ने भएकाले छोरीहरुलाई विद्यालय पठाउन नसकेको उनी बताउँछन् । गरिब र पतिपत्नी दुबै दृष्टिविहीन भएका कारण छोरीहरुलाई विद्यालय पठाउन आवश्यक लत्ताकपडा, शैक्षिक सामग्रीको जोहो गर्न उनीहरुलाई समस्या छ ।

सुस्मिताले दुखेसो पोख्दै भनिन् – “हामीले केही पनि किनेका छैनौँ, किन्ने पैसा पनि छैन । घरखर्चको सामान श्रीमान्को तलब आएपछि दिउँला भनेर उधारोमा लिएर चलाइआएको छु । यहाँ वरपरका दिदीबहिनीले भाँडाकुँडा सहयोग गर्नुभएको छ । छोरीहरुलाई विद्यालय पठाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो तर केही उपाय निस्किएको छैन ।” राज्यले चौमासिक रुपमा दिने २ हजार ४ सय रुपैयाँ भत्ताले एक महिनाको घरखर्च धान्न पनि गाह्रो हुने गरेको उनी बताउँछिन् ।

गाउँमा घर छाड्न परेपछि बहिनीहरु र आमालाई होतारेर बजार झरेकी दृष्टिविहीन विक दम्पतीका जेठी छोरी निरुताले कतै काम पाए गर्ने सोच बनाएकी छन् । बिहान बेलुका काम गरेर भएपनि विद्यालयमा पढ्न जाने उनको धोको छ । कान्छी बहिनीलाई काखमा च्यापेर लामखेतको चौरमा बसेकी सुस्मिताले केही समय अगाडि स्थानीय एक होटलमा भाँडा र कपडा धुने काम गरेको तर मालिकले पैसा नदिएको गुनासो गरिन् ।

एक जना दाइले बङ्गुरको खोर सफा गर्ने काम लगाइदिने आश्वासन दिएपछि आशावादी बनेकी निरुताले बिहान र बेलुका अरुको काम गरेर भएपनि विद्यालयमा गएर पढ्ने इच्छा रहेको बताइन् । उनले भनिन् – “आमा केही गर्न सक्नुहुन्न । बहिनीहरुको हेरचाह सबै मैले नै गर्छु । उनीहरुलाई सँगै स्कुल लैजाने र ल्याउने गर्न पाए हुन्थ्यो भनेको ! केही गरेपनि पढ्न पाइएन । पढ्न निकै मन छ । पढ्न पाइन्छ कि पाइँदैन थाहा छैन ।” निरुताकी बहिनी अञ्जलीले वरपरका सबै विद्यालय जाँदा आफूलाई पनि विद्यालय जान हुटहुटी जागेको तर जान नपाएको बताइन् ।

अपाङ्ग सङ्घ म्याग्दीकी सदस्य सन्ध्या छन्त्यालले दृष्टिविहीन विक दम्पतीका छोरीहरुलाई शिक्षा लिने अवसरबाट वञ्चित हुन नदिन सहयोगी हातको खाँचो रहेको बताइन् ।

घरमूली जलनले कक्षा १२ सम्मको अध्ययन गरेपनि कतै अवसर पाएनन् । “बलेवाको जनता धन माविबाट मैले एसएलसी पास गरेको हुँ, त्यसपछि म्याग्दी क्याम्पसमा आएर दुःखजिलो गरी १२ कक्षासम्मको पढाइ पूरा गरेको थिएँ, अहिले छोरीहरुलाई स्कुल पठाउन नसक्दा निकै दुःखित छु” – उनले भने । जलन तीन वर्षको हुँदा दादुराको सङ्क्रमणले दुबै आँखा बन्द भएको थियो भने उनकी श्रीमती सुस्मिताको १३ वर्षको उमेरमा आँखाको ज्योति गुमेको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter