प्रधानमन्त्री निर्वाचनको प्रक्रिया; सभापति देउवा चांैथोपटक प्रधानमन्त्री बन्दै

Sher Bahadur Deuwaकाठमाडौँ, जेठ २० गते । प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएपछि व्यवस्थापिका–संसद् सचिवालयले नयाँ प्रधानमन्त्रीको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

कार्यतालिकाअनुसार आज जेठ २० गते बिहान ११ देखि ४ बजेसम्म प्रधानमन्त्री पदका लागि उम्मेदवारी दर्ता भएको छ भने भोलि जेठ २१ गते निर्वाचन हुनेछ ।

नेपालको संविधानको धारा २९८ को उपधारा (३) र संसद् नियमावली, २०७३ को परिच्छेद ९ को दफा ४९ मा प्रधानमन्त्री चयनसम्बन्धी व्यवस्था छ । प्रधानमन्त्रीको राजीनामापछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानअनुसार जेठ ११ गते संसद्मा रहेका राजनीतिक दलको सहमतिमा प्रधानमन्त्री चयन गर्न सात दिनको समयावधिसहित आह्वान गर्नुभएको थियो ।

सहमतिमा प्रधानमन्त्रीको चयन हुन नसकेपछि राष्ट्रपति भण्डारीले जेठ १८ गते बहुमतीय प्रक्रिया अघि बढाउन आह्वान गर्नुभएको थियो । राष्ट्रपतिको पत्र प्राप्त भएपछि सचिवालयले नियमावलीको दफा ४९ को उपदफा (४) बमोजिम निर्वाचन प्रक्रिया अघि बढाएको छ । नियमावलीअनुसार उम्मेदवारीको सूचना सम्बन्धित उम्मेदवारले संसद् बैठकमा प्रस्तुत गरेपछि प्रस्तावक र समर्थक सदस्यले समर्थन गर्नेछन् ।

उपनियम (५) बमोजिम उम्मेदवारीको सूचना एउटामात्र प्राप्त भएमा प्रस्तावक र समर्थक सदस्यले बोलिसकेपछि सभामुखले उक्त उम्मेदवारीलाई बैठकसमक्ष निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ । सो उम्मेदवारीउपर उपनियम (७) बमोजिम मत विभाजन गर्दा संसद्को तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित भएमा सम्बन्धित उम्मेदवार प्रधानमन्त्री पदमा निर्वाचित भएको घोषणा गरिनेछ ।

उपनियम (६) मा उम्मेदवारीको सूचना एकभन्दा बढी प्राप्त भएमा दर्ता क्रममा प्रत्येक उम्मेदवारको प्रस्तावक र समर्थक सदस्यले बोलिसकेपछि सबै उम्मेदवारीका सूचनामाथि सङ्क्षिप्त छलफल हुनेछ र उम्मेदवारी फिर्ता लिने समय समाप्त भएपछि सभामुखले कायम रहेका सबै उम्मेदवारीका सूचनालाई एकैपटक बैठकसमक्ष निर्णयार्थ प्रस्तुत गर्ने प्रावधान छ ।

त्यसरी निर्णयार्थ प्रस्तुत उम्मेदवारीमध्ये जुन उम्मेदवारले संविधानको धारा २९८ को उपधारा (३) बमोजिम संसद्को तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत प्राप्त गर्छ सो उम्मेदवार प्रधानमन्त्री पदमा निर्वाचित भएको मानिनेछ ।

संसद्को निर्णय मत विभाजनद्वारा हुनेछ । एउटामात्र उम्मेदवारीको सूचना प्राप्त भएको आवस्थामा सभामुखले उम्मेदवारको पक्षमा रहने अर्थात् ‘हुन्छ’ भन्ने र उम्मेदवारको विपक्षमा रहने अर्थात् ‘हुन्न’ भन्ने सदस्यलाई भिन्नाभिन्नै ढोकाबाट उपकक्ष (लबी) मा प्रवेश गराएर मत सङ्कलन गरिने उपनियम (७)मा उल्लेख छ ।

एकभन्दा बढी उम्मेदवारीको सूचना प्राप्त भएको अवस्थामा सभामुखले प्रत्येक उम्मेदवारको पक्षमा रहने सदस्यलाई भिन्नाभिन्नै ढोकाबाट उपकक्ष (लबी) मा प्रवेश गराएर मत सङ्कलन गरिन्छ । त्यसरी सङ्कलित मतगणनाको परिणाम सभामुखले तत्काल सुनाउनु हुनेछ र त्यसप्रति कसैले पनि असहमति प्रकट गर्न पाउने छैन ।

प्रधानमन्त्रीले आफ्नो कार्यभार सम्हाल्नुअघि संविधानको धारा ८० बमोजिम अनुसूची–८ को ढाँचामा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने प्रावधान छ ।

प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र), नेपाल लोकतान्त्रिक फोरम, समाजवादी जनता पार्टी, अखण्ड नेपाल पार्टी, नेकपा (संयुक्त) सहित अन्य साना दलका ३१० सांसदको समर्थनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । संसद्मा हाल ५९३ सांसद छन् भने प्रधानमन्त्रीमा निर्वाचित हुन २९७ मत आवश्यक पर्छ ।

भरतपुर महानगरपालिकाको स्थानीय तह निर्वाचनको मतगणना पुनःसञ्चालन नभएसम्म संसद्को बैठक चल्न नदिने नेकपा (एमाले) को अडानका कारण संसद् बैठक दुई दिनदेखि अवरुद्ध छ । भोलिका लागि तोकिएको संसद् बैठक सञ्चालन हुन नसके प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया कसरी अघि बढ्छ त्यो भने हेर्न बाँकी नै छ ।

सभापति देउवा चांैथोपटक प्रधानमन्त्री बन्दै

संसदीय प्रक्रिया सहजरुपमा अघि बढेमा नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा मुलुकको ४० औँ प्रधानमन्त्री बन्ने निश्चित प्रायः भएको छ । उहाँ यसअघि तीन पटक प्रधानमन्त्री भइसक्नुभएको छ ।

व्यवस्थापिका संसद्मा पहिलो ठूलो दल नेपाली काँग्रेसले सदनमा तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) लगायत साना दलको साथ र सहयोगमा प्रधामन्त्री पदको नेतृत्व गर्ने भएको छ । यसअघि गत साउन १९ गते काँग्रेसलगायत दलको साथ र सहयोगमा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो ।

प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र), नेपाल लोकतान्त्रिक फोरम, समाजवादी जनता पार्टी, अखण्ड नेपाल पार्टी, नेकपा (संयुक्त) सहित अन्य साना दलका ३१० सांसदको समर्थनमा सभापति देउवाले आज प्रधानमन्त्री पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

संसद् सचिवालयले आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म प्रधानमन्त्री चयनका लागि उम्मेदवारीको सूचना दिन समय निर्धारण गरेको थियो । भोलि जेठ २१ गते बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुँदैछ ।

सभापति देउवाको प्रस्तावकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहनुभएको छ भने समर्थकमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह, अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का र नेकपा (संयुक्त) का नेता जयदेव जोशी रहनुभएको छ ।

सभापति देउवाको प्रस्तावकमा हस्ताक्षरपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले आफूले सहज सत्ता हस्तान्तरणको प्रक्रिया राजीनामाबाटै सुरु गरेको बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “नयाँ राजीतिक संस्कारतर्फका साथै राजनीतिक स्थिरता र समृिद्धमा मुलुकलाई लानु छ । कसै न कसैले रेकर्ड त बनाउँनै पर्छ । मैले इतिहास र राष्ट्रप्रति गम्भिर भएर यो जिम्मेवारी निर्वाह गरेको हुँ ।” दोस्रो चरणको निर्वाचनको जिम्मेवारी सबैले मिलेर पूरा गर्नुपर्ने बताउँदै उहाँले त्यसका लागि राष्ट्र नै एकताबद्ध हुनुपर्छ भन्नुभयो ।

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले वर्तमान सरकार तत्काल परिवर्तन हुँदैछ भन्ने थाहा पाउँदापाउँदै आफू यो गठबन्धनको आवश्यकता महसुस गरेर नै सरकारमा सहभागी भएको बताउनुभयो । “काँग्रेस, माओवादी केन्द्र, मधेसवादी दल सबैले मेरो आवश्यकता महसुस गरेर नै सरकारमा आउन आग्रह गरेकाले म सरकारमा आएको हुँ” उहाँले भन्नुभयो ।

मधेसी, आदिवासीलगायत सीमान्तकृत सबैको माग सम्बोधन गर्नुपर्छ भन्ने विश्वासका साथ र संविधान कार्यान्वयनका लागि निर्वाचनमा सबैलाई सहभागी बनाउन आफ्नो दलले वर्तमान सरकार र गठबन्धनलाई सहयोग गरेको उहाँको भनाइ थियो ।

काँग्रेस नेता विमलेन्द्र निधिले नेपालको इतिहासमा पहिलोपटक बहालवाला प्रधानमन्त्रीले नै आउने प्रधानमन्त्रीको प्रस्ताव बसेको बताउँदै दलहरुबीच सहमति र इमान्दारिताका लागि यसले राम्रो सन्देश दिएको विश्वास व्यक्त गर्नुभयो ।

काँग्रेस र माओवादी केन्द्रबीच विगतमा भएको सात बुँदे समझदारीअनुसार नै दाहाल नेतृत्वको माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन भएको जानकारी गराउँदै उहाँले भन्नुभयो, “सोही समझदारीमा काँग्रेस सभापतिलाई सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो । यो समझदारी अनुसार नै आज सभापति देउवाले प्रधानमन्त्रीमा उम्मेदवारी दिनुभएको हो ।

अहिले नै काँग्रेस, माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरम, नेकपा (संयुक्त), समाजवादी जनता पार्टी र अखण्ड नेपाल पार्टीलगायत दलका ३१० सांसदको समर्थन रहेको जानकारी गराउँदै उहाँले निर्वाचनमा मतसङ्ख्याको कुनै समस्या नरहेको स्पष्ट पार्नुभयो । राजनीतिक समस्या समाधानका लागि भने प्रमुख प्रतिपक्षीलगायत सबै दलसँग छलफल गरिरहेको उहाँले बताउनुभयो ।

एमाले संसद् अवरोध गर्दै आएको बारेमा उहाँले एमाले जिम्मेवार प्रतिपक्षी दल भएकाले प्रधानमन्त्रीमा अवरोध नगर्ने विश्वास व्यक्त गर्नुभयो । संसद्मा हाल ५९३ सांसद सङ्ख्या कायम छ । तसर्थ प्रधानमन्त्रीको निर्वाचनका लागि आवश्यक मत सङ्ख्या २९७ हो ।

काँग्रेससँगको आलोपालो सत्ता नेतृत्व गर्ने समझदारीअनुसार प्रधानमन्त्री दाहालले यही जेठ १० गते पदबाट राजीनामा दिनुभएको थियो । प्रधानमन्त्रीको राजिनामापछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानअनुसार जेठ ११ गते संसद्मा रहेका राजनीतिक दलको सहमतिमा प्रधानमन्त्री चयन गर्न सात दिनको समयावधिसहित आह्वान गर्नुभएको थियो ।

सो अवधिमा सहमतिमा प्रधानमन्त्रीको चयन हुन नसकेपछि राष्ट्रपति भण्डारीले जेठ १८ गते बहुमतीय प्रक्रिया अघि बढाउन आह्वान गर्नुभएको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter