एक करोडको लगानीमा पूर्वाधार विस्तार ; महिलाको सक्रियतामा सडक निर्माण

Myagdi Ghodapaniम्याग्दी, जेठ २२ गते । निलगिरि हिमालको काखमा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय क्षेत्र खयरबराहमा करिब रु एक करोडको लागतमा धमाधम पूर्वाधार विस्तारको काम भइरहेको छ । स्वदेश तथा प्रवासमा रहेका स्थानीय पाउद्वार र शिखका युवाले आर्थिक सङ्कलन गरी रु ९८ लाख ८६ हजारको लागतमा पूर्वाधार निर्माण कार्य भइरहेको स्थानीय क्या राजु पुनले जानकारी दिनुभयो । पुनका अनुसार स्थानीयवासीको सक्रियतामा खानेपानी, शौचालयसहित देशका विभिन्न जिल्लाका साथै विदेशबाट आउने पर्यटकलाई समेत सहज हुने गरी सामुदायिक लज निर्माणको काम पनि भइरहेको छ । अन्य पूर्वाधार पनि थपिएको छ । पूर्वाधार विस्तारका लागि युकेमा रहेका शिखवासीको पहलमा रु ७९ लाख सङ्कलन भएको छ ।

जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्ने शिखको खयरबराह क्षेत्रमा पाउद्वारस्थित खोप्रा देखि खयरबराह तालसम्म बाटो मर्मत, खयरक्षेत्रमा निर्मित पदमार्गमा फलामको रेलिङ, सत्तल, खानेपानीलगायतका आवश्यक पूर्वाधार विस्तारले तीव्रता पाएको छ ।

खोप्रा आसपासको क्षेत्रमा निर्माण भइरहेको पूर्वाधारमा खटिएका पुनले जिल्लाकै नमुना पर्यटकीयस्थलका साथै धार्मिक गन्तव्य बनाउने अभियानमा विश्वभर रहेका शिख, पाउद्वारवासीको सक्रियतामा आर्थिक सङ्कलन गरिएको बताउनुभयो । निकै जोखिमपूर्ण तरिकाले खानेपानीको पाइप विस्तार भइरहेको छ । पाउद्वारबाट खोप्रासम्म पुग्दा लाग्ने थकाइलाई विश्रामसँगै सुविधासम्पन्न लजको व्यवस्थाले समेत पर्यटकलाई राहत मिलेको छ ।

डिजिटल साक्षरता अभियन्ता महावीर पुनले विस्तार गरेको बेतारे इन्टरनेटको राजधानीसमेत भनेर चिनिने खोप्रामा कास्कीको घान्दुक, शिखको घोरेपानी, पाउद्वार र नारच्याङबाट पर्यटक पुग्ने गरेका छन् । पुनकै प्रयासमा सामुदायिक लजको स्थापना भएको हो । समुद्री सतहबाट चार हजार ८०० मिटर उचाइमा अवस्थित खयरबराही मन्दिरमा जनैपूर्णिमाको दिन सयौँको सङ्ख्यामा पूजा गर्न जाने गरेका छन् । निलगिरि हिमालको नजिक रहेको मन्दिरको छेउमा खयरबराह तालको अवलोकन गर्न विदेशी पर्यटक समेत पुग्ने गरेका छन् ।

आफ्नो मनोकामना पूरा हुने जनविश्वासका साथ म्याग्दीको सदरमुकाम बेनी–पोखरेबगर हँुदै तीन दिनको पैदलयात्रामा सयौँको सङ्ख्यामा खयरबराही तालमा जोखिमपूर्ण यात्रा गरेर भक्तजन मन्दिरमा पुग्ने गरेका छन् । पहिलोदिन पाउद्वार, दोस्रोदिन खयरक्षेत्र र तेस्रो दिन मन्दिरमा पूजा गरेर फर्कन्छन् । पदमार्ग र आवश्यक पूर्वाधारले धार्मिक तथा घुम्न जाने पर्यटकलाई ठूलो राहत मिलेको छ । रासस

महिलाको सक्रियतामा सडक निर्माण

अन्नपूर्ण गाउँपालिका–८ नांगीमा महिलाको सक्रियतामा सडक आयोजना निर्माण भएको छ । साविक राम्चे गाविसको १ र २ नम्बर मा पर्ने नांगी गाउँका महिलाले सिप र श्रम प्रयोग गरेर सडक स्तरवृद्धि गरेका हुन् । फलामेडाँडा–नांगी–राम्चे सडक आयोजनाको भ¥याङबराह र झिमडाँडा क्षेत्रको सडक सोलीङ गर्ने काममा महिला परिचालन भएका उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण गर्बुजाले बताउनुभयो ।

“चार सय २५ मिटर सडकमा ढुङ्गा बिछ्याएर सोलीङ गर्ने कार्यमा महिला खटिएका थिए” अध्यक्ष गर्बुजाले भन्नुभयो “डेढ सय जना महिलाले एक÷एक दिन श्रमदान र पाँच÷पाँच दिन ज्यालामा काम गरेर सडकमा ढुङ्गा बिछ्याएका हुन् ।” उक्त योजनाका लागि जिल्ला समन्वय समितिले पाँच लाख र साविक गाविस कार्यालयले रु
तीन लाख ५० हजार बजेट विनियोजन गरेको थियो ।

हिलोमा सवारीसाधन फस्ने समस्या भएको ठाउँमा ढुङ्गा बिछ्याएपछि सहज भएको छ । कच्ची सडकमा सवारीसाधन हिलोमा फस्ने समस्याले गर्दा आवतजावतमा कठिनाइ भएपछि गाउँका सबै महिला मिलेर सडक निर्माण गरेको उपभोक्ता समितिका सचिव माया पुनले बताउनुभयो ।

बाहिरबाट मजदुर ल्याउँदा भनेको बेला काम नहुने, बजेट फिर्ता हुने र गुणस्तरीय काम नहुने भएपछि महिला अग्रसर भएका पुनले जानकारी दिनुभयो । उनीहरुले सुरु गरेको एक महिनाभन्दाअघि नै काम सम्पन्न गरेका छन् । आयोजनाबाट स्थानीयले रोजगारी समेत पाएका छन् ।

सडक निर्माणका क्रममा महिलालाई गाउँका पुरुषले पनि साथ दिएका थिए । पुरुष रोजगारीका लागि विदेश र सहरमा गएकाले नांगीमा सञ्चालन हुने खानेपानी, सडक, भवन निर्माणलगायतका योजनामा महिलाको सहभागिता बढी हुने गर्छ ।

अन्नपूर्ण–८ का वडा सचिव कृष्ण विश्वकर्माले नांगीका महिलाको सक्रियतामा सम्पन्न सडक आयोजना नमुनायोग्य भएको बताउनुभयो ।

गत वर्ष पनि फलामे डाँडा नांगी राम्चे सडक आयोजनाको काम महिलाकै सक्रियतामा भएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter