नेपालको ४०औँ प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचित; नवनिर्वाचित प्रधानमन्त्री देउवाको जीवनी

PM-Sher-Bahadur-Deubaकाठमाडौँ, जेठ २३ गते । व्यवस्थापिका–संसद्ले आज नेपालको ४०औँ प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचित गरेको छ ।

संसद्को आजको दोस्रो बैठकमा भएको नयाँ प्रधानमन्त्री चयनको निर्वाचनमा सो पदका एक मात्र उम्मेदवार देउवाले ३८८ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँको विपक्षमा १७० मत परेको थियो । एक मात्र उम्मेदवार भए पनि प्रधानमन्त्री चयनका लागि हाल कायम सांसदको ५० प्रतिशतभन्दा बढी मत ल्याउन आवश्यक भएकाले मत विभाजन भएको हो ।

हाल संसद्मा कायम कुल ५९३ सांसद रहेकामा आजको मतदानमा ५५८ ले भाग लिनुभएको थियो ।

‘सभापति देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस्’ भनी प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।

माओवादी केन्द्र र नेपाली काँग्रेसका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरम, समाजवादी जनता दल, अखण्ड नेपाल पार्टी र नेकपा (संयुक्त) लगायतका दलले देउवाको पक्षमा मतदान गरेका थिए । देउवाको विपक्षमा नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, परिवार दललगायतले मतदान गरेका थिए ।

प्रधानमन्त्रीमा विजयी घोषणासँगै सभापति देउवालाई सभामुख ओनसरी घर्ती र सांसद्हरुले बधाई दिनुभएको थियो ।

संसद्को अर्काे बैठक यही जेठ २५ गते बिहीबार दिउँसो १ बजे बस्नेछ ।

नवनिर्वाचित प्रधानमन्त्री देउवाको जीवनी
नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा व्यवस्थापिका–संसद्को आजको बैठकबाट मुलुकको ४०औँ प्रधानमन्त्री निर्वाचित हुनुभएको छ । प्रधानमन्त्रीका रुपमा यो उहाँको चौथो कार्यकाल हो ।
नवनिर्वाचित प्रधानमन्त्री देउवाको जन्म २००३ जेठ ३१ गते आसिग्राम–५ रुवाखोला डडेल्धुरामा भएको हो । हाल उहाँ बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आउनुभएको छ ।

प्रधानमन्त्री देउवा काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिनुभएको थियो । खासगरी विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रुपमा सक्रिय हुनुभएका उहाँ विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिनुभएका हो । उहाँ नेपाल विद्यार्थी सङ्घका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुनुहुन्छ ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक प्रधानमन्त्री देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसक्नुभएको छ । उहाँकी धर्मपत्नी डा आरजु राणा देउवा व्यवस्थापिका–संसद् सदस्य हुनुहुन्छ । प्रधानमन्त्री देउवाका एक छोरा हुनुहुन्छ ।

विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित हुनुभएका उहाँ २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी हुनुभएको थियो ।

विसं २०४८ मा गृहमन्त्री बन्नुभएका प्रधानमन्त्री देउवाले त्यसपछि पटकपटक गरी तीन पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँ पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री हुनुभएको थियो । त्यसपछि उहाँ २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ सम्म दोस्रोपटक प्रधानमन्त्री हुनुभयो । असोज १८ मा उहाँलाई तत्कालीन राजा ज्ञानेन्द्रले पदबाट बर्खास्त गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवा २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बन्नुभयो । तर, राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई असक्षम भन्दै २०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गर्नुभएको थियो ।

प्रधानमन्त्री हुँदा उहाँले पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेसलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेस (कदमजम) को अवधारणा ल्याउनुभएको हो । त्यस्तै उहाँकै पालामा विशेष वर्ग एवम् समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोगहरू गठन भएका हुन् ।

पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा काँग्रेस विभाजन भई गठन भएको नेपाली काँग्रेस (प्रजातान्त्रिक)को उहाँ सभापति बन्नुभयो । विसं २०६४ मा काँग्रेस र काँग्रेस (प्रजातान्त्रिक)को एकतापछि उहाँ नेपाली काँग्रेसको वरिष्ठ नेता हुनुभएको थियो ।

सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष रहुनुभएका उहाँ सन् २०१३ देखि उक्त सङ्गठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष हुनुहुन्छ । प्रजातान्त्रिक आन्दोलनका क्रममा उहाँले पटक–पटक गरी नौ वर्ष जेल जीवन बिताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले भारत, चीन, भुटान, माल्दिभ्स, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्विट्जरल्यान्ड, ग्रिस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलियालगायत मुलुकको भ्रमण गर्नुभएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter