• Friday, May 02, 2025

प्रधानमन्त्री देउवाद्वारा शपथ; सात सदस्यीय मन्त्रिपरिषद् गठन; सात सदस्यीय मन्त्रिपरिषद् गठन

Deuwa Sapathकाठमाडौँ, जेठ २४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

व्यवस्थापिका–संसद्बाट मङ्गलबार नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता देउवा चौंथो पटक प्रधानमन्त्री निर्वाचित हुनुभएको हो । उहाँले कुल उपस्थित ५५८ मतमध्ये ३८८ मत प्राप्त गर्नुभएको थियो ।

यसअघि उहाँ विसं २०५२ भदौ २७ गते पहिलो पटक प्रधानमन्त्री बन्नुभएको थियो । यसपछि २०५८ साउन ११ गते दोस्रो पटक र २०६१ साल जेठ २० गते तेस्रो पटक उहाँ प्रधानमन्त्री बन्नुभएको थियो ।

नवनिर्वाचित प्रधानमन्त्री देउवाले ईश्वर, देश र जनताको नाममा शपथ लिनुभएको हो । विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश गोपाल पराजुली, सभामुख ओनसरी घर्ती, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत उपस्थित हुनुहुन्थ्यो ।

यसैगरी, पूर्व प्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री एवम् मन्त्रीहरू, संवैैधानिक निकायका प्रमुख, तीनवटै सुरक्षा निकायका प्रमुख, उच्च पदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, पत्रकार, उद्योगी तथा व्यवसायी सो समारोहमा उपस्थित हुनुहुन्थ्यो ।

शपथ ग्रहणपछि उपस्थित विशिष्ट व्यक्तिहरुले प्रधानमन्त्री देउवालाई बधाई दिनुभएको थियो ।

यस्तै, राष्ट्रपति भण्डारीले आजै तीन उपप्रधानमन्त्रीलाई पनि पद तथा गोपनीयताको शपथ गराउनुभयो । फोरम लोकतान्त्रिक नेपालका अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानसहित सङ्घीय मामिला तथा स्थानीय विकास, नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले उपप्रधानसहित परराष्ट्र र काँग्रेस नेता गोपालमान श्रेष्ठले उपप्रधानसहित शिक्षा मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

यसैगरी, काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ, माओवादी नेता जनार्दन शर्माले गृह, काँग्रेसका फरमुल्हा मन्सुरले श्रम तथा रोजगार र माओवादीकै प्रभु साहले बिना विभागीय मन्त्रीको कार्यभार सम्हाल्नु हुनेभएको छ ।

नवनियुक्त उपप्रधान तथा मन्त्रीहरुलाई नेपालको संविधान २०७३ अनुसार राष्ट्रपति भण्डारीले गोपनीयताको शपथ गराउनुभएको थियो ।

सात सदस्यीय मन्त्रिपरिषद् गठन

प्रधानमन्त्री शेरबहादुर देउवाले तीन उपप्रधानमन्त्रीसहित सात सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।

नवगठित मन्त्रिपरिषद्मा विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित क्रमशः सङ्घीय मामिला तथा स्थानीय विकास, परराष्ट्र र शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी, प्रधानमन्त्रीले अर्थमन्त्रालयको कार्यभार ज्ञानेन्द्रबहादुर कार्कीलाई, श्रम तथा रोजगारको जिम्मेवारी फरमुल्हा मन्सुरलाई, गृहको जनार्दन शर्मालाई र प्रभु साहलाई बिनाविभागीय मन्त्री तोक्नुभएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter