• Friday, May 02, 2025

राजपालाई निर्वाचनमा सहभागी गराउने प्रयास जारी–उपप्रधानमन्त्री गच्छदार; स्थानीय तह निर्वाचन तोकिएकै मितिमा गर्न सरकारलाई एमालेको ध्यानाकर्षण

bijay kumarविराटनगर, जेठ ३१ गते । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउने प्रयास जारी रहेको बताउनुभएको छ ।

निर्वाचन अगाडि संविधान संशोधन हुन नसक्ने विषय सबैलाई अवगत भएकै कुरा हो, उहाँले भन्नुभयो – “आगामी दिनमा सो प्रस्तावलाई दुई तिहाइबाट पारित गराउनका लागि हरसम्भव प्रयास गरिन्छ ।”

उपप्रधानमन्त्री गच्छदारले राष्ट्रिय जनता पार्टीले निर्वाचनमा सहभागी हुने प्रतिबद्धता प्रकट गरेको अवस्थामा दोस्रो चरणअन्तर्गत असार १४ गते हुने ४३ जिल्लामध्येका ११ जिल्लाको स्थानीय तहको निर्वाचन तेस्रो चरणमा गराउन सकिने सम्भावना रहेको धारणा व्यक्त गर्नुभयो. ।

मुलुकलाई द्वन्द्वतिर धकेल्नुभन्दा केही समय लिएर भएपनि समस्या समाधान गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिँदै उहाँले संविधानलाई सर्वस्वीकार्य बनाउनतर्फ सबै दल एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

लोकतान्त्रिक फोरम नेपालका अध्यक्षसमेत रहनुभएका उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री गच्छदारले पार्टीका जिल्ला समितिलाई स्थानीयस्तरमा अन्य पार्टीसँग तालमेल गरेर निर्वाचनमा सहभागी हुने विषयमा निर्णय लिने अधिकार प्रदान गरिएको बताउँदै विराटनगर महानगरपालिकाको उम्मेदवारका नामावली भोलि सम्ममा सार्वजनिक गरिने जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचन तोकिएकै मितिमा गर्न सरकारलाई एमालेको ध्यानाकर्षण

नेकपा (एमाले) ले स्थानीय तहको दोस्रो चरणको निर्वाचन तोकिएको मितिमै गर्नुपर्ने र कुनै हालतमा पनि सरकारले निर्वाचन सार्न नहुनेमा जोड दिएको छ ।

नेकपा (एमाले) को पार्टी कार्यालयमा आज बसेको स्थायी कमिटीको बैठकले निर्धारित मितिमा निर्वाचन गर्न नसके नेतृत्व गर्नेको नियतमाथि समेत गम्भीर ढङ्गले प्रश्न उठ्ने हुँदा निर्वाचन सार्न नहुनेमा जोड दिइएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सबै राजनीतिक दलसँग संवाद गरी परिस्थिति सहज बनाउँदै असार १४ गते तोकिएको मितिमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने गम्भीर दायित्वबाट विचलित नहुन सरकारलाई आग्रह गरेको पार्टीका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

सरकारको नेतृत्व तहबाटै निर्वाचनका मितिका बारेमा भ्रमपूर्ण वक्तव्य सार्वजनिक गर्ने, निर्वाचनका बारेमा अनिश्चतता सिर्जना गर्ने र राजनीतिक अस्थिरतालाई बढावा दिने सार्वजनिक अभिव्यक्तिप्रति पार्टीको गम्भीर आपत्ति रहेको बैठकपछि पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

तोकिएको मितिमा प्रदेश नं १, २, ५ र ७ मा निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गर्दै बैठकले स्थानीय तहको निर्वाचन र संविधान संशोधन बिल्कुल अलग विषय भएको विज्ञप्तिमा उल्लेख छ ।

एमालेले व्यवस्थापिका–संसद्मा प्रस्तावित संविधान संशोधनप्रति पार्टीको गम्भीर असहमति रहेको र उक्त प्रस्तावलाई फिर्ता गर्न सरकारसमक्ष मागसमेत गरेको छ ।

बैठकले राष्ट्रिय जनता पार्टी (राजपा)ले केही समयदेखि उठाउँदै आएका केही मागप्रति पार्टी सकारात्मक रहेको जनाउँदै विशेषगरी आन्दोलनका क्रममा मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति दिने, घाइतेको उपचारको व्यवस्था गर्ने लगायतका मागलाई सम्बोधन गर्न बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ ।

मुलुकमा दण्डहीनताको स्थिति आउन नदिन र गम्भीर अपराधमा संलग्नलाई उन्मुक्ति नदिन ध्यानाकर्षण गराउँदै एमालेले कुनै पनि निर्दोष नेपाली नागरिकमाथि अनुचित दण्ड सजाय नहोस् भन्ने कुरामा पार्टी सचेत रहेको र सो क्रममा आवश्यक छानबिन गरी निर्दोष व्यक्तिमाथि लगाइएका मुद्दा फिर्ता गरी निर्वाचनको वातावरण बनाउन पनि बैठकले सरकारको ध्यानाकर्षण गरेको छ ।

बैठकले स्थानीय तहको निर्वाचनको तयारी र प्रचारप्रसारका काममा अझै एकताबद्ध रुपमा अघि बढ्न पार्टीको सिङ्गो पङ्क्तिलाई निर्देशन दिएको छ ।

स्थानीय तहको निर्वाचनमा भाग लिन र नेपालको राजनीतिक स्थायित्वमा भूमिका निर्वाह गर्न राष्ट्रिय जनता पार्टीलगायत सबै राजनीतिक दललाई एमालेले आह्वान गरेको छ ।

स्थायी कमिटीको अर्को बैठक असार १ गते बिहान ८ः०० बजे पार्टी अध्यक्ष ओलीको निवास बालकोट भक्तपुरमा बस्ने छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter