संयमता अपनाउन आयोगको आग्रह; सुरक्षा व्यवस्था मजबुत बनाउन सरकार प्रतिबद्धः गृहमन्त्री शर्मा

Election Commissionकाठमाडौँ, असार ५ गते । निर्वाचन आयोगले सामाजिक सद्भाव राखी शान्तिपूर्ण तरिकाबाट राजनीतिक गतिविधि सञ्चालन गर्न सबै राजनीतिक दल, उम्मेदवार र मतदातालाई अपिल गरेको छ ।

दोस्रो चरणको निर्वाचनको प्रचारप्रसारका क्रममा बाजुरालगायत जिल्लामा राजनीतिक दलका उम्मेदवार र कार्यकर्ताबीच झपड भई दुःखद् घटना भएपछि आयोगले निर्वाचनसँग सम्बन्धित गतिविधि सञ्चालन गर्दा संयमता अपनाउन अनुरोध गरेको हो । आयोगले यही असार १४ गते हुने निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न असर पार्नेखालका कुनै पनि किसिमका घटना हुन नदिनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन पनि सरकारसँग आग्रह गरेको छ ।
आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा बाजुरा, छेडेदह – ५ डोगडीका हंसबहादुर राउतको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । राजनीतिक दलका कार्यकर्ताबीच झडप हुँदा गम्भीर घाइते भएकामा उपचारार्थ बाजुराको मार्तडीतर्फ लैजाने क्रममा उनको निधन भएको थियो ।

आयोगको आजको बैठकले राउतप्रति श्रद्धाञ्जलि अर्पणका साथ शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । यसैगरी उम्मेदवारी दर्ताकै क्रममा आइतबार कपिलवस्तु, बाडगङ्गा ¬– ४ भित्री हुलाकी सडकखण्डमा बम विस्फोटमा परी १० व्यक्ति घाइते भएको घटनाप्रति आयोगले दुःख व्यक्त गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

सुरक्षा व्यवस्था मजबुत बनाउन सरकार प्रतिबद्धः गृहमन्त्री शर्मा

बुटवल, असार ५ गते । गृहमन्त्री जनार्दन शर्माले यही असार १४ गते हुनगइरहेको स्थानीय तहको निर्वाचनमा जनताले स्वतन्त्र रुपले आफ्नो मताधिकार प्रयोग गर्न पाउन् भनेर सुरक्षा व्यवस्था मजबुत बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आज बुटवलमा आयोजित आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– “केन्द्रीय सुरक्षा समितिले तय गरेका सुरक्षा योजनाअनुरुप सबै जिल्लामा जनताले ढुक्कसँग मतदान गर्न पाउने गरी सुरक्षा कार्ययोजना तय गरेर लागू गरिन्छ ।”

गृहमन्त्री शर्माले यही असार १४ गतेको निर्वाचनका लागि आइतबार भएको उम्मेदवारी मनोनयन दर्ताका क्रममा बाजुरा, सङ्खुवासभा र कपिलवस्तुमा केही अप्रिय घटना भएको जानकारी प्राप्त भएको उल्लेख गर्दै ती घटनामा आवश्यक अनुसन्धान गरी दोषीलाई कारबाही र आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिने गरी लाग्नसमेत सम्बन्धीत निकायलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।

“कपिलवस्तु घटनाको यथार्थ छानबिन गरी दोषीलाई छिट्टै कानुनको दायरामा ल्याइनेछ,” उहाँले भन्नुभयो – “मधेस केन्द्रीत दलका असन्तुष्टिलाई सम्बोधन गर्न र दीर्घकालीन द्वन्द्व अन्त्य गरी जनतालाई सुरक्षित रुपले मतदान गर्न पाउने वातावरण सिर्जनाका लागि दुई नं प्रदेशको निर्वाचन सारिएको हो ।”

निर्वाचन हुने जिल्लाको सुरक्षा अवस्था र सुरक्षा रणनीतिका बारेमा गृह मन्त्रालयले आज बुटवलमा आयोजना गरेको सुरक्षा गोष्ठीको प्रमुख अतिथिको रुपमा सहभागी हुन गृहमन्त्री शर्माले यहाँ आईपुग्नु भएको हो । सुरक्षा कार्ययोजनासहित जनतालाई सहज र सुरक्षित रुपमा मताधिकार प्रयोग गर्न पाउने अवस्थाको ग्यारेन्टी गर्ने प्रतिबद्धतासहित गोष्ठी सम्पन्न भएको समेत उहाँले जानकारी दिनुभयो ।

असार १४ गतेको निर्वाचनमा जनतालाई शान्तिपूर्ण, भयरहित र स्वतन्त्रतापूर्वक मतदान गर्न, निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन आवश्यक वातावरण सिर्जना गर्न तथा निर्वाचनमा शान्ति सुव्यवस्था अमनचयन बहाल राख्न आवश्यक सम्पूर्ण उपाय अवलम्वन गर्ने गोष्ठीको निष्कर्ष रहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी विष्णु ज्ञवालीले जानकारी दिनुभयो ।

गोष्ठीमा यस क्षेत्रका रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रशासनिक निकायका प्रमुखहरु तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतका निकायका जिल्लास्थित प्रमुखहरुको सहभागिता रहेको थियो ।

यस्तै गोष्ठीमा गृहमन्त्रीसहित, निर्वाचन आयुक्त सुधीरकुमार शाह, गृहसचिव लोकदर्शन रेग्मी, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter