• Thursday, May 01, 2025

प्रशोधन केन्द्र भएपनि फोहर खोलामा फालिन्छ

Riverदमक, असोज १ गते । जिल्लाको दमक नगरपालिकामा एक वर्षअघि निर्माण सम्पन्न भएको पूर्वाञ्चलकै पहिलो फोहरमैला प्रशोधन केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन । दमकको बजारी क्षेत्रबाट निस्कने दैनिक फोहरमैलाको दीर्घकालीन व्यवस्थापन गर्ने उद्देश्यले नगरपालिकाले निर्माण गरेको प्रशोधन केन्द्र सञ्चालनमा चासो नदिँदा केन्द्र हालसम्म उपयोगमा आउन सकेको छैन । फोहर प्रशोधन केन्द्र सञ्चालनमा आउन नसक्दा रतुवा खोलामै जथाभावी फोहरमैला फ्याँक्दै आएको पाइएको छ ।

दमक नगरपालिकाको वातावरण शाखाका अनुसार दमकमा दैनिक १५ टन फोहरमैला निस्कने गरेको छ । त्यस्तो फोहरमैलाको व्यवस्थापन पछिल्ला अढाई वर्षदेखि भने निजी क्षेत्रको संस्था पाथवे नेपाल जेभीले गरिआएको छ ।

दमकको फोहरमैला लामो समयदेखि दमक–२ स्थित बेलडाँगीस्थित रतुवा खोलाको बगरमा फालिने गरेको छ । यसरी खोला बगरमा फोहर फालिँदा समस्या भएको स्थानीयवासीले गुनासो गर्दै आएका छन् । तर नगरपालिकाले भने अहिले फालिँदै आएको प्रणालीलाई नै सुरक्षितरुपमा फोहर फाल्ने गरेको दाबी छ । यहाँस्थित स्थानीयवासी बेलडाँगीका राम तामाङ नगरपालिकाले फोहरमैलाको व्यवस्थापन गर्न प्रशोधन केन्द्र निर्माण गरे पनि त्यसलाई सञ्चालन नगरी परम्परागत ढंगले फोहरको व्यवस्थापन गर्दा यस क्षेत्रका बासिन्दा नराम्ररी प्रभावित हुनुपरेको गुनासो गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ,, “फोहरमैला जथाभावी व्यवस्थापन गर्दा दुर्गन्धितसँगै वातावरण नै प्रदूषित बन्दै गएको छ ।”

नजिकै प्रशोधन केन्द्र बने पनि उपयोगमा नआउँदा स्थानीय क्षेत्रमा दुर्गन्ध फैलिएको उहाँको भनाइ छ । तामाङका अनुसार प्रशोधन केन्द्र बनाएको भन्छन्, तर अहिलेसम्म पनि प्रयोगमा ल्याउँदैनन्, यसले गर्दा दुर्गन्ध फैलिएको छ, खोला अलिक ठूलो भयो भने खोलाले बगाएर सबै फोहर तल बस्तीसम्म आउने गरेको छ ।

नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालका अनुसार वातावरणीय दृष्टिले अनुकूल मानिएको त्यस प्रशोधन केन्द्रलाई उपयोगमा ल्याउने तयारी भइरहेको छ । यो दशैँ, तिहारलगत्तै प्रशोधन केन्द्रलाई सञ्चालनमा ल्याउने उहाँको दाबी छ । नगरपालिकाको आन्तरिक समस्याका कारण समयमै प्रशोधन केन्द्र सञ्चालन गर्न नसकिएको बताउँदै उहाँले भन्नुभयो, “अब प्रशोधन केन्द्रलाई सञ्चालनमा ल्याएर पूर्वकै नमूना बनाउने छौँ ।” यस्तो उपकरणयुक्त प्रशोधन केन्द्र पूर्वाञ्चलको पहिलो भएको नगरपालिकाको दाबी छ ।

प्रशोधन केन्द्रले फोहरमैलालाई ग्रेडिङ गरेर काम नलाग्ने फोहरको मल बनाउने र लाग्नेलाई प्रशोधन गरेर पुनः प्रयोग गर्न सकिने क्षमताको हुनेछ । दमकको चोकदेखि तीन किमी उत्तरी क्षेत्रमा अवस्थित हम्सेदुम्से सामुदायिक वन हातामा करिब रु एक करोड ३० लाखको लागतमा प्रशोधन केन्द्र निर्माण गरिएको छ ।

प्रशोधन केन्द्र निर्माण गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रबाट आव २०७१÷७२ र २०७२÷७३ मा रु एक करोड ३० लाख बजेट विनियोजन भएको दमक नगरपालिकाका वातावरण प्रमुख द्रोण थापाले बताउनुभयो ।

केन्द्र सामुदायिक वन क्षेत्रको तीन बिगाहा क्षेत्रफलमा फैलिएको छ । त्यहाँ फोहरमैला व्यवस्थापनका लागि तीनकोठे पक्की कार्यालय भवन, विद्युत् लाइन विस्तारलगायतका कार्य सम्पन्न भएको थापा बताउनुहुन्छ । थापाका अनुसार उक्त प्रशोधन केन्द्रले जैविक फोहरबाट कम्पोस्ट मल उत्पादन गरेर आम्दानी गर्ने स्रोतका रुपमा विस्तार गरिने लक्ष्य राखिएको छ ।

अजैविक फोहरबाट पुनः प्रयोगमा आउनेलाई पुनः प्रशोधन गरी प्रयोग गर्ने लक्ष्य रहेको छ । उपकरण जडान गर्ने प्राविधिक अभावमा प्रशोधन केन्द्र स्थापना गर्न नसकिएको बताइएको छ । गत वर्षदेखि नै प्रशोधन केन्द्र सञ्चालन गर्ने भनिएको भए पनि प्रविधि जडान गर्ने प्राविधिक भारतबाट नै झिकाउनु पर्ने भएकाले आन्तरिक कठिनाइले त्यसले काम गर्न नसकिएको थापा बताउनुहुन्छ ।

यता दमकको फोहरमैलाको व्यवस्थापनमा जिम्मा पाएको पाथवे नेपाल जेभीका अध्यक्ष सुवास बस्नेत प्रशोधन केन्द्र सञ्चालन नहुँदा दमकको दीर्घकालीन फोहरमैला व्यवस्थापनका लागि चुनौती बनिने अवस्था भएको बताउनुहुन्छ ।

उहाँले प्रशोधन केन्द्र सञ्चालनमा नआउँदा फोहर व्यवस्थापनमा खर्च धेरै बढेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “फोहर पुर्नका लागि एउटा जेसिभी सधैँ त्यही राख्नुपर्ने अवस्था छ, त्यसैले प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याउनुपर्छ ।”

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter